• सुुरुङ्गा, झापा। पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ। 

    ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा परिन्। त्यो बेला लागेको गोलीको छर्रा बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले निकाल्दै निःशुल्क उपचार शुरु गरेपछि उनमा १५ वर्षपछि खुशी फर्किएको हो। 

    दश वर्ष लामो गृहयुद्धपछि शान्ति सम्झौता भएको ११ वर्ष बितिसक्दा समेत उपचारमा कसैले चासो नदिँदा अनुपा विगत १५ वर्षदेखि शरीरभरि गोलीको छर्रा लिएर कष्टपूर्ण जीवन बितारहेकी थिइन्। 

    २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो। 

    युद्धविराम पछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक सरकारमा पुगे पनि जनयुद्धकी घाइते अनुपाको उपचारका लागि न त पार्टीले सहयोग गर्यो न त सरकारले नै। आर्थिक अभावका कारण शरीरभरि गोलीका छर्रा लिएर कष्टपूर्ण जीवन बिताइ रहेकी अनुपाको बिएण्डसी अस्पतालले निःशुल्क उपचार शुरु गरेसँगै उहाँमा गुमेको खुशी पुनः फर्किएको हो। 

    आफैँलाई पढाउने शिक्षकसहित १५ जना साथी एकैपटक माओवादीमा प्रवेश गर्दै युद्धमा होमिएकी अनुपालाई चैनपुर आक्रमणमै शहीद घोषणा गरिएको थियो। सोमबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनुपाले भनिन् – मलाई चैनपुर आक्रमण मै मृत्यु घोषणा गर्दै शहीद घोषणा गरियो। तर, दुई दिनपछि मेरो होस आएर स्थानीयवासीको सहयोगमा म २१ दिनपछि पार्टीको सम्पर्कमा पुगेँ। तर, शरीरमा लागेका गोलीका छर्रा निकाल्न नसक्दा आज पनि घाइते अवस्थामा दुःखले जीवन बिताइरहेकी छु। 

    पाँचथरमा अनुपा आर्थिक अभावमा शरीरभरि गोलीका छर्रा लिएर उपचारका लागि वर्षौंदेखि भौँतारिइरहेको समाचार राष्ट्रिय समाचार समितिले समाचार प्रकाशन गरेपछि बिएण्डसी अस्पतालले उनको उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो। दुई दिन अघि अस्पताल आइपुगेकी उनलाई निःशुल्क उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बताए। 

    यता अस्पतालका न्यूरो सर्जन डा पंकज नेपालले  अनुपाको शल्यक्रिया गर्ने बताए। “उनहाँको एउटा छर्रा जटिल ठाउँमा छ, त्यो छर्राले दिमागलाई छोएको छ,” डा पंकजले भने,“मान्छेको दाहिने दिमागले देब्रेलाई कन्ट्रोल गर्छ, देब्रेले दाहिनेलाई। उहाँको दाहिने दिमागमा छर्रा छ, त्यसैले देब्रे दिमाग लाटो भएर बसेको छ।” 

    दिमागभित्रको छर्रा गर्मीमा तातेपछि अनुपालाई असर गरिरहेको डाक्टर पंकजले बताए। “यो छर्रा निकाल्न सम्भव छ, हामीले पहिले पनि यस्तै ठाउँमा भएको छर्रा निकालेका छौँ,” उनले भने – “यो एकदमै जटिल शल्यक्रिया हो, म चारजनाको टिम लिएर जान्छु, झण्डै १० घण्टा समय लगाएर अनुपाको सफल शल्यक्रिया गर्छु।”

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…