• २०७४ चैत्र ०८ बिहीवार

    काँकरभिट्टा । मेचीनगर नगरपालिकाले जातिय छुवाछुतलाई अपराधका रुपमा लिई सामाजिक परिचालनको माध्यबाट उन्मूलन गर्ने भएको छ । समाजमा अझै जातिय विवेदले जरा गाडीरहेको बेला मेचीनगरमा भने यसको उन्मुलनका लागि नयाँ रणनीतिका साथ ५ बुँदे घोषणा पत्र जारी गरिएको हो ।

    ५३ औँ अन्तराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसर पारेर नगरले बुधवार काँकरभिट्टामा आयोजित एक भव्य समारोहकाबीच जातीय तथा रङ्भेद उन्मूलनको घोषणा पत्र जारी गरेको हो । यो जातीय छुवाछुतको विरुद्ध घोषणा पत्र जारी गर्ने मेचीनगर नेपालकै पहिलो नगर बनेको छ ।

    मेचीनगर

    नगरपालिकाका प्रमुख विमल आचार्यले सार्वजनिक गरेको घोषणा पत्र अनुसार दलित छात्राहरुका लागि आधारभूत र माध्यमिक शिक्षा निःशुल्क गर्ने । संस्थागत विद्यालयहरुमा दलित समुदायका छात्र छात्राले प्राप्त गर्ने निःशुल्क संख्या निर्धारण गरी कार्यन्वयन गर्ने, नगरपालिकाले प्रत्यक्ष रुपमा श्रृजना गर्ने रोजगारीका अवसरका क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व गराउने साथै नगरले गठन गर्ने सबै समितिमा दलित समुदायको अनिवार्य सहभागिता गराउने, दलित समुदायको पेशा, ज्ञान, सीप र प्रवृधिको प्रयोग, संरक्षण र विकासका लागि स्रोत परिचालन र व्यवस्थापन गरी जीवन्त दलित संग्रालयको स्थापना गर्न पहल गर्ने र भूमिहिन तथा आवासबिहिन भएका दलित परिवारका लागि राज्यले संविधान बमोजिम बनाउने कानुनलाई कार्यन्वयन गर्ने र यसका लागि नगरको स्रोत र साधनलाई अधिकतम प्रयोग गर्ने रहेका छन् । नगर प्रमुख आचार्यले नेपालको संविधानले जातीय भेदभाव उन्मूलन सम्बन्धि नीतिको कार्यान्वयनमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

    ‘अब कसैले जातको आधारमा हेपिनु पर्दैन’ घोषण पत्र जारी गर्दै नगर प्रमुख आचर्यले भने–‘नगरभित्र रहेका सबै दलित समुदायले पाउने हक अधिकारमा प्राथमिकताका साथ अगाडी बढाइने छ ।’

    कार्यक्रमका प्रमुख अतिथि दलित नेता एवम पूर्व मन्त्री जितु गौतमले मेचीनगर नगरपालिकाको जातीय तथा रङ्गभेद मुक्त नगर घोषणा गर्ने निर्णय स्वागत योग्य रहेको बताए ।

    उनले पछिल्लो समय छुवाछुतको अन्त्य हुँदै गएको बताउँदै यस अभियानलाई थप सार्थकता पार्नका लागि मेचीनगरले गरेको कार्यको प्रशंसा गरे ।
    कार्यक्रममा दलित अभियान्ता डा.निर्मल विश्वकर्माले जातीय तथा रङ्गभेद सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

    सहिष्णुता, समावेशिता र एकताको प्रबद्र्धन गरौँ विविधतालाई सम्मान गरौँ भन्दै डाक्टर विश्वकर्माले अब कुनै पनि नेपालीले जातको आधारमा हेपिनु पर्ने अवस्था नभएको बताए । उनले सबै नेपालीले समान हक र अधिकारका साथ जिउन सक्ने अवस्था सृजना हुँदै गएको समेत बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले ५ बर्ष भित्र मेचीनगरलाई छु्वाछुत नगरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाइन् ।

    नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले सबैको साथ र सहयोगमा नगरलाई छुवाछुत मुक्त नगर बनाउन सकिने बताए । कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, ६ का अध्यक्ष ललित तामाङ, ८ का अध्यक्ष विकेन्द्र धिमाल, १३ का अध्यक्ष कृष्ण सिग्देल तथा विभिन्न वडा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम अगाडी जातीय छुवाछुत अन्त्य गरौँ, भूमीहिन दलितलाई जमिन उपलब्ध गराऔँ भन्ने नाराका साथ

    कार्यक्रममा थ्रीएटर नाट्य समूह काँकरभिट्टाले छुवाछुत विरुद्धको नाटक प्रर्दशन गरेका थिए । समूहकी अध्यक्ष कविता नेपालद्धारा लिखित नाटक अन्तरजातीय विवाहका विषयमा आधारित रहेको थियो । साथै कार्यक्रममा तिलक दर्नालले गीत प्रस्तुत गरेका थिए ।
    कार्यक्रम मुल आयोजक समिति संयोजक टिका मग्रान्तीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नगर कार्यपालिका सदस्य कृष्ण कनालले गरेका थिए भने ध्रुव कनालको सञ्चालन गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…