• — मातृका लामिछाने

    श्री डिल्ली प्रा वि मा कक्षा ४ देखि औपचारिक रुपमा अनिवार्य अंग्रेजहरुको भाषा पढ्न सुरु गरेको याद आयो । अहिलेका चिचिलाले ४ किलास पुग्दा  अनिवार्य नेपाली बाहेकका सवै आठ दश वटा विषय खरररर अंग्रेजीमा पढ्न लेख्न जान्दछन् । उबेला सानो ठूलो ए बि सि डि, मदर, ब्रदर, फादर सिस्टर लगायतका चालिस पचास वर्ड र त्यति नै सेन्टेन्स जान्दा आफूलाई रेडियो नेपालको ८ बजेको समाचार बाचक नै भएँ झैं लाग्थ्यो । सी ओ डब्ल्यू काऊ खै तेरो बाऊ ? आई इट राईस, तैले के खाईस् ? भन्दै लिम्बेदाईको छोरालाई र्याखर्याख्ती पार्दा हजुरआमाले गाई खाने भाषा पढेर बिग्रिने भईस् भन्दै कूचाको झटारो हानेको हिजो जस्तो लाग्छ । हजुरआमाले भनेको गाईखाने भाषाको इस्तमाल बिना नुन भुटुन टार्न त परै जाओस् श्वास फेर्न र सपना देख्न पनि गाह्रो हुँदै गाछ आजकल ।

    म अहिले आएर बुझ्दैछु कि गाई खाने किन भन्या होला भनेर । अंग्रेजी बोल्ने गोरे दाई दिदिले हिन्दुमाता गाई लाई समेत आनो ब्यञ्जनमा अनिवार्य समावेश गर्ने भएकाले रैछ, हेला हो कि रेला भावमा त्यसो भन्नु भाको । गौमाई लाई गोरे बाहेक अरु कस कसले खान्छन् ? हामीकहाँ पनि नीजको मांसाहार गर्ने दाई दिदि हुनुहुन्छ । जातले पाको खानै पर्यो नि एकजना मित्रले भने । कुनै जात वा धर्मको धर्मशाष्त्रमा यो वा त्यो खानै पर्छ अनिवार्य भनेर किटान गरेको छ छैन थाहा भएन । किन्तु आजकल सञ्चारमाध्यम र सामाजिक सञ्जाल गौमाता मांससेवनको पक्ष विपक्षमा पुरै ध्वस्त हुने गरि विचार , आक्रोस बमन भईराख्या छ । काटमार गर्न, खुल्ला रुपमा बेच्न र खान पाउनै पर्छ भन्ने एकाथरिको मागदाबी छ भने अर्कोथरि त्यो हुँदै हुन्न भनेर चर्कोगरि बाझाबाझ गर्दै साम्प्रदायिक विचलनको वीज रोप्न उद्यत देखिन्छन् । हिन्दु धर्माबलम्बीकी लक्ष्मीसमान गौमाता लाई भगवानका रुपमा पूजा गर्ने मात्र नभई देशको राष्ट्रिय जनावर समेत भएकाले गौहत्या कानुनी रुपमा बर्जित र अपराध सरह दण्डनीय छ । त्यसो हुँदा पनि समाज गाई खाने र नखाने दुई रुपमा समूह विभाजित छ । जसरी कुखुरा खसी राँगा भैंसीको मांसहार गरिन्छ , मो मो को रुपमा मैदामा पोको पारेर कतिपय तागाधारीले समेत स्वेच्छिक सेवन गर्छन त्यसरी नै काऊ लाई निल्न पाउनु पर्ने वकालतमा केहि स्वघोषित वकिल सावहरु लाग्नु भाको छ । बिना जनादेश धर्म निरपेक्षता घोषणा गरिएकोले धर्म बिग्रहताले प्रश्रय पाएको र कम्युनिजमको भाषामा अफिमरुपी धर्मले साँच्चिकै सेप्टीपपुलेमीया (मान्छेहरुको रगतमा विषाक्त प्रवाह) भई धार्मिक असहिष्णुता, सामाजिक विश्रृङ्खलता र सांस्कृतिक विचलनले भाईचारा सद्भाव र युगौं देखिको मेलमिलाप खल्बलिने सुस्पष्ट चित्र देखिन थालेको छ । आकासमा कालो बादल मडारिन थालेको छ । एक्काइसौं शताब्दीमा लाए खाएकोमा कमेन्ट गर्नु , कुरा काट्नु हुँदैन ।

    अव के गर्ने ? समाधानमा जाम । धार्मिक सामाजिक मान्यता, कानुनी इजाजत र राजनीतिक सम्मतिलाई तपशिलमा राखेर आउँ विचारगत सहमति गरुँ । मेरो नजरमा जीव जनावर तथा मानिसहरु ४ किसिमका हुन्छन् । १. मांसाहारी २. सागाहारी ३. सर्वाहारी ४. अनेकाहारी । मासु मात्र खाने, सागपात वा घाँसपात फलफूल मात्रै खाने, संसारमा भएका र पार्ईएका खानयोग्य सवथोक खाने, र ती मध्ये रोजिछाडी इच्छा अनुसार खाने । मानिस सर्वाहारी र अनेकाहारी वर्गमा पर्छ । आजकल उहि अंग्रेजीमा भेजिटेरियन र मिटइटेरियन दुई खालमा छन् । मांसआहारमा पनि के खाने के नखाने के के को खाने ? खासमा मासु खान नपाउँदा आँशु झार्ने , बच्चा झैं रोढ्याईं गर्ने,  झगडा गर्ने, तमासा गर्ने, गाईको होस् या गाईको दाजुभाईको या त उसका लोग्ने, उसका छोराछोरी, आफन्त छिमेकी हुन् वा उड्ने, घस्रिने, थलमा दौडने, जलमा पौडने यी तमाम जीवीत श्वासलाई लास बनाएर तताएर पकाएर उसिनेर पोलेर सेकेर झिरमा उनेर काँटामा तुनेर खानुको सट्टा एक खुट्टेलाई आनो बनाउनुहोस् टन्टै साफ । दुई खुट्टे, चार खुट्टे लाई अव स्वतन्त्र जीवनयापनका लागि छाडिदिम । सवै मार हान्ने, भाकल गर्ने, बलि दिने, निमुखा र अबोध जीवात्माको प्राणहरण गर्ने कार्यलाई सामुहिक प्रण र प्रयत्नद्धारा क्रमश हटाउँदै लैजाउँ । एक खुट्टेको रुपमा काउली, च्याउली लगायतका विशुद्ध वनष्पतिको आहार गरौं र समग्र राष्ट्रलाई सागाहारी बनाउँ ।

    माननीयज्यू हरुले संसद्मा विशेष संकल्प प्रस्ताव पारित गरि वा जरुरी सार्वजानिक महत्वको विषयको रुपमा सिंगो देशलाई भेजिटेरियन घोषणा गर्दै संविधानमै ‘हाम्रो देश एउटा साकाहारीहरुको देश हुनेछ’, भनि लेखिदिएमा न गाईको कुरा न गोरुको कुरा । कि कसो ?

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…