• उर्लावारी/ माघ तेस्रो साता काठमाडौँ स्थित त्रिभुवन विमानस्थल हुँदै दुबईबाट भित्रिएको भनिएको ३३ केजी सुन हराएको विषयलाई लिएर उर्लावारीका सनम शाक्यको हत्या भएको भनेर बाहिर आएको भए पनि उक्त घटनाको प्रारम्भिक विन्दु र पूर्ण विवरण भने प्रहरीले अझै सार्वजनिक गरेको छैन ।

    सो सुनको खोजी गरिरहेको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले मोरङको उर्लावारीका सनम शाक्यको शवसहित तीन जनालाई विराटनगरवाट पक्राउ गरेर सार्वजनिक गरेको थियो भने झापाबाट पक्राउ गरिएका लाक्पा शेर्पालाई पनि प्रहरीले सार्वजनिक गरिसकेको छ ।

    तर पनि अनुसन्धानको चुरो कुरो लुकाउँदै र गिरोहमा संलग्नहरूको खोजी जारी राखिएको प्रहरी स्रोतले पहिलो किताब डटकमलाई जानकारी गराएको छ । गिरोहका नाइके उर्लावारीका गोरे नामले चिनिने चुणामणि उप्रेती भए पनि गिरोहमा संलग्न करिब १५ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    सर्वाधिक खोजीको सुचीमा रहेकाहरुमा झापा , मोरङ र सुनसरी सहित रुपन्देही सहितका जिल्लाका व्यक्ति रहेको बताइएको छ । एयरपोर्टबाटै भित्रिएको उक्त सुन भित्र्याउने काममा सहयोग गर्ने विमानस्थलका अधिकारीहरूका विषयमा पनि अनुसन्धान भइरहेको स्रोतको भनाई छ ।

    माघ २२ गते सोमवार एयरपोर्ट भित्रै सवारी दुर्घटनामा मरेको भनिएका थाई एयरवेजका मेकानिकल हेल्पर सानु वनको मृत्युको घटनासँग जोडेर ३३ केजी सुन प्रकरणको छानबिन भइरहेको प्रहरी स्रोतले जानकारी गराएको छ । माघ २२ गते विमानस्थल भित्रै एआर – २७ नम्बरको ट्याङकरको ठक्करवाट मरेका बमको घटनाको छानबिन गर्ने क्रममा ट्याङकर चालक सार्की लामालाई विमानस्थल स्थित प्रहरीले नियन्त्रणमा लिएकोे थियो ।

    सुन आउने सूचना पाएर सुनको खोजीमा जुटेको अपराध अनुसन्धान महाशाखा र सिआईवीको टिमले उक्त घटनालाई शंकास्पद मान्दै थालेको अनुसन्धानले प्रहरी उप्रेती गिरोहको पहिचान गर्न सफल बनेको स्रोतले दाबी गरेको छ ।

    महाशाखा र सिआईवीले त्यही घटनाबाट थालेको अनुसन्धानले नै प्रहरीलाई सनमको लास बरामद गर्न र अन्यलाई पक्राउ गर्न सफलता मिलेको प्रहरी उच्च स्रोतको भनाई छ । सुन ओसार – पसार गर्ने गिरोहका सदस्य , सुन आयातकर्ता व्यापारी र विमानस्थलमा रहेर सुन भित्र्याउन सहयोग गर्ने सबैका विषयमा अहिले सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ ।

    ठुलो समूह नै अनुसन्धानको घेरामा रहेकाले गिरोहका नाइके भनिएका चुणामणि उप्रेती उर्फ गोरेलाई योजनामै भगाइको सम्मको आरोप समेत पछिल्लो समयमा घटनाको स्थानीय स्तरमा छानबिन गरिरहेको मोरङ प्रहरीमाथि सो समूहले हत्या गरेका सनम शाक्यको परिवार र आफन्तले लगाउँदै आएका छन् ।

    प्रहरीले घटनाको विषयलाई लिएर गरेका पत्रकार सम्मेलनमा गिरोहमा ठुलै सङ्ख्या रहेको बताउँदै आएको भए पनि कति सङ्ख्या र को – को सम्लग्न छन् अनि कति छानबिनको दायरामा छन् भन्ने केही पनि खुलाएको छैन । तर छानबिनमा संलग्न एक अधिकारीले १५ जनाको खोजी भइरहेको र दुबईबाट उक्त सुन भित्र्याउने काममा सहयोग गर्ने सबै छानबिनको दायरामा रहेको पहिलो किताबलाई बताएका छन् ।

    उनले मुख्य नाइके उप्रेतीलाई पक्राउ नगरी सबै विवरण खुल्दा अनुसन्धानमा असर पर्ने भएकाले केही पनि नखुलाइएको बताएका छन् । उप्रेती पक्राउमा प्रहरी केन्द्रित रहेको जनाउँदे उनी नेपालबाट भारत तर्फ लागेको सूचना आएको र उनको भारतमै खोजी थालिएको समेत ती अधिकारीले जनाएका छन् ।

    झापाको बिर्तामोडमा रहेको दावा ज्वेलरीका सञ्चालक साजन मुखिया हत्याको विषयलाई पनि सनम हत्याको घटनासँग जोडेर हेरिएको भए पनि मुखिया हत्याको घटना ३३ केजी सुन गायब प्रकरणसँग नजोडिएको ती अधिकारीले दाबी गरेका छन् । उनको हत्याको कारण पनि सुन तस्करीकै हिसाब नमिल्दा भएको देखिएपनि सो घटनाका योजनाकार पारस देव पक्राउ परिसकेको र उक्त घटना छुट्टै भएको ती अधिकारीको भनाई छ ।

    विमानस्थलमा मरेका सानु बम र तस्करीको ३३ केजी सुन गायब बनाइएको विषयमा सिआईवीका डिएसपी श्याम ओलीयासँग जिज्ञासा राख्दा उनले बमको मृत्युको जानकारी आफूलाई रहेको तर पछिल्लो सुन तस्करीको घटनासँग उक्त विषय जोडिएको – नजोडिएको विषयमा आफूलाई केही पनि थाहा नभएको भन्दै प्रवक्तासँग नै बुझ्न भने ।

    सिआईवीका प्रवक्ता जीवन श्रेष्ठले भने बमको मृत्यु भएको विषयमा आफूलाई थाहा भए पनि सुन तस्करीको गिरोहसँग उक्त घटनाको सम्बन्ध भए नभएको विषय भने उक्त घटनाको अनुसन्धान गर्ने प्रहरीलाई मात्रै थाहा हुने बताएका छन् ।

    शाक्यको शव बरामद मोरङको विराटनगरवाट भएको र घटनामा संलग्न समेत पक्राउ मोरङ प्रहरीले नै गरेको भएकाले पछिल्लो समयमा अप।राधा अनुसन्धान महाशाखा र मोरङ प्रहरीबाट छुट्टा छुट्टै दाबी भएको थियो । पछिल्लो समयमा सो घटनाको छानबिन र अनुसन्धान गरिरहेको मोरङ प्रहरीलाई समेत बम मृत्युको घटनासँगै ३३ केजी सुन प्रकरण खुलेको सूचना रहेको प्रहरी स्रोतको भनाई छ ।

    मोरङ प्रहरीका एसपी अरुण कुमार बिसीले प्रहरी भित्र घटनालाई लिएर फरक फरक दाबी नभएको जनाएका छन् । उनले उप्रेतीलाई योजनामै भगाइएको विषय मिथ्या आरोप मात्रै भएको स्पष्ट पारेका छन् । उनले उप्रेतीसहित पहिचान भएका सबैलाई पक्राउका लागि प्रहरी परिचालन गरिएको र उनीहरूलाई जसरी पनि पक्राउ गरिने बताएका छन् । अनुसन्धानकै क्रममा उप्रेतीको नाम खुलेकाले उनलाई प्रहरीले भगायो भनेर भन्नुमा कुनै तुक अनि सत्यता समेत नरहेको जनाएका छन् ।

    एयरपोर्टभित्र ट्याङकरको ठक्करवाट मरेका थाई एयरवेजका मेकानिकल हेल्पर सानु वनको मृत्युको विषयमा काठमाडौँ प्रहरीले अनुसन्धान गरीरहेकाले सो विषयमा आफूले केही पनि बताउन नसक्ने बिसीले जानकारी गराएका छन् । मोरङबाट भइरहेको अनुसन्धानमा थप केहीको नाम खुलेको र सो सङ्ख्या करिब १२ जनाको वरिपरि रहेको उनले जानकारी दिए । गिरोहका सबै सदस्य , अवैध सुन खरिद गर्ने व्यापारी र अवैध सुन भित्र्याउन भूमिका खेल्ने सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याइने उनले बताएका छन् ।पहिलो किताबमा अनलाईनमा समाचार छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…