•  २०७४ चैत्र १४ बुधवार

    महोत्तरीमा चिटचोरीले व्यापकता पाउँदै गएको छ । एसइई परीक्षामा खटिएका महोत्तरीका प्रहरीको दिनचर्या अहिले अधिकांश परीक्षा केन्द्रबाट चिट संकलन गर्नु भएको छ ।

    परीक्षा केन्द्रका झ्यालबाहिर फ्याकिएका चिट संकलन गर्न उनीहरू व्यस्त हुने गरेका छन् । मंगलबार मात्र अनुगमन टोलीले तीन बोराभन्दा बढी गेसपेपर गाइड संकलन गरेर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ ।

    परीक्षालाई मर्यादित बनाउन जिल्लाका सबै २९ परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई जिल्ला शिक्षा कार्यालयले दिएको अनुशिक्षण कार्यक्रम वालुवामा पानी हाले सरह भएको छ ।

    अधिकांश परीक्षा केन्द्रमा खटिएका शिक्षकहरूकै मिलोमतोमा चिटचोरी भइरहेको गुनासो आउन थालेपछि परीक्षा अनुगमन टोलीले कडाई गर्न थालेको छ ।



    निरीक्षकहरू कारबाहीमा
    प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको एसइई परीक्षा अनुगमन टोलीले दुई नक्कली निरीक्षकसहित पाँचजनालाई निश्कासन गरेको छ ।

    तेस्रो दिन गणित विषयको परीक्षामा साँढा परीक्षा केन्द्रबाट अरुणकुमार यादव र बल्वास्थित परीक्षा केन्द्रबाट सञ्जिव यादव निकालिएका छन् । दुवै नक्कली निरीक्षक थिए ।

     

    प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दुवै नक्कली शिक्षकलाई परीक्षामा खटाउन सिफारिस गर्ने विद्यालयमाथि अनुसन्धान सुरु भएको जानकारी दिए ।

    कोल्हुवा बगेया परीक्षा केन्द्रबाट मो. इम्तियाज अन्सारी र साँढा केन्द्रबाट शत्रुधन चौधरी पनि निश्काशनमा परेका छन् । सुकदेव मावि सुगास्थित परीक्षा केन्द्रबाट एकजना कार्यालय सहयोगीसमेत निश्काशनमा परेका छन् ।

    यो  खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…