• विराटनगर । विराटनगरको इतिहास र गौरवसंग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिताको पूर्व सन्ध्यामा प्रचारात्मक र्याली निकालिएको छ ।
    प्रतियोगिता आयोजनास्थल सहिद रंगशालाबाट सुरु भएको र्यालीले विभिन्न ठाउँको परिक्रमा गर्दै गोल्डकपलाई भब्य र सभ्य रुपमा सफल बनाउन सबैमा अपिल गरेको छ । गोल्डकपको शिल्ड सहितको र्याली आयोजना गरिएको हो । र्यालीमा आयोजक र फुटबल प्रेमीको उल्लेख्य सहभागिता रहेको थियो ।
    मोफसलमा पहिलो पटक आयोजना गरिने दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता शनिबार (आज) देखि सुरु हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । विराटनगरमा हुने यो सबै भन्दा ठूलो खेल प्रतियोगिता हो । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले यसको उद्धघाटन गर्दै छन् । गोल्डकपमा भुटानको थिम्पु फुटबल क्लब र आयोजक रिजालको मोरङ–११ बीच पहिलो प्रतिष्पर्धा हुने छ । उद्धघाटन अघि १२ वर्ष मुनीका ५० खेलाडीसंग सिनियर खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्ने गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले जानकारी दिए । प्रतियोगितामा पूर्वघोषित विदेशी टिम बंगलादेश स्पोर्टिङ क्लब र भारतको सिक्किम युनाइटेड नआउने भएका छन् । विदेशी पाहुना टिमका रुपमा भारतको मोहम्डन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लबले सहभागिता जनाउने छन् । रिजालका अनुसार नेपालका तीन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरी वल सहित मनाङ मस्र्याङदी, संकटा, थ्री स्टार, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर आठवटा टिम छन् । २०७२ सालको डिफेन्डीङ च्याम्पियन नेपाल पुलिस क्बल हो ।
    अध्यक्ष रिजालका अनुसार यस वर्षको प्रतियोगितामा भाग लिने सबै टिम सम्पर्कमा आइसकेका छन् । ‘मोफसलमा पहिलो पटक भिन्न तरिकाले रात्रिकालीन फुटबल आयोजना गरिंदै छ,’ उनले भने, ‘यसका लागि सबै तयारी पूरा भइसकेको छ ।’ उनका अनुसार रात्रिकालीन समयमा फ्लडलाइट म्याच खेलाएर गोल्डकपलाई निरन्तरता दिन लागिएको हो । दिवाकालीन रुपमा प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगत छ ।


    ‘विद्यार्थी, कर्मचारी, व्यवसायी, लगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजनाको जमर्को गरिएको हो,’ रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उदेश्य छ ।’
    जिल्ला खेलकुद विकास समितिले मैदान उपलब्ध नगराएपछि गत वर्ष भने प्रतियोगिता हुन सकेन । प्रतियोगिता आयोजनाका लागि मूल आयोजक समिति र २६ वटा विभिन्न उपसमिति गठन गरिएका थिए । गोल्डकपका लागि ३५ लाख रुपैयाँ खर्च गरेर ६ वटा फ्लडलाइट जडान गरिएको जानकारी रिजालले दिए । महिला दर्शकलाई फुटबल हेर्नका लागि छुट्टै प्यापिटको व्यवस्था गरिएको छ ।
    यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
    प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरिएको छ । सिजनल टिकट लिने दर्शकले पूरै खेल हेर्न पाउने छन् । रिजालले भने, ‘सुरक्षाको दृष्टिकोणले खेलमैदान सीसी क्यामेराको निगरानीमा हुने छ ।’
    आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिता २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा संचालन भएको थियो । परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भसंगै २०६७ सालदेखि यसको नाम परिवर्तन गरेर महेन्द्र गोल्डकपबाट विराट गोल्डकप बनाइएको हो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…