२०७४ चैत्र १० शनिवार
देबु बानियाँ । बुद्धशान्ति । घरबाट एक किलोमिटरको दुरीमा घना जंगल छ । बिहान १० बजेसम्ममा दुई भारी दाउरा सजिलै ओसार्न सकिन्छ । तर, बुद्धशान्ति–५ चौधरी बस्तीकी सुमित्रा चौधरीले अहिलेसम्म जंगल गएर दाउरा ल्याएकी छैनन् । उनी जंगल गएर दाउरा ल्याउने समयलाई बचाएर घरमै बैकल्पिक स्रोतको रुपमा गोबरको गुइँठा बनाएर बस्छिन् ।
सोही ठाउँकी रोशनकुमारी चौधरीले पनि जंगल जानु परेको छैन । उनले पनि गुइँठाकै भरमा आफ्नो चुलो बालेकी छिन् । सुमित्रा र रोशनकुमारी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता यस क्षेत्रका सबैको चुलोमा गोबरको गुइँठा सल्किन्छ ।
यस गाउँको सामुन्नेमा पाँचपोखरी सामुदायिक वन छ । तर, पनि उनीहरु वनबाट दाउरा ल्याएर बाल्दैनन् । वनले हरेक वर्ष उपभोक्ताले पाउने अधिकारभित्रको केही पिल (हार) दाउरा दिन्छ । त्यही दाउरामा मिसाएर गुइँठा बाल्ने गरेका छन् उनीहरुले ।
यस बस्तीमा गुइँठा बनाउने परम्परा जत्तिकै छ । उनीहरु हरेक वर्ष गुइँठा बनाउँछन् । पुस, माघ र फागुनमा तयार पारेको गुइँठाले एक वर्ष पुर्याउँछन् ।
उनीहरुले गुइँठाबाट चुलो चलाएपछि यसको प्रत्यक्ष फाइदा सामुदायिक वनलाई पुगेको छ । सो क्षेत्रमा करिब १ सय घर परिवारको संख्यामा चौधरी समुदायका मानिसहरु बस्छन् ।
पछिल्लो समय सामुदायिक वन मासिँदै गएको अवस्थामा यहाँका उपभोक्ताले भने वन जोगाउनका लागि निरन्तर गुइँठाको बिकल्प लिएका हुन् पराल र सुन्ठी मिसाएर बनाइने गुइँठाको दाउरा अरु दाउरा भन्दा भरपर्दाे र टिकाउ हुने स्थानीय बताउँछन् ।
‘पहिलेदेखि बनाउँदै आएका हौँ,’ स्थानीय तेजीलाल चौधरी भन्छन्, ‘यसैमा बानी परियो । घरमा गाईवस्तु प्रशस्तै छन् । गोबरबाट बनाएको दाउरा राम्रो लाग्छ । हामीले जंगललाई पनि बचाउनु पर्छ भन्ने सोच बनाएका हौँ । वन जोगाउनका लागि पनि हामीले गुइँठा बाल्ने गरेका छौँ ।’
पाँचपोखरी सामुदायिक वनका अध्यक्ष प्रदीप धिमालले उपभोक्तालाई केही महिना भित्रमा ग्यास चुलो वितरण गर्ने बताए ।
उनले चौधरी बस्तीका उपभोक्ताले बनाउने गुइँठाको दाउराले वनलाई ठूलो टेवा पुगेको बताए । उनका अनुसार वन जोगाउन स्थानीयले सहयोग गरेकाले पनि उनीहरुलाई ग्यास चुलो वितरण गर्ने योजना अघि सारिएको हो ।
‘उहाँहरुप्रति हाम्रो ठूलो सम्मान छ,’ अध्यक्ष धिमालले भने, ‘जसले हरेक वर्ष गुइँठा बनाउनु हुन्छ । त्यही गुइँठामा हामीले दिएको दाउरा मिसाएर वर्ष दिन पुर्याउनु हुन्छ । जसले वनलाई प्रत्यक्ष फाइदा पुगेको छ ।’