काठमाडौं, ८ चैत । नेपाल कुरियर सेवा संघ भन्ने छ, जसको अन्तर्गत ५५ निजी कुरियर सर्भिसहरु छन् र ती बेजोडले चलेका छन् । एउटा कम्प्युटर र एकजना स्टाफ राखेर कुरियर सर्भिसहरु मजाले चलेका छन्, कमाई रहेछन् ।
नेपालको हुलाक सेवा किन चलेको छैन ? त्यसो त प्रविधिको विकास र इमेल सेवाले गर्दा हुलाक सेवा चल्न कम भएको भन्ने हुलाकी कर्मचारीहरुको तर्क छ, यथार्थमा यो तर्क सही होइन ।
हुलाक प्रविधिले नचलेको भए कुरियर सर्भिसहरु किन चलिरहेका छन् त ? सबैभन्दा ठूलो कुरा छिटो छरितो सेवा र विश्वसनीयता हो । नेपालको हुलाकमा विश्वसनीयताको कमजोरी छ भने राजाको काम कहिले जाला घामजस्तो काम गर्ने शैलीले हुलाक सेवाले सेवाग्राहीको ध्यान तान्न नसकेको हो ।
नेपालको हुलाक सेवा विभाग भनेको आकर्षक ठाउ“मा कमाउनेलाई थन्क्याउने स्थानका रुपमा लिने गरिएको छ भने राजनीतिक प्राभव र दबाब दिन नसक्ने सोझा कर्मचारीलाई पनि यही विभाग अन्तर्गत खटाउने गरिएको छ ।
पहुँचवालाहरु कमाई हुने नाउँमा पोष्टिङ हुनसक्ने र पहुँच नभएकाहरु यही विभागमा खटिने भएकाले पनि कर्मचारीहरुमा काम गर्ने हौसलाको कमी देखिन्छ जसले हुलाकलाई प्रभावहीन पारिरहेको छ ।
हुलाकको काम नभएको भए अन्तर्राष्ट्रिय डिएचएल, टीनटीजस्ता संस्थाहरुसमेत नेपालमा आकर्षक कार्यालय, सक्रिय कामदारहरुसहित काम गरिरहेका छन् र हुलाकले सय रुपैयाँ शुल्क लिने डकुमेन्टलाई चार हजारसम्म लिइरहेका छन् ।
विश्वसनीयता र छिटो छरितोकै लागि सेवाग्राहीले महगो शुल्क तिरेर कुरियरतिर जान्छन् सरकारी हुलाकको प्रयोग गर्न रुचाउँदैनन् ।
यसको अर्थ बजार छ, आवश्यकता पनि छ तर हुलाक सेवा प्रति जनविश्वासको कमी छ । यो कमी कसरी हटाउने र आफूलाई सेवामा सक्रिय पार्ने हुलाकले कहिले सोचेन ।