२०७४ चैत्र १४ बुधवार
काठमाडौं । गत कातिक १० गते देखि झापाको गौरादह ५ की सोनी मादेन हराईरहेकी छिन् । उनी गत कातिकको छठ पर्वको दिन झापा दमकको रतुवा खोलामा लाग्ने मेलाबाट हराएकी हुन् । सोनी मादेन दमकमा रहेका आफ्नो दाई सोम मादेनसँग बस्दै आएकी थिईन् ।
सोनी मादेन यतिका दिन भईसक्दा पनि सम्पर्कमा आउन नसकेकी हुनाले उनकी दाई सोम मादेन न्यूज २४ को कार्यलयमा आईपुगेका छन् । सुरुमा सोनीले विवाह गरेर गएकी अनुमान गरेपनि लामो समयसम्म सम्पर्कमा नआएपछि सोनीकी परिवारले खोजी गर्न सुरु गरे ।
सोम मादेनले आफ्नो बहिनी सोनी मादेन हराएकी केही दिनमै झापा प्रहरीलाई खबर गरे र निवेदन दिए तर झापा प्रहरीले पनि केही गर्न सकेनन् ।
त्यसपछि सोम मादेनलाई सोनी केसी नाम बताउँने एक युवतीले सोनी मादेनसँग भेट भएको र सोनीले आफु अफ्ठ्यारो स्थितिमा रहेको भन्दै हारगुहार मागेकी बताएकी थिईन् र आफ्नो सम्पर्क नम्बर पनि साटासाट गरेकी जानकारी गराईन् । त्यसपछि सोम मादेन झापा, दमकबाट काठमाडौं आए र सोनी केसीसँग भेट गरे र आफ्नो बहिनीको बारेमा बुझे ।
यसरी स्थायी घर बेनी र सोनी केसी नाम बताउँने ती युवतीले आफ्नो बहिनी आफ्ठ्यारो परिस्थितिमा रहेको र उनलाई भेटाईदिन्छु भनेपनि उनले भेट गराउन सकिनन् । अहिले सोनी केसी सम्पर्कविहीन बनेकी सोम मादेन बताउँछन् ।
त्यसपछि सुरुमा सोम मादेन आफ्नो बहिनीको खोजी गरिदिन भन्दै काठमाडौंको टेकु पुगे । तर टेकुबाट उनलाई अपराध महाशाखा महाराजगञ्ज पठाए । टेकुबाट दिइएको निर्देशन अनुसार सोम मादेन महाराजगञ्जको अपराध माहाशाखा पुगे र निवेदन दिए । त्यसपछि उनी अर्को एक महिनापछि महाराजगञ्ज पुगे तर आफ्नो निवेदन जस्ताको त्यस्तै रहेको बताए, र त्यहाँको प्रहरीलाई कुरा गर्दा झापा प्रहरीलाई निवेदन किन नगरेको भन्दै पठाएको उनी बताउँछन् ।
पछिबाट उनी पुनः काठमाडौंको टेकु पुगे र निवेदन दिए । तर टेकुले पनि आफ्नो बहिनीको खोज गर्न नसकेको बताउँदै उनले भने, ‘टेकुका ईन्स्पेक्टर रोशन खड्काले तपाईको बहिनीको केस सीबीआईले हेर्दैछ । तर सीआइबीमा सोध्दा अपराध महाशाखाले हेर्दैछ मात्र भन्छन् ।’
सोनी मादेनका दाई सोमले अपराध महाशाखा र सीआइबी दुवैले आफ्नो हराईरहेकी बहिनीलाई खोज्ने प्रयास नगरेका आरोप लगाएका छन् । सोम मादेन भन्छन्, ‘मैले प्रहरीलाई उजुरी यतिका समय हुँदा पनि मेरो बहिनीको खोजी कार्य गर्न सकेनन् । मेरो बहिनी काठमाडौंमै आफ्ठ्यारो परिस्थितिमा छिन होला ।’
सोम मादेन आफ्नो बहिनीको खोजी गरिदिन अनुरोध गर्दै राष्ट्रिय महिला आयोग पनि पुगे । त्यहाँ सुरुमा बहिनी सोनी मादेनलाई खोजी गर्छौं भने पनि केही गर्न नसकेको सोम बताउँछन् । अपराध महाशाखा, राष्ट्रिय महिला आयोग लगायतले बहिनी भेटाउँनु भयो भन्दै फोन आउने सोम मादेन बताउँछन् ।
सोम मादेनले आफ्नो बहिनी काठमाडौंमै बेचिएकी हुनसक्ने आशंका गरेका छन् । साथै अफ्ठ्यारो परिस्थितिमा हुनसक्ने बताएका छन् । त्यसोत, सोम मादेनले सोनी केसी नाम बताउने ती युवतीलाई खोजी गरी आफ्नो बहिनीको उद्धार गर्न प्रहरीलाई आग्रह गरेका छन् ।
साथै, ती सोनी केसी नाम बताउने ती युवतीको वास्तबिक नाम र स्थायी ठेगाना पनि आफुलाई थाहा नभएको सोम बताउँछन् । सोम मादेनको आशंकामा ती सोनी केसी नाम बताउने युवती पनि संलग्न रहनसक्ने बताउँछन् । त्यसैले ती युवतीको खोजी गरी आफ्नो बहिनीलाई पत्ता लगाईदिन सोम मादेनले यसै सामाचार मार्फत प्रहरीलाई आग्रह पनि गरेका छन् ।
यसरी एक युवती सम्पर्कविहीन भएकी छिन । महिनासम्म पनि सम्पर्कमा नआउनु र प्रहरी प्रशासन लगायतका निकायले यो विषयमा कुनै पनि चासो नदिनुमा प्रश्न खडा भएको छ ।