•  २०७४ चैत्र ०७ बुधवार

    नेपालले हवाई उडान सम्बन्धी एउटा अन्तर्राष्ट्रिय महासन्धिलाई अनुमोदन नगर्दा गत साता भएको यूएस-बांग्ला विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुको परिवारले पाउने बिमा रकम अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नहुने सम्बन्धित विमान कम्पनीका प्रतिनिधिले बताएका छन्।

    उक्त सन्धिलाई नेपाल र बांग्लादेश दुबैले अनुमोदन गरेको भए थप ३५ लाख रुपैया भन्दा बढी पाउने अवस्था हुन सक्ने अन्तर्राष्ट्रिय हवाई कानुनका एकजना जानकारले बताए।

    सरकारी अधिकारीहरुले हवाई उडान सम्बन्धी मन्ट्रिएल महासन्धिलाई अनुमोदन गर्ने प्रकृया अघि बढाइएको बताएका छन्।

     

    कुनै विमान दुर्घटना हुँदा उक्त दुर्घटनामा परि ज्यान गुमाउने यात्रुका परिवारले बिमा रकम विमान दर्ता भएका र विमानले उडान गर्ने राष्ट्रले हवाई उडान सम्वन्धी अनुमोदन गरेका महासन्धिहरुमा भर पर्ने हुन्छ।

    महासन्धिमा नेपाल र बांग्लादेश दुबै छैनन्। त्यो नहुँदा खेरी अनुमोदन गरेका देशका हिसावले बिमा रकम आउँदैन। पाउने बिमा रकम अन्तर्राष्ट्रिय स्तर अनुसारको हुँदैन

    संजीव घिमिरे, एस-बांग्ला विमानका नेपाल प्रतिनिधि

    तर नेपाल र बांग्लादेश दुबैले हवाई उडान सम्वन्धी विभिन्न पक्षलाई समेटने मन्ट्रिएल महासन्धिलाई अनुमोदन गरेका छैनन्, जसका कारण गत साता भएको यूएस-बांग्ला विमान दुर्घटनामा ज्यान गुमाएका ४९ जनाका परिवारले पाउने बिमा रकम न्यून हुन सक्ने बताइएको छ।

    उक्त विमान कम्पनी यूएस-बांग्लाका नेपाल प्रतिनिधि संजीव घिमिरेले भने, "महासन्धिमा नेपाल र बांग्लादेश दुबै छैनन्। त्यो नहुँदा खेरी अनुमोदन गरेका देशका हिसावले बिमा रकम आउँदैन। पाउने बिमा रकम अन्तर्राष्ट्रिय स्तर अनुसारको हुँदैन।"

    सन १९९९ मा पारित भएको उक्त महासन्धि हस्ताक्षर गर्दा र नगर्दा पर्ने धेरै रकम फरक पर्ने बताइएको छ।

    अन्तर्राष्ट्रिय हवाई कानुनका जानकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, "मन्ट्रिएल महासन्धिमा यात्रुको मृत्यु भयो भने १ लाख १३ हजार एसडिआर हुने व्यवस्था छ। अनुमानित ५५ हजार डलर आउछ त्यो नगर्नेको हकमा वार्सा महासन्धिका थपिएको बुँदाले यात्रुको हकमा २० हजार डलर पाउने व्यवस्था गरेको छ।"

    मन्ट्रिएल महासन्धिमा यात्रुको मृत्यु भयो भने १ लाख १३ हजार एसडिआर हुने व्यवस्था छ। अनुमानित ५५ हजार डलर आउछ त्यो नगर्नेको हकमा वार्सा महासन्धिका थपिएको बुँदाले यात्रुको हकमा २० हजार डलर पाउने व्यवस्था गरेको छ

    बुद्धिसागर लामिछाने, सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

    झन्डै १९ वर्ष सम्म अनुमोदन नभएको उक्त महासन्धिलाई अब भने छिट्टै अनुमोदन गरिने बताइएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भने " मन्ट्रिएल महासन्धि अनुमोदन गर्नु पर्छ भन्ने सबै तिरबाट आइसकेको हुँदा हामी अनुमोदनको क्रममा छौं। कानुन मन्त्रालयमा सहमतिका लागि पठाएका छौं।"

    यूएस-बांग्ला विमान दुर्घटनाका बारेमा संबन्धित बिमा कम्पनीका प्रतिनिधि पनि नेपाल आएर अनुसन्धानको काम गरिरहेको बताइएको छ।

    उनीहरुको अनुसन्धानको प्रतिवेदन लगायतका अन्य विभिन्न कारणले पनि बिमा रकमको आकारमा अन्तर हुनसक्ने बताइएको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…