उर्लाबारी । मोरङको उर्लाबारी मंगलबारेका ब्यासकुमार लिम्बू र रुद्र दासको जीवनमा ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’ भन्ने उखान यतिबेला चरितार्थ भइरहेको छ । ब्यास र रुद्र एकापसमा नङ र मासु झैं बनेका छन् । उनीहरू दुबै जना अपाङ्गता भएका ब्यक्ति हुन् । लिम्बू शारीरिक अपाङ्ग हुन भने दास पूर्ण दृष्टिबिहीन । भट्ट हेर्दा लाग्छ,अब ब्यास कुमार र रुद्रको जीवन एक अर्का बीना चल्न असम्भव छ । उनीहरू बीचको यो सम्बन्ध ५ वर्ष पुरानो भइसकेको छ ।
उर्लाबारीमा पहिलो पटक अपाङ्ग संस्था गठन गर्ने क्रममा उनीहरू बीच चिनजान भएको हो । ५ वर्ष अघिको त्यति चिनजानले ब्यास र रुद्रलाई एक आपसमा नजिक गराएको हो ।
ब्यासकुमार ह्विल चेयरमा चढ्छन् र गन्तब्यको दिशानिर्देश गर्छन । रुद्र दास ह्विल चेयरलाई पछाडिबाट ठेल्छन् । यहि क्रमबाट उनीहरूको अपाङ्ग आन्दोलन अहिले चलिरहेको छ । अचेल जुन कुनै स्थानका कार्यक्रममा यी जोडीलाई सँगै देख्न सकिन्छ । कारण, उहाँहरू दुबैजना अपाङ्गता भएका ब्यक्तिहरूको उर्लाबारीस्थित संस्था (डिपिओ)का पदाधिकारी हुन् । उर्लाबारीमा अपाङ्ग संस्थाको भवन निर्माण गर्ने अभियानमा जुटेका लिम्बू र दास अहिले अहोरात्र संस्था कै काममा ब्यस्त छन् । लिम्बू भन्छन–उर्लाबारीका झण्डै सात सय जना अपाङ्गहरूलाई एउटै संस्थामा आवद्ध गराई सकेका छौं ।अबको हाम्रो अभियान भनेको जग्गा खोजि गरी भवन निर्माण हो । सरकारले लक्का जवान गरिखान सक्ने र पाखुरेहरूका संस्थालाई निशुल्क जग्गा दिन्छ ,भवन निर्माण गर्न सहयोग गर्छ तर हामीहरूको आवाज सुन्दैन लिम्बूले गुनासो गरे । आदिबासी,दलित जनजाति ,पिछडावर्ग र अल्पसंख्यकका नाममा राज्यले वर्षौ देखि ठूलो धनराशि खर्च गरे पनि देखिने गरि कुनै काम नभएको लिम्बूको ठम्याई छ । उनले थपे –हामीले राज्यबाट जति रकम पाएका छौं त्यो सबै रकमबाट अपाङ्गहरूलाई स्वरोजगार बनाउने काम गरेका छौं । राज्यबाट अपाङ्गहरूलाई प्राप्तहुने बजेट अपाङ्गहरूले नपाउँदा अपाङ्गहरूमा समस्या झनै बढेको लिम्बू बताउछन् ।
आफ्नो भवनसँगै उर्लाबारीका सबै सरकारी तथा गैर सरकारी संस्थाका अब बन्ने भवनहरूलाई अपाङ्ग मैत्री बनाउने उनीहरुको अर्को योजना छ । भन्छन् –सरकार अपाङ्ग मैत्री भवन बनाउने कुरा गर्छ तर स्थानीय स्तरमा बजेट अभावको बहाना बनाएर पुरानै ढाँचाको भवन बनाउने क्रम रोकिएको छैन् ।
लिम्बू स्वयं पनि रेडियो घडी मर्मत गर्न सिपालु छन् । उमेरले ५० नाघिसकेका लिम्बू आँखाको ज्योति कमजोर हुदै गएको र रेडियो घडी मर्मत सम्बन्धी ब्यवसाय संकटमा पर्दै गएकोले अचेल ब्यवसायिक काममा भन्दा अपाङ्गहरूको अधिकार प्राप्तिको अभियानमा नै बढी ब्यस्त हुने गर्छन । प्रेम बिबाह गरेका लिम्बूका एक श्रीमती र एक छोरा सपाङ्ग छन् भने एक जना छोरो वौद्धिक अपाङ्ग छन् । अपाङ्गलाई एक छाक रोटी र दुई चार सय पैसा होइन जीवन भर गरिखाने सीप दिन सक्नु पर्छ भन्ने विचारबाट प्रेरित लिम्बू ८५ प्रतिशत भन्दा अपाङ्गहरू सीपको अभावमा घरैमा थन्किएको बताउछन् ।
रुद्र दासका कुरा अझ खरा छन् । भन्छन् –अपाङ्ग, त्यो पनि दलित भएकोले असाध्यै पीडा बोध हुन्छ । तर, पनि आफ्नै सामथ्र्यमा बाँचेकोछु । पूर्ण दृष्टिविहीन रुद्र दाउरा चिर्ने ,मदानी बनाउने ,मुडाबुन्ने धानका बिटा चुट्ने लगायतका घरेलु काम गर्न सिपालु छन् । त्यति मात्र होइन ,ट्यववेलको वासर,पंखा फेर्ने काम गर्न पनि उनी सक्छन । नौमति बाजा बजाउने होस या बाँसुरी उनलाई सपाङ्गले भेट्दैनन् । सबैलाई हेरेको हेर्यै पारिदिन्छन् । दुई पटक बिबाह बन्धनमा बाँधिएका रुद्र दुबैजनाले छोडेको बताउछन् ।भन्छन् –एउटी ११ दिन बसि एउटी ३ दिन ।४६ वर्षीय रुद्र दास अवसर पाए जुनसुकै काम गर्न सक्ने आँट भएको बताउछन् ।
शहर देखि गाउँ सम्म धेरै गैर सरकारीसंस्थाहरू अपाङ क्षेत्रमा काम गरिरहेका छन् । तर,ब्यासकुमार र रुद्र दासको अभियान सम्म अहिले सम्म कुनै गैरसरकारी संस्थाको आँखा पुगेको छैन् । जुन ब्यक्ति र संस्थाका पदाधिकारीहरू सँग काम गर्ने ईच्छा शक्ति छ त्यहाँ गैरसरकारी संस्थाको सहयोग छैन् । काम गर्नेले सहयोग पाए अपाङ्गता क्षेत्रमा केही सुधार हुन्थ्यो कि ?