•  २०७४ चैत्र ०२ शुक्रवार


     बनेपा । पत्रकारिता क्षेत्रमा कपाल फुलाएका गोकुल बास्कोटाले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउँदा पत्रकारहरुले आफ्नो प्रतिनधित्वको महसुस गरेका छन् ।


    करीव दुई दशक सक्रिय पत्रकारिता गरेका बास्कोटा एमाले काभ्रेको प्रमुख भएपछि पत्रकारिताबाट अलग भएर पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।





    पत्रकारिता क्षेत्र बुझेका व्यक्तिलाई नै प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    प्रतिनिधिसभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये केपी ओलीपछि दोस्रो लोकपि्रय मत पाएर जितेका बास्कोटाले संसदीय यात्राको पहिलो इनिङमै सरकारमा सहभागी हुने अवसर पाए ।

    सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटा क्याबिनेट बैठकमा सहभागी हुने हैसियतसहित सरकारमा गएका हुन् । उनीभन्दा माथि मन्त्री नियुक्त हुने छैनन् ।

    पार्टीको पोर्टफोलियोमा बास्कोटा केन्द्रीय सदस्य नभएका कारणमात्र उनलाई मन्त्रालयको कमाण्ड सम्हाल्ने गरि राज्यमन्त्री बनाइएको हो । सम्भवतः सरकारको प्रवक्ता पनि उनै हुनेछन् ।

    काभ्रे २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बास्कोटा पत्रकारिता क्षेत्रमा रहँदा दृष्टि साप्ताहिकका सम्पादकसमेत भए । उनी नेपाल पत्रकार महासंघमा पनि विभिन्न तहको नेतृत्व गरिसकेका पत्रकार हुन् ।

    बास्कोटाले पत्रकारिता क्षेत्रबारे आफू जानकार रहेकाले यो क्षेत्रका समस्या समाधानका लागि काम गर्ने बताए ।

    गोकुल बास्कोटाले ०३८ देखि नै अनेरास्ववियु पाचौँमा आवद्ध भई पञ्चायतविरोधी आन्दोलनमा विद्यार्थीको मोर्चाको नेतृत्व गरेका थिए ।

    संगठन निर्माण र पार्टी सञ्चालनमा प्रखर एवं स्पष्ट मानिने बास्कोटा अनेरास्ववियु काभ्रेको ०४८ मा जिल्ला अध्यक्ष बनेका थिए ।

    नेकपा एमाले काभ्रेको ०६३ देखि ०७१ सम्म पार्टी प्रमुख (सचिव र पछि अध्यक्ष) जिम्मेवारी सम्हालेका बास्कोटा हाल पार्टीको प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य छन् ।

    उनी प्रेस चौतारी नेपालका संस्थापकसमेत हुन् ।

    दृष्टि साप्ताहिक, चेष्टा साप्ताहिक, छलफल साप्ताहिक, रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचार हुँदै आफैंले चलाएको सम्बोधन साप्ताहिकमा बास्कोटा सम्पादक थिए ।

    समाचार प्रमुख लगायतको जिम्मेवारी समेत लिएका बास्कोटाले वामपन्थी प्रगतिशील पत्रकारहरुको एकतामा भूमिका खेल्दै आएका थिए ।

    वामपन्थी आन्दोलनका क्रममा बास्कोटाले पुलिस प्रशासनलाई समेत झुक्याएर तत्कालीन शाहजादी हेलेन शाहकै गाडीमा ०४६ सालको आन्दोलनका प्रचार सामाग्री ओसारेको घटना बेलाबेलामा अहिले पनि चर्चामा आउँछ ।

    बास्कोटा ०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका कञ्चनचन्द्र वादेसँग झिनो मतले पराजित भएका थिए । यसपटक निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचन बास्कोटाले ५५ हजार ५२६ मतका साथ ओलीपछिको दोस्रो लोकप्रीय मत पाएका थिए ।

    बास्कोटाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधु आचार्यले ३६ हजार ७५३ मत पाएका थिए ।



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…