• २०७४ चैत्र ०३ शनिवार

    काठमाडौं : नेपालमा रेलमार्ग निर्माण गर्ने योजना अघि बढेको आठ वर्ष भइसकेको छ। आव २०६६/६७ बाटै सुरु भएको योजनालाई छुट्टै निकायमार्फत कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभागको स्थापना गरेको थियो।

    विभाग गठन भएको साढे पाँच वर्ष भइसकेको छ। यस बीचमा रेलका आधा दर्जनभन्दा बढी योजना आगाडि बढेका छन्। राष्ट्रिय गौरवको आयोजनामै परेको ९४५ किमिको पूर्व–पश्चिम रेलमार्गको खण्डगत रूपका काम भइरहेको छ।

    पछिल्लो समय यसको चर्चा बढेको छ भने नेपालीको रेल सपना कहिले पूरा हुने भनि व्यग्र पर्खाइमा छन् नेपालीहरू।

    रेलमार्ग निर्माण गर्दा बढीमा तीन प्रतिशतभन्दा उकालो नचढ्ने गरी बनाउने गरिन्छ। रेलमार्ग बनाउँदा एक सय मिटरसम्ममा बढीमा तीन मिटरको मात्रै उचाइ हुने र सोभन्दा बढी भए रेल जान नसक्ने प्राविधिकको सुझाव छ।

    तीन प्रतिशतभन्दा कम उकालो/ओरालो हुने गरी बनाउनुपर्ने भएकाले पुल, सुरुङ र घुम्ती धेरै हुन्छ। यी चुनौतीका कारण नेपालमा रेलमार्ग निर्माण लागत धेरै पर्ने, दक्ष जनशक्ति अभाव र योजना कार्यान्वयन नहुने समस्याले नेपालीका लागि रेल योजनामा मात्रै सीमित हुन पुगेको छ।

    पाँच वर्षको अन्तरालमा निकै ठूला प्रोजेक्ट सम्पन्न भएको अन्तर्राष्ट्रिय अनुभव छ। नेपालमा हालसम्म एउटा पनि रेलमार्गको सुनिश्चित हुन नसक्नुमा दक्ष जनशक्ति र स्रोत साधनकै अभाव भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए।

    उनका अनुसार यसअघि काम अगाडि नबढेकाले नेपालीको रेल सपना पूरा हुने आधार बनेको थिएन। काम सुरु भएकाले आवश्यक बजेट अभाव हुन नदिने हो भने पाँच वर्षभित्रै पूर्व–पश्चिम रेलमार्ग निर्माण काम गर्न सकिने विभागले जनाएको छ।

    सबैभन्दा पहिले जनकपुर–जयनगर खण्डमा नेपालीले रेल चढ्न पाउनेछन्। यस खण्डमा रेलमार्ग निर्माण ८० प्रतिशत सम्पन्न भइसकेकाले आगामी असोजभित्रै सम्पन्न गर्ने लक्ष्य अगाडि सारिएको छ।

    भारतीय अनुदानमा निर्माण भइरहेको उक्त मार्ग पूरा हुनासाथ रेल सञ्चालन हुने विभागले जनाएको छ। चार वर्षअघि पूर्ण रूपमा बन्द रहेको यो खण्डमा फेरि रेल चढ्न पाइने गरी काम हुनु नै नेपालीको रेल सपना पूरा गर्ने पहिलो आधार भएको उपाध्यायको बुझाइ छ।

    ५२ किमि दूरीमा सञ्चालन भएको जयनगर–जनकपुर रेलको लिक बाढी पहिरोले बगाएर जाने तर आवश्यक मर्मत नगरिँदा उक्त रेलमार्ग विस्तारै बन्द भएको थियो। जीर्ण हुँदै गएको २९ किमिको दूरीमा मात्रै चल्ने रेल पनि चार वर्षदेखि बन्द छ।

    यहीँ खण्डलाई पुनः मर्मत गरी दूरी पनि बढाएर तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्न खोजिँदैछ। यो दूरी ७० किमिसम्म हुने गरी काम अघि बढाइएको रेल विभागको भनाइ छ।

    भारतले निर्माण गरिरहेको ७० किमि रेलमार्गमध्ये तीन किमिमात्रै भारतीय भूमिमा पर्छ। ६७ किमि नेपाली भूमिमा छ। ‘हामीसँग रेल नभएको र तत्काल रेल खरिद गरेर सञ्चालन गर्ने कुनै तयारी नभएकाले पनि भारतीय पक्षलाई सञ्चालन गर्ने अनुरोध गरेका छौं’, उपाध्यायले भने।

    नेपालले रेल भाडामा लिने वा भारतीय रेललाई नै नेपालसम्म कुदाउने विषयका सम्बन्धमा नेपालको तर्फबाट निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिए।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …