• काठमाण्डु, १६ चैत –

    महानगरीय प्रहरी परिसर काठमाण्डुले काठमाण्डु जिल्लाभरिका सम्पूर्ण घरधनी र कोठा भाडामा लिएर बस्ने डेरावालसम्मको निगरानी शुरु गरेको छ ।

    काठमाण्डुका घरधनी र डेरावालको तथ्याङ्क संकलन गर्न करीब २ हजार प्रहरी परिचालन गरिएका छन् । महानरीय प्रहरी परिसर काठमाण्डु अन्तर्गतका सबै प्रहरी वृत्त, प्रभाग र पोस्टले आफ्नो क्षेत्रका सबै घरधनी, डेरावालको विवरण संकलन गर्न थालेका छन् ।

    पछिल्लो समय काठमाण्डुमा कोठा भडामा लिएर विभिन्न अपराधिक गतिविधि गर्ने लगायत समस्या बढ्न थालेपछि प्रहरीले काठमाण्डुका घरधनी र डेरावालको निगरानी शुरु गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले अपराध नियन्त्रण तथा अपराध भइसकेपछि संलग्नहरूले तुरुन्तै पक्राउ गर्न सकियोस् भन्ने उद्देश्यले विवरण संकलन थालिएको बताए ।

    ‘काठमाण्डुमा ४५–५० लाखको संख्यामा मानिसको बसोबास छ । हामी ३ हजार ३ सयको संख्यामा मात्रै प्रहरी छौं,’ पोखरेलले भने, ‘जनशक्ति कम भए पनि प्रभावकारीरूपमा काम गर्न हामीले वैज्ञानिक ढंगले सूचना संकलन अभियान थालेका छौं । हामीले काठमाण्डुमा बसोबास गर्ने सबै मानिसको सम्पूर्ण विवरण संकलन गर्छौं ।’

    प्रहरीले काठमाण्डुका घरधनी तथा डेरावालको काम, काम गर्ने कार्यालय, कामको प्रकृति, सामाजिक क्षेत्रमा संलग्नता, राजनीतिक संलग्नता आदि सबै विषयमा विवरण संकलन गर्न लागेको हो ।

    प्रहरीले घरधनीको नागरिकता नम्बरदेखि मोबाइल नम्बरसम्मको विवरण संकलन गर्ने छ । घरधनीले प्रयोग गर्ने सवारी, सवारीको किसिम आदि विषयको विवरण पनि प्रहरीले संकलन गर्न लागेको छ ।

    भाडामा बस्नेहरूको हकमा नाम, मोबाइल नम्बर, काठमाण्डुमा बसेको अवधि, काठमाण्डु उपत्यकामा डेरा लिएको तथा सरेको विवरण, हाल डेरा गरेर बस्नुभन्दा पहिले डेरामा बसेको स्थान, पहिलेको घरधनीको नाम समेतको विवरण प्रहरीले संकलन गर्ने छ ।

    यस्तै व्यवसायिक प्रयोजनका लागि घर भाडामा दिने घरधनीको विवरण पनि प्रहरीले संकलन गर्न लागेको छ । प्रहरीले आवास तथा व्यवसायिक प्रयोजनका लागि घरभाडामा दिने घरधनी तथा घर भाडामा लिएर बस्ने भाडावालको विवरण संकलन गर्न छुट्टा–छट्टै फारम नै बनाएको छ ।

    यस्तो छ फारमको नमूना



    डेरावालले कोठा छाडे प्रहरीमा खबर गर्नुपर्ने

    महानगरीय प्रहरी परिसर काठमाण्डुले काठमाण्डुका सबै स्थानीय तह (काठमाण्डु महानगरपालिकासहित)सँग समन्वय गरेर काठमाण्डुमा बस्ने व्यक्तिको विवरण संकलन गर्न लागेको छ । प्रहरीले विवरण संकलन गरिसकेपछि डेरा छाड्ने तथा डेरामा बस्न आउने नयाँ व्यक्तिको विवरण घरधनीले उल्लेख गर्नुपर्ने प्रहरीले जनाएको छ ।

    ‘यदि कुनै घरबाट कोठामा बसेकाले डेरा छाडे र नयाँ व्यक्ति डेरामा बस्न आए घरधनीले त्यसको जानकारी हामीलाई गराउनुपर्ने छ,’ एसएसपी पोखरेलले भने, ‘काठमाण्डुमा हुने अपराधिक घटना नियन्त्रणका लागि यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’

    पोखरेलका अनुसार काठमाण्डुका घरधनीले अब आफ्नो घरमा बस्ने डेरावालको सम्पूर्ण विवरण आफूसँग पनि सुरक्षित राख्नुपर्ने छ । ‘कुनै घरमा डेरा गरेर बस्ने व्यक्तिले अपराध गरेमा पहिलो सोधपुछ धरधनीसँग नै हुन्छ,’ एसएसपी पोखरेल भन्छन्, ‘त्यसकारण घरधनीहरूले पनि आफ्नो घरमा डेरा गरेर बस्ने व्यक्ति को हुन्, के काम गर्छन् जान्नुपर्ने हुन्छ ।’

    यसका लागि घरधनीले पनि डेरामा बस्ने व्यक्तिको नागरिकतादेखि अन्य सरकारी कागजातको प्रतिलिपि आफूसँग राख्नुपर्ने एसएसपी पोखरेलको भनाइ छ ।

    पछिल्लो समय लिभिङ टूगेदरमा बस्ने संस्कृति ठूलो शहरी समस्या बन्दै गएको भन्दै प्रहरीले लिभिङ टूगेदरमा बस्नेको पनि विवरण संकलन गर्न थालेको छ । पहिले केटा र केटी राजी खुसीले सँगै बस्ने, तर पछि सम्बन्धमा समस्या आउँदा केटीले केटाविरुद्ध जबरजस्ती करणीसम्मको उजुरी दिने प्रचलन बढ्दै गएको प्रहरी तथ्याङ्कले बताउँछ ।

    ‘लिभिङ टूगेदरमा बस्ने संस्कृति अहिले ठूलो समस्याका रुपमा देखिएको छ,’ एसएसपी पोखरेल भन्छन्, ‘लिभिङ टूगेदरमा बस्नेहरू पहिले राजी खुसी सँगै बस्छन् । पछि समस्या आएपछि केटा–केटीले एक–अर्काविरुद्ध उजुरी गर्नेदेखि अनेक आरोप लगाउन गर्छन् । यो एक सामाजिक समस्या बन्दै गएको छ ।’

    प्रहरीले लिभिङ टूगेदरको संस्कृतिलाई निरुत्साहित गर्न विवरण संकलन गर्न लागेको जनाएको छ । तर यसका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी रहेको प्रहरीको भनाइ छ ।

    ‘अहिलेका लागि लिभिङ टूगेदरमा बस्नेहरूको संख्या कति छ भनेर जान्नका लागि विवरण संकलन गर्न थालिएको हो,’ । लिभिङ टूगेदरलाई व्यवस्थित गर्ने सम्बन्धमा नीति निर्माण गर्न पनि यो तथ्याङ्क काम लाग्ने छ ।’ एसएसपी पोखरेल भन्छन्, ‘विवरण संकलन पछि यसबाट सिर्जित समस्याहरूबारे थप अध्ययन गरिने छ ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …