काठमाडौं, चैत ८
सुन तस्करीको विषयमा लेनदेन नमिल्दा सनम शाक्यको हत्या भएको प्रहरीको वयानमाथि नै छानबिन सुरु भएको छ । मुख्य अभियुक्त जोगाउन प्रहरीकै मिलेमतोमा शाक्यको हत्या भएको उजुरी परेपछि गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
छानबिन समिति गठनसँगै गत १८ फागुनमा धरानमा भएको शाक्यको हत्याकाण्डको रहस्य बाहिर आएको छ । प्रहरीले नै मुख्य दोषीलाई बचाउन र आफूहरूको गल्ती ढाकछोप गर्न दुइ निर्दाेष व्यक्तिलाई हिरासतमा राखेको तथ्य खुलेपछि घटना थप रहस्यमय बनेको हो । महानगरीय अपराध महाशाखाको विशेष टोलीले गत १९ फागुनमा विराटनगर महानगर–३ स्थित पोखरिया कन्या मार्गमा सडकमा गुड्दै गरेको बा १२ च ५९६३ नम्बरको स्कर्पियोबाट मोरङ उर्लाबारी–७ निवासी सनम शाक्यको शव फेला परेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश–१ का प्रहरी कार्यालयका प्रमुख एआइजी पशुपति उपाध्याय, मोरङका एसपी अरुणकुमार बिसीदेखि अपराध महाशाखाका डिएसपी प्रजित केसीसम्म उपस्थित थिए पत्रकार सम्मेलनमा ।
‘सिरहाको अज्ञातस्थलमा हत्यागरी नेपाल–भारत सीमातर्फ लैजाँदै गरेको अवस्थामा शव बरामद गरेका छौँ, तीन जना पक्राउ परेका छन्,’ पत्रकार सम्मेलनमा प्रहरीको भनाइ थियो । तर, प्रहरीको सो वयान गलत देखिएपछि छानबिन समिति बनाइएको छ । प्रहरी स्रोतका अनुसार मुख्य दोषीलाई उम्काउन र आफूहरूको गल्ती ढाकछोप गर्न प्रहरीले निर्दोष दुई व्यक्तिलाई हिरासतमा लिएको पाइएपछि प्रहरी प्रधान कार्यालयले डिआइजी पुष्कलराज रेग्मीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
शाक्यलाई यातना दिएर मारिएको र त्यस्तै यातना भोगेका मोहन काफ्ले र नरेन्द्र कार्कीलाई जबर्जस्ती फसाएर मुख्य आरोपीलाई उम्काउन खोजेको भन्दै दबाब सिर्जना गर्नका लागि संघर्ष समिति गठन गरिएको छ । उक्त संघर्ष समितिले हत्याको घटनामा मिलेमतो गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान गरी कारबाही गर्न माग गर्दै दुई साताअघि गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा उठान गरिएका विषय अतिगम्भीर पाइएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको थियो । गृहको निर्देशनलगत्तै छानबिन समिति गठन गरिएको हो । समितिमा एसएसपी वसन्त लामा र डिएसपी सुदीपराज पाठक सदस्य छन । गत आइतबार गठित उक्त समितिले प्रारम्भिक सोधपुछ अघि बढाएको छ ।
यस्तो छ, घटनाको यथार्थ
फागुन पहिलो सातातिर चीनको केरुंग नाका हुँदै तस्करी गरेर ल्याइएको ३३ किलो सुन गायब भयो । उक्त सुन कसैले लुट्यो अथवा कसैले लुकायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालदेखि आइजिपी प्रकाश अर्यालसँग सुमधुर सम्बन्ध बनाएर सुन तस्करीको साम्राज्य चलाउँदै आएका चुडामणि उप्रेती उक्त सुनको मालिक हुन् । जो बजारमा गोरे नामले चिनिन्छन् । मोहन काफ्ले, नरेन्द्र कार्की र मृतक सनम शाक्य भरिया हुन् ।
३३ किलो सुन गायब भएपछि गोरेले सुन खोजिदिन महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सन्जेललाई अनुरोध गर्छन् । उनले ‘हाकिम मिलाउनुपर्छ, अहिलेका नयाँ एसएसपी साब साह्रै कडा छन्, तपाईंले केटाहरूलाई टर्चर गरेर सुन निकाल्नू, पछाडिको सबै म मिलाउँछु, सुन भेटिएपछि आधा–आधा गर्नुपर्छ,’ भन्ने सुझाब दिन्छन् । सई सन्जेलको प्रस्तावमा गोरेले सहमति जनाएपछि सुरु हुन्छ, सुन खोज्ने अभियान ।
१२ फागुनमा गोरेले भरियामध्येका नरेन्द्र कार्कीलाई काठमाडौं बोलाएर गौरीघाटस्थित एक घरमा बन्धक बनाउँछन् । त्यहाँ उनलाई चरम् यातना दिइन्छ । यातना दिने स्थलमा पुगेका महाशाखाका सई सन्जेलले पनि सुन ननिकाले गोलीले उडाइदिने धम्की दिन्छन् । जति कुट्दा पनि कार्कीले कुरा नाखोलेपछि १५ फागुनमा त्रिभुवन विमानस्थलबाट जहाजमार्फत कार्कीलाई विराटनगर पु¥याइन्छ भने मोहन काफ्ले र सनम शाक्यलाई सिरहाको लहान बोलाएर सोधपुछ गरिन्छ ।
सोही साँझ तीनै जनालाई सुनसरीको इटहरीमा भेला गराएर गोरे र उनका सहयोगीहरूले स्कर्पियो गाडीमा राखेर राती धरानको निर्भाणा कन्ट्री क्लब पुर्याउँछन् । त्यस रातभर होटेलको कोठामा खानासमेत खान नदिई तीनै जनालाई चरम् यातना दिइन्छ । रातभर जति कुटपिट गर्दा पनि उनीहरूले केही नबोलेपछि १६ फागुनको बिहानै काठमाडौं जाने भन्दै गोरेले तीन जनालाई स्कर्पियो गाडीमा राखेर मोरङ उर्लाबारीको झारासाझी भन्ने ठाउँको जंगलमा लगेर चरम् यातना दिन्छन् । उक्त काममा गोरे, उनका एक सहयोगी र चालक टेकराज मल्ल संलग्न रहेको स्रोतको भनाइ छ । जति यातना दिँदा पनि केही नखुलेपछि साँझपख उनीहरू सबैलाई धरानको निर्भाणा कन्ट्री क्लबमै पुर्याइन्छ ।
दुई दिनदेखि तीन जनालाई पानीबाहेक केही पनि खान दिइएको थिएन । चर्को यातनाले उनीहरू पागलजस्तै भइसकेका थिए । त्यस रात पनि केही खान दिइएन र १७ फागुनमा दिउँसो मोरङको मंगलबारेमाथि रहेको सुनझेडा भन्ने ठाउँमा लगेर भोकै रहेका तीनै जनालाई खानपिन गराए, गोरेले । खानपिनपछि अपराह्न ४ बजेतिर तीनै जनालाई गारेले भने, ‘ल तिमीहरू निर्दोष रहेछौ, जाऊ ।’ खुसी भएर फर्किन थालेका तीनै जनालाई एक घण्टा नबित्दै गोरेले फोन गरेर भने, ‘तिमीहरू जहाँ छौ, त्यहाँबाट फर्किहाल ।
उनीहरू डरले तुरुन्तै फर्किए । त्यसदिन राती उनिहरू सबैलाई धरानको पुरानै स्थानमा राखिन्छ । त्यसको भोलिपल्ट १८ फागुनको अपराह्न तीनै जनालाई पुनः उर्लाबारीको झारसाझीको जंगलमा पुर्याइन्छ । जंगलमा चरम् यातना दिइन्छ, जंगल आएका अरूले देख्न सक्ने आशंकामा गाडीभित्र म्युजिक बजाएर तीनै जनालाई करेन्ट लगाइन्छ । गाडीको ब्याट्रीबाट जोडेको करेन्ट थेग्न नसकेपछि सनमले मृत्युवरण गर्छन् । सोही घटनाको विषयमा छानबिन समितिले आफ्नो काम अघि बढाएको हो ।
सनमको मृत्यु भएपछि गोरे अत्तालिन्छन् । तत्कालै महाशाखाका सई बालकृष्ण सन्जेललाई फोन गरेर भन्छन्, ‘सन्जेल सर, एउटा त मर्यो, अब लासको व्यवस्थापन गर्नुपर्यो । कति पैसा लाग्छ, म खर्च गर्न तयार छु । तपाईंले जसरी पनि लास व्यवस्थापन गरिदिनुपर्यो ।’ गोरेलाई उद्धृत गर्दै स्रोतले भन्यो । त्यो बीचमा सन्जेल र गोरेबीच बार्गेनिङ चल्यो । गोरेले पाँच करोड दिने सहमति दिएपछि महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसीको कमान्डमा सई सन्जेलसमेत गरी चार जना प्रहरीको टोली १८ फागुनमा करिब ४ बजे पूर्वतर्फ लाग्यो ।
स्रोतका अनुसार काठमाडौंबाट प्रहरी टोली हिँडेको खबर पाएपछि गोरेले यातनाबाट ज्यान बचेका कार्की र काफ्लेलाई ‘ल, अब पुलिससँग सबै सेटिंग मिलिसक्यो, तिमीहरू जाऊ, कतै हल्ला नगर, नभए तिमीहरू नि फस्छौ,’ भन्दै दुई जनालाई एउटा स्कर्पियो गाडीको व्यवस्था मिलाइदिएर नियन्त्रणमुक्त गरे ।
उनीहरूलाई पठाएपछि विभिन्न सामग्रीले सनम शाक्यको शव पोको पारेर स्कर्पियो जिपको डिक्कीमा राखेर चालक टेकराज मल्ललाई धरानमै शवसहितको गाडी जिम्मा लगाएर गोरे इटहरीतर्फ हानिए । ‘काठमाडौंबाट सन्जेल सरहरू आउँदै हुनुहुन्छ, लाससहित गाडी उहाँहरूलाई दिनू, सबै व्यवस्थापन उहाँहरूले आफै गर्नुहुन्छ,’ गोरेको भनाइ उद्धृत गर्दै स्रोत भन्छ ।
१९ फागुनमा रातको ३ बजे महाशाखाको प्रहरी टोली धरानको भानुचोक पुगेर गोरेका चालक मल्ललाई भेट्छन् र शवसहितको गाडी नियन्त्रणमा लिन्छन् । त्यसको केही घण्टामा १९ फागुनको बिहान गोरेले एक भारतीय नम्बरबाट फोन गरेर यातना दिएर छोडिएका भरिया मोहन काफ्ले र नरेन्द्र कार्कीलाई सोध्छन्, ‘तिमीहरू कहाँ छौ ?’ जवाफ आउँछ, ‘हामी जिउको दुखाइले गर्दा गाडी चलाउन नसकेर इटहरीको एउटा होटेलमा बसेका छौँ ।’ ‘ल त्यसो भए ड्राइभर मल्लले फोन गर्छ, पुलिसहरूलाई प्रत्यक्षदर्शी चाहियो रे, सनमलाई भारतीय मूलका मान्छेले कुटेर मारेका हुन्, उनीहरू भागिसके, हामीलाई पनि कुटेका थिए भनेर भन्नू । सबै कुरा सन्जेल सरले मिलाउनुहुन्छ ।’ गोरेको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।
त्यसको केही बेरमा चालक मल्लले काफ्लेलाई फोन गरेर होटेलको नाम मागे । त्यो बीचमा डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल केही समय गायब भए, नाम पाएको केही बेरमै होटेलमा पुगेर कार्की र काफ्लेलाई प्रहरी टोलीले नियन्त्रणमा लियो । शव बोकेको गाडी मल्लले चलाए, अर्को गाडी काफ्लेले चलाए ।
काफ्लेले हाकेको गाडीमा एकजना प्रहरी बसे, कार्कीलाई प्रहरीको गाडीमा राखेर तीन वटै गाडी विराटनगर महानगरपालिका–३ स्थित पोखरिया कन्या मार्गमा पुर्याइयो र रचियो बनावटी कथा, ‘सडकमा गुड्दै गरेको बा१२च ५९६३ नम्बरको स्कर्पियो गाडीबाट मोरङ उर्लाबारी ७ बस्ने वर्ष ३३ को सनम शाक्यको शव फेला पारियो, घटनाका मतियार चालक टेकराज मल्ल, र अभियुक्तहरू मोहन काफ्ले र नरेन्द्र कार्की पक्राउ, गोरे भन्ने चुडामणि उप्रेती । सौर्य दैनिक