• हरिप्रसाद कोइराला
    जाँते(मोरङ) । उत्तरी मोरङको लेटाङ ८ जाँतेका ८५ वर्षीय दिलबहादुर गुरुङले बुधबार नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्नु भएको छ । इलाका प्रशासन कार्यलय उर्लाबारी र लेटाङ नगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको घुम्ती सेवाबाट उहाँले नागरिकता प्राप्त गर्नु भएको हो ।



    वाड नं. ८ को कार्यलय परिसरमा उपस्थित वडाबासी, इलाका प्रशासन कार्यलयका प्रमुख रामबहादुर कुरुम्वाङ र लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले गुरुङलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । चुनावको बेला मत माग्न गाउँ–गाउँ पुग्दा धेरै जना वृद्ध आमा बुबाले नागरिकताको प्रमाणपत्र नभएकै कारण वृद्धभत्ता नपाएको गुनासो गर्नु भएको थियो । नगरवासीलाई जनप्रतिनिधि आएको बोध गराउन घुम्ती सेवा मार्फत प्रक्रिया पुगेका नागरिकलाई नागरिकता प्रदान गरिएको नगर प्रमुख राईले बताउनु भयो ।
    नागरिकता पाएपछि गुरुङले हाँस्दै भन्नुभयो–‘मर्ने बेलामा नेपाली भइयो । सरकारी सेवा सुविधा लिन सहज हुने बताउँदै गुरुङले थप्नुभयो–‘अब महिनामा २ हजार मैले पनि पाउँछु होला ।’धादिङबाट २०१८ साल तिर पैसा कमाउन भारत पस्नु भएका गुरुङ ४० वर्षयता जाँतेमा बसोबास गर्दै आउनु भएको छ । वार्ड नं. ८ का वडाध्यक्ष भीम पोख्रेलले भन्नुभयो–‘उहाँ ८५ वर्षको उमेरमा पनि सिकर्मी (श्रम) गरेर जीविकोपार्जन गरिरहनु भएको छ ।४० वर्षयता उहाँलाई एक्लो देख्ने गाउँका पुराना पाकाहरूको भनाईमा उहाँ नेपाली नागरिक हो । उहाँ अर्काको घरमा बसेर जीवन काटिरहनु भएको छ ।
    लेटाङ–९ की ९० वर्षीया वृद्धा जानुका भट्टराईले पनि बुधबार नागरिकता लिनुभयो । तर उहाँ न कान सुन्नुहुन्छ , न त उहाँको आँखामा ज्योति नै छ । उमेरले वृद्ध भएकै कारण होस समेत गुमाउँदै जानु भएकी जानुकाले यसअघि नागरिकताको अभावमा वृद्धभत्ता पाउनु भएको थिएन । साशुआमालाई नागरिकता दिलाउन वार्ड कार्यलय पुग्नु भएकी बुहारी गंगामायाले भन्नुभयो–‘उहाँका एउटै छोरो पनि ३ वर्ष अघि बित्नु भयो । उहाँले जिल्ला लगेर नागरिकता दिलाउन सक्नु भएन, मैले सक्ने कुरै भएन । अहिले आँगन मै नागरिकता बनाउने टोली आयो । वडाध्यक्षले बनाइदिने भनेपछि आमालाई बोकेर ल्यायौं ।जानुकाको नागरिकताको सनाखत आफूले गरेको गंगामायाले सुनाउनु भयो ।
    लेटाङ उत्तरी मोरङका दुर्गम गाविसहरू समाहित गरेर बनाइएको नगरपालिका हो । यसअघि फागुन १४ गते वार्ड नं. २ मा १०० वर्षकी परिचरिमाया राईलाई समेत घुम्ती शिविर मार्फत नागरिकता दिलाएको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताउनु भयो । खासगरी बंशजको नागरिकता पाउने प्रर्याप्त आधार र प्रमाण भएकालाई मात्र वडा कार्यलय र नगरपालिकाको सिफारिसमा नागरिकताको प्रमाण पत्र प्रदान गरेको इलाका प्रशासन कार्यालयका उप सचिव रामबहादुर कुरुम्वाङले बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…