उर्लाबारी चैत १ गते । प्रदेश नम्बर १ को नाम किराँत हुनुपर्ने माग स्वरुप किराँत राई यायोक्खाले चैत २ र ३ गते हस्ताक्षर संकलन गर्ने भएको छ । २ गते उर्लाबारी र ३ गते मंगलवारेमा हस्ताक्षर संकलन गरिने पत्रकार भेटघाट मार्फत जानकारी गराइएको छ । जनताको भावना अनुसार किराँत राज्यको माग सहित हस्ताक्षर संकलन गरिने यायोक्खा उर्लाबारी अध्यक्ष केशरमान राईले बताए । उनले सभ्यता,ऐतिहासीकता , साझापहिचान, जनसांख्यीकता र भाषिक तथा साँस्कृतिकको आधारमा किराँत राज्य हुनुपर्नेमा जोड दिएका छन् ।
यायोक्खाका सचिब नारायण चाम्लीङ्ग राईले ऐतिहासिकताको आधारमा किराँत राज्य नामाकंन हुनु पर्ने बताउदैं सम्पूर्णमा उपस्थितीका लागि अनुरोध गरेका छन् । प्रदेश नं. १ को नामाकारणमा राजनीतिक दलहरु अड्किरहेको अवस्थामा किराँत राज्य नामाकरण गरेर ऐतिहासिक योगदानको कदर गर्न हस्ताक्षर अभियानमा माग गरिने राईले बताए ।
किराँत राज्यको इतिहास
मानव सभ्यताको बिकाससँगै जंगली अवस्थादेखि कृषि युगहँुदै समाजलाई व्यवस्थित गर्ने क्रममा राज्यको उदय हुन थाल्यो । यही क्रममा वर्तमान नेपालको राजधानी यालाखोम (उपत्यका) मा गोपाल, महिसपालपछि किराँतीहरुको उदय भयो । ईशाको तेस्रो सताब्दीतिर लिच्छबिहरुबाट किरातकालीन राज्य सत्ता विस्थापित भयो । सत्ताबाट विस्थापित भएका किराँतीहरु पूर्वमा आएर पुनः किराँत राज्यहरु स्थापित गरी शासन सत्ता संचालन गरेका थिए ।
जसमध्ये वल्लो, माझ र पल्लो किराँतको नामले चिनिन्थ्यो ।
खम्बू र लिम्बू शब्द उत्पतिको बारेमा विभिन्न तर्कहरु पाइएपनि उपत्यकाबाट विस्थापित हुँदाको एकजना योक्नेहाङ नामका राजा थिए । यी राजाको दुई सन्तान खाम्सोसोहाङ र लेलिमहाङ रहेका थिए । खाम्सोसोहाङको प्रभाव क्षेत्र वल्लो र माझ किरातलाई खम्बुवान र लेलिमहाङले शासन गरेको क्षेत्रलाई लिम्बुवान पनि भनियो ।
वास्तवमा काठमाडांैबाट विस्थापित भएका किराँतीहरु नै पूर्वमा किराँत राज्य स्थापित गरेर साशन सत्ता सञ्चालन गरेका थिए । शाही शासकहरुले पत्र लेख्दा वल्लो, माझ र पल्लो किराँत भनेर सम्बोधन गरेको पत्रहरुले समेत त्यो बेला किरा“त राज्यकै नामले परिचित थियो भन्ने प्रष्ट हुन्छ ।
पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानमार्फत वि.स. १८२५ जेठ ६ गते स्वतन्त्र किराँत राज्यलाई गोरखामा मिलाउने कदम सुरु भयो । शाही फौजले माझ किराँत हतुवा र पल्लो किराँत बिजयपुर लगायतका छुट्टाछुट्टै स्वतन्त्र राज्यहरुलाई १८२५ देखि १८३२ साउन २२ मा आइपुग्दा पल्लो किराँतसम्म जबरजस्त (तत्कालीन गोरखा) नेपालमा मिलाए ।
किराँती छापमा महेन्द्र राई, हतुवागडीमा अटल राई, बिजयपुरमा बुद्धिकर्ण राय लगायतले शाहसपूर्ण लडेको इतिहास छ । किरात राज्यको अन्तिम युवराज अटलसिंह राईको गोर्खाली सेनाले हतुवामा पासविक हत्या गरे ।
काठमाडौंबाट लिच्छिवि र पूर्वबाट शाहाहरुबाट राज्य सत्ता खोसिएस“गै किरा“तीहरुको राजनीतिक, आर्थिक अधिकार गुम्यो । भाषा, लिपी, धर्म संस्कृतिमा घोषित अघोषित रुपमा प्रतिबन्द लगाइयो । जातीय पहिचानको अन्त्य गर्ने काम भयो ।
ऐतिहासिक घटनाहरु र किराँत शासन काल
प्रथम किराँती राजा यलम्बर नेपाल व्यवस्थित राज्य सञ्चालनको अभ्यास गर्ने संस्थापक नै थिए । किराँती चौंथो राजा स्थुंकोको पालामा सम्राट अशोकको भ्रमण भएको थियो । बौद्ध वंशावलीमा सातौं किराँती राजा जितेदास्तीको समयमा गौतम बुद्ध नेपाल खाल्डोमा आएको प्रसंग उल्लेख छ । जितेदस्ती महाभारतको युद्धमा भाग लिने क्रममा उनको मृत्यु भएको थियो ।
सबैभन्दा पुरानो गोपालराज वंशावलीले यलम्बर लगायत ३२ जना किरा“ती शासकहरूले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ । अग्रेजी लेखक कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको भनेका छन । सिल्वालेवीले २४ जना र कसैले यलम्बरदेखि योक्नेहाङसम्म १९०३ बर्षसम्म राज्य गरेको उल्लेख भएको पाइन्छ । चार किराँतको साझा संयोजक सनिमितिले भने कलिगत सम्बतको शुरुवातसँगै यलम्बरले शासन गरेको आकंलन गरेर यले सम्बतलाई मान्दै आएका छन् ।
किराँत प्रदेश वा राज्य नै किन ?
पृथ्वीनारायण शाहाले नेपालको भौगोलिक एकीकरण गरेसँगै भावनात्मक बिखण्डन त्यहीबाट शुरु भयो । सामाजिक, सांस्कृतिक, भाषिक विभेद र समुदायको मनोविज्ञानमा नकारात्मक असर पर्याे । हार र जीतको मनोविज्ञान कायम भयो । राजाको एकात्मक केन्द्रिकृत राज्य व्यवस्थामा वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्या झनै बिकरालहुँदै गएको थियो ।
संघीय गणतन्त्र स्थापनापछि यी समस्या समाधान गर्न र नेपाली राष्ट्रियता बलियो बनाउन नयाँ ढंगको एकीकरण (भावनात्मक एकता) को लागि किराँत लगायतका पहिचानमा आधारित नामाकरण आवश्यक छ ।