इलाम । पूर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको चौथो संस्करण बैशाख ६ गतेबाट हुने भएको छ ।
आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल सङ्घले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो । २०७१ सालबाट आयोजना गरिएको फुटबल प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो ।
गोल्डकपमा भारत र बङ्गलादेशको एक÷एक, नेपालका ए डिभिजनका ७ वटा टिम सहित १२ टिमको सहभागिता रहनेछ । यो संस्करणबाट प्रतियोगिताको पुरस्कार राशी समेत बढाइएको छ । अघिल्लो संस्करणको विजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गरेकोमा यस संस्कणको बिजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र उपबिजेता ४ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
चौथो संस्करणको सर्बोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल प्राप्त गर्नेछ । त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार राशी समेत बढाइएको छ । गत संस्करणमा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिएको थियो । म्याच अफ दि म्याच सहित अन्य विधाका खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।
आयोजकका अनुसार प्रतियोगितामा बङ्गलादेशको एएचएम कामारुजमान, भारतको दुर्गा स्टिल कलकता, सिक्किम युनाइटेड तथा नेपालका ए डिभिजनका सिएमजी सङ्कटा, रमपम झापा ११, लक्ष्मी हुन्डाइ मनाङ मस्याङ्दी, रुस्लान थ्री स्टार, कास्की ११, तीन विभागीय टिम त्रिभुवन आमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजक माइभ्याली फुटबल क्लब सहभागी हुनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । माइभ्याली फुटबलका अध्यक्ष धिरेन चेम्जोङले दर्शक, स्थानीय उद्यमी व्यवसायी, फुटबल फ्यान र प्रतियोगिताको स्पेसल दाताले गरेको आर्थिक सहयोग नै फुटवल खेल सम्पन्न गर्नमा सहयोग हुनेमा विश्वस्त रहेको बताए ।