• काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण मिठो नमान्ने विरलै होलान् । एक नम्बरका ‘उखान टुक्के’ नेताका रुपमा दरिएका प्रधानमन्त्री ओलीले सबैलाई लठ्ठ पार्ने क्षमता राख्छन् ।

    उनी लोकप्रिय पनि खुवै भए । ओलीले आफूलाई देशभक्त बनाउनका लागि मिठामिठा भाषण पनि खुवै गरे । तर व्यवहारमा भने उनी निकै तल खस्केको विश्लेषण गर्न थालिएको छ ।

    ओलीले आशा लाग्दा कुरा गर्दा जनताले भरोसा गर्न थालेका थिए । त्यसकै परिणामले उनी दोस्रो पटक प्रधानमन्त्री भएका छन् । तर नियालेर हेर्दै जाने हो भने ओलीले जे पनि बोल्न थालेपछि अब ओलीको बोलीमात्र हो कि भन्ने शंका बढ्दै गएको छ ।

    पछिल्लो पटक बुधबार फेरि ओलीले केवल भाषणलाईमात्र उत्तेजित गराउने भाषण बोलेका छन् । उनले अब सिंगापुरलाई बिर्साउने गरी देश विकास हुने उद्घोष गरे ।

    नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सातौं महाधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै ओलीले देशलाई पर्यटनको केन्द्र बनाएर समृद्ध नेपाल बनाउने दाबी समेत गर्न भ्याए ।

    मुलुकको आय भन्दा बढी ब्यय देखिँदै गएको छ । झण्डै तीन करोड जनसंख्या भएको मुलुकमा करिब ७ लाख जनाले जागिर खान्छन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, निजामति कर्मचारी, शिक्षक लगायत सबैले सरकारी ढुकुटी रित्याउने हुन् ।

    आम्दानी घट्दो छ । खर्च बढ्दो छ । त्यहाँसम्म ठीकै थियो । अब स्थानीय तहको वडासदस्यको समेत तलव आउँछ । वडासदस्यदेखि लिएर राष्ट्रपतिले खाने देशको राजश्व नै हो । उनीहरु कसैले देशका लागि एकपैसा आम्दानी गरिदिने वाला छैनन् ।

    मासिक तलव अर्बौं रुपैयाँ जाने भइसकेको छ । त्यसमाथि सु–शासनको धज्जी उडाउन सबै लागिपरेका छन् । भ्रष्टाचार रोकिने ठाउँ छैन ।

    यो हालतमा ओलीले धमाधम फुस्रा भाषण गरिरहेका छन् । सिंगापुर एक क्षणमा बनेको हो ? पाँच वर्षमा बनेको हो ?

    होइन । बर्षौं लाग्छ एउटा सानो क्षेत्र बनाउन पनि । तर ओली पटक पटक जिस्किरहेका छन् । त्यो पनि गरीव जनतासंग ।

    वेरोजगार युवासंग जिस्किरहेका छन् । उनले प्रधानमन्त्री भएपछि संसदमा बोलेका विचारले एकपटक फेरि नेपालीको मन छोएको थियो ।

    तर ओली कहींकतै पनि गम्भीर छैनन् भन्ने यसले देखाएको छ । फिल्मी दूनियाँमा मात्र मानिस अवास्तविक (भर्चुअल लाइफ) बाँच्न सक्छ ।

    वास्तविक जीवनमा कुनै पनि सानो चिजलाई स्थापित गर्न कठिन हुन्छ ।

    ओलीको पहिलो कार्यकाललाई नै सम्झने हो भने उनले धेरै बाचा गरे । के पुर्याए ?

    अहिलेसम्म नेपाल तुइनमै हल्लिएको छ । कति तुइन विस्थापित भए ? भूकम्पले थिलोथिलो भएका नेपालीहरु अझै पनि खुल्ला आकाशमा छन् । कसलाई घर बनाएर दिए ?

    बस् ओलीलाई चिन्ता धरहराको थियो । धरहरा बनाउन आफैले पहिलो खाता खोलेर पैसा जम्मा गरे । तर के भयो त त्यो धरहराको पनि ?

    कुनै एक नेपालीका लागि कहाँ लगानी गरे ओलीले ?

    छन्छन् गनेर नगदमा हिसाब–
    संसद बैठकमा काँग्रेस सांसद गगन थापाले भनेका थिए कि प्रधानमन्त्री भइसकेपछि पहिले जस्तो जेपायो त्यही बोल्न पाइँदैन । अब त हरेक बोलीको हिसाबकिताब हुन्छ । छन्छन् गनेर नगदमा हिसाब लिने हो भनेका थिए ।

    तर प्रधानमन्त्री ओली झन् बढी सुरिएका छन् । भाषणबाजीमा झन् आक्रामक देखिएका छन् । उनलाई आराम भन्ने नै छैन । जहाँ पनि पुगेका छन् । केवल भाषणका लागि ।

    यो भाषण कसका लागि । यो त काम गर्ने बेला हो । दोस्रो पटक प्रधानमन्त्री भएको व्यक्तिका लागि हनिमुन पिरियड (१०० दिने समय) को अर्थ हुँदैन ।

    पाँच वर्षका लागि दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेपछि उनलाई जुनसुकै काम गर्नका लागि पनि विपक्षीले रोक्ने देखिँदैन । तर ख्यालठट्टा यति बढी भइसक्यो कि प्रतिकारमा कोही उत्रिएका जस्तो देखिन थाल्यो ।

    कार्यकर्तालाई श्रममा नलगाउने नेपाल नै होला । वेरोजगार युवा उत्तिकै छन् । शिक्षाको अर्थ नै हुन छाड्यो । स्नातकोत्तर गरेका कति युवा बेरोजगार भएर बसेका छन् कहिल्यै ओली कम्पनीले सोच्यो ?

    रोजगारीका लागि विदेसिने क्रम रोकिएको छैन । र, अझै पनि भन्न छोडेका छैनन् नेपालमै रोजगारीको सिर्जना हुन्छ ।

    पाँच वर्षमा ९ हजार नेपालीहरु विदेशमा रोजगारीका क्रममा ज्यान गुमाउन पुगे । यहाँ ओलीलाई अझै पनि मजाक छ ।

    एक राजनेताले देशका लागि काम गर्ने हो । जुन व्यक्ति प्रधानमन्त्री हुन्छ उसले आफ्नो दललाई समेत प्राथमिकता दिँदैन ।

    दुर्भाग्य ओली कलाकार जस्ता देखिएका छन् । जहाँ जान्छन् भीड जम्मा हुन्छ अनि मनोरञ्जन लिएपछि आफ्नो बाटो लाग्छन् ।

    मुलुकले धेरै परीक्षण भोग्यो । अब त नतिजा खोजेको छ । हावामा महल बनाउनु, नेपालमै पानीजहाज चलाउनु, काठमाडौंमा मोनोरेल कुँदाउनु.....आदिआदिले नेपाली आजित भइसके ।

    शुद्ध एक क्षण स्वास फेर्न नपाएर कति नेपालीले अकालमा ज्यान गुमाइसकेका छन् ।

    सडक राम्रो नभएर दुर्घटना उत्तिकै भएको छ । महानगरपालिकामा एउटै मार्गलाई दशौं पटक खनिन्छ वार्षिक ।

    पारदर्शीता शून्य बराबर छ । गैरजिम्मेवारी उत्तिकै छ । हो, प्रधानमन्त्री एक्लैले सबै काम गर्न सकिँदैन ।

    तर भाषणबाजी कम गरेर देशका लागि सोच्ने समय छुट्टाउन त सकिन्छ नि ।

    सिंगापुर त्यो स्थितिमा पुग्न वर्षौं लागेको हो । नेपाललाई पहिले एउटा लिकमा ल्याउन सक्नुपर्यो । कार्यकर्ता तताएर देश बन्दैन ।

    केपी ओली सबैका प्रधानमन्त्री बन्न सकुन् । यस्तो नहोस् आफ्नो बोलीले आफैलाई ढालोस् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…