• प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार (४ चैत्र) राप्रपा विभाजनका कारण र आगामी राजनीतिबारे विभाजित तीनै राप्रपाका नेताहरुसँग बसेर मन्थन गरे। आइतबार साँझको भेटघाटका लागि राप्रपाका तीन वटै घटकका नेताहरुलाई दमकस्थित ‘हिमालयन टी स्टेट गार्डेन’ मा पुग्न भनिएको थियो।

    त्यो भेटमा निम्त्याइएका थिए– कमल थापा नेतृत्वको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व उर्जा राज्यमन्त्री भाष्कर भद्रा र प्रल्हाद शाह। अनि, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातन्त्रवादी) का महामन्त्री राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुनसुन्दर लावती। यसैगरी प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी) कि उपाध्यक्ष सुष्मा आचार्य, ताराप्रसाद लुइँटेल र केशब श्रेष्ठ।

    ‘यहाँ कुनै ठूलो कारणले बोलाएको होइन, राप्रपा विभाजित भएको छ। तपाईंहरुको पार्टीको अवस्था के छ, देशको अवस्था के छ, मुलुकको परिस्थिति कसरी अघि बढेको छ भनेर बुझ्न बोलाएको हुँ’ हिमालयन टि स्टेट गार्डेनस्थित आफ्नो निवासबाहिरको चउरमा टाँगिएको पालमा लहरै राखिएको कुर्सीको अघिल्तिर राखिएको अर्काे कुर्सीमा बसेर पूर्वराजा शाहले कुराकानी सुरु गर्दै भने, ‘तपाईंहरुको अनुभव के छ, अब सुनौं न त!’

    मुलुकको परिस्थितिबारे जान्न, विभिन्न टुक्रामा विभाजित राप्रपाहरुको एकता र भविष्यबारे बुझ्ने पूर्व राजाको चाहना रहेछ। पूर्वराजा शाहले कुराकानीको सुरुमै यसको संकेत गरेपछि उपस्थित सबै नेताले पालैपालो आफ्नो कुरा राखे।

    ‘सरकार, चुनाव त पहिलेपनि हारेका हौं, तर प्रतिनिधि सभा र प्रदेश सभा चुनावको पराजय चाहिँ ऐतिहासिक खालको भयो’ राप्रपा उपाध्यक्ष तामाङले चुनावी हारबारे पूर्व राजालाई आफ्नो विश्लेषण सुनाए, ‘तर, ०४७ मा राप्रपाको गठन भएपछि यति ठूलो हार यसअघि कहिल्यै भएको थिएन।’

    हारको कारण विभाजन रहेको बताउँदै उनले तीनै राप्रपा अब एक भएर जानुपर्ने औंल्याए।

    राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री श्रेष्ठले चुनावमा हारको कारण विभाजनमात्र नरहेको विश्लेषण पेश गरे। ‘स्थानीय तह निर्वाचनमा पार्टी फुटेको थिएन नि!’ महामन्त्री श्रेष्ठले भने, ‘तर पनि स्थानीय तह निर्वाचनमा नराम्रोसँग हारेको कुरा बिर्सनु हुँदैन।’

    पार्टी विभाजन सैद्धान्तिक मतभेदका कारणले नभएको बताउँदै श्रेष्ठले मिल्नका लागि साधनस्रोत, नेताहरुबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए।

    राप्रपा (प्रजातन्त्रवादी) का सुरेशप्रसाद आचार्यले तीन राप्रपाबीच एकता भए आगामी निर्वाचनमा फेरि राम्रो परिणाम आउने बताएका थिए। ‘भारतमा आगामी बर्ष संसदको निर्वाचन हुँदैछ, हाम्रोमा पनि ४–५ बर्षभित्र चुनाव भइहाल्छ’ उनले भनेका थिए, ‘दुई तीन वर्षभित्र पार्टी एकता गरेर अघि बढ्ने हो भने हामीले राम्रो गर्न सक्छौं।’

    तर निर्वाचनमा राम्रो परिणाम ल्याउने हो भने तीन पार्टी मिलेर मात्र नहुने, त्यसका लागि नयाँ नेतृत्व आउनुपर्नेमा जोड दिएका थिए, आचार्यले। ‘थापा, राणा र लोहनीले एकतापछि एकिकृत पार्टीको अध्यक्षमा उठ्दिन भने भने पार्टीको अवस्था राम्रो हुन्छ’ उनले थपे, ‘आफ्नै हालिमुहालीका लागि एकता गर्ने हो भनेचाहिँ केहीपनि हुँदैन।’

    राप्रपा (प्रजातान्त्रिक) कै सगुनसुन्दर लावतीले पनि आचार्यले जस्तै धारणा राखेका थिए। पार्टी फुटमा कार्यकर्ता होइन, नेताहरुको हात रहेको बताउँदै उनले भनेका थिए, ‘अब मिल्ने हो भने नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्छ, युवा र महिलालाई अघि बढाउनु पर्छ, किनभने, युवाको जनसंख्या ८० प्रतिसत छ, महिलाहरु ५० प्रतिसत।’

    लावतीले ०१७ देखिको नेतृत्वले अहिलेको राजनीति नचल्ने बताएका थिए।

    राप्रपाका भाष्कर भद्राले पार्टी एकता हुँदा राम्रै हुने भएपनि विभाजनमा राणा नेतृत्वमा रहेका पूर्व सांसदहरुको हात रहेको आरोप लगाएका थिए। ‘देउवाको सरकारको पालामा मधेशीहरुको माग सम्बोधन गर्ने गरी संविधान संसोधन गर्न खोजिँदा १४ सांसद गायव पारिए’ भद्राले भनेका थिए, ‘त्यही कारण पार्टी विभाजन भएको हो।’

    राप्रपा अध्यक्ष थापाले उतिबेला सांसदहरु गायव हुनु र विभाजनमा पूर्वराजा निकटहरुको हात रहेको आरोप लगाउँदै आएका छन्।

    भद्राले राप्रपाबाट विभाजित भएर बनेको राप्रपा (प्रजातान्त्रिक) प्रति यस्तो आरोप लगाएपछि राप्रपा (प्रजातान्त्रिक) का आचार्यले भद्राको आरोपको खण्डन गर्ने प्रयास गरे। ‘उतिबेला गर्न खोजिएको संसोधन नै गलत थियो, त्यसैले सांसदहरुले असन्तुष्टि जनाए’ पूर्वराजाकै सामुन्ने आचार्यले भने, ‘अबपनि संसोधन प्रस्ताव पारित भयो भने पहिलेको संसोधनमा हेरफेर गरेर संसोधन हुन्छ। त्यसैले, उतिबेला ती सांसदहरुको भूमिका गलत होइन, सही थियो।’

    लोहनी निकटको एकिकृत राप्रपा (राष्ट्रवादी) कि उपाध्यक्ष सुष्मा आचार्यले राजनीतिक भन्दा सामाजिक विषयमा आफूलाई केन्द्रित गरेकी थिइन्। त्यसक्रममा उनले दरवार हत्याकाण्डले समाजमा पारेको असरबारे पनि कुरा गरिन्। उनले भनेकी थिइन्, ‘दरवार हत्याकाण्डपछि राजसंस्थाको पनि विश्वसनीयता घटेको छ।’

    आचार्यले यस्तो कुरा गरेपछि उपस्थित अन्य नेताहरुले अप्ठेरो माने। तर ज्ञानेन्द्रले शब्द र ‘बडी ल्याङ्ग्वेज’ द्वारा समेत आचार्यको भनाईप्रति कुनै प्रतिक्रिया जनाएनन्।

    झण्डै तीन घण्टा त्यो कुराकानीको सुरु र अन्त्यमा मात्र बोलेका थिए शाह। बीचको अवधिमा उनले राप्रपा नेताहरुको कुरा सुनेमात्र, केही बोलेनन्। कुराकानीको आधी समयतिर ‘टि ब्रेक’ भयो, पूर्वराजा आफैले नेताहरुलाई चियाको ‘अफर’ गरे। ‘टि ब्रेक’ मा बिस्कुट र बर्फी (मिठाई) को व्यवस्था थियो।

    जब ‘टि ब्रेक’ सकियो, त्यसपछि पूर्वराजा र राप्रपा नेताहरु आआफ्नो सिटमा फर्के। कुराकानीलाई निरन्तरता दिनुअघि शाहले ठट्टा गरे, ‘यो त चियाबगान हो नि! चियाबगानमा आएपछि कफी खान खोजेर पाइन्छ? चियाबगानमा त चिया पो पाइन्छ त!’

    के भएको रहेछ भने, चिया खान जाँदा उपस्थितमध्ये कसैले कफी खोजी गरेछ। यो कुरा शाहले चाल पाएछन् र यो ठट्टा गरेका रहेछन्।

    सबै नेताहरुले आ-आफ्नो भनाई सक्दा साँझको ७ बजिसकेको थियो। त्यहाँ डिनरको व्यवस्था थिएन। त्यसैले, शाहले कुराकानीको बिट मारे, सहभागी नेताहरुलाई धन्यवाद दिए। र, त्यो भेटघाटबारे जानकारी दिँदै आ-आफ्ना साथी, विशिष्ठ व्यक्तित्वहरुसँग छलफल गर्दा कुनै फरक नपर्ने बताए।

    यति भन्दै उनले चियाबगान निम्त्याइएका राप्रपा नेताहरु पार्टी एक गरेर जान सन्देश दिए। ‘समयसीमा अनुसार काम (पार्टी एकता) गर्दै जाँदा भविष्य राम्रै होला’ शाहले थपे, ‘अहिले पत्तासाफ (राप्रपाहरुको) भएको छ। एउटा पार्टी तीन तीन वटा हुने, चुनावमा पनि यस्तो परिणाम आउने हो भने तीन तीन वटा पार्टी हुनुको के अर्थ? पार्टी हुनु र नहुनुको के अर्थ?’नेपालखबरबाट साभार गरिएको हो ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…