• देबु बानियाँ
    विर्तामोड । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ ६१ औं राष्ट्रिय सहकारी दिवस झापामा उल्लासपूर्वक मनाइएको छ ।
    झापा जिल्ला सहकारी संघ, डिभिजन सहकारी कार्यालय झापा, वचत तथा ऋण सहकारी केन्द्रीय संघ, केन्द्रीय सुपारी संघ, साना किसान विकास बैंक तथा राष्ट्रिय सहकारी बैंकले संयुक्त रुपमा मंगलबार झापाको विर्तामोडस्थित सुगम पेट्रोलपम्पछेउको प्रांगणमा बृहत समारोह आयोजना गरेका थिए । सो अवसरमा सञ्चारकर्मीसहित सहकारी अभियानमा निरन्तर क्रियाशील व्यक्तित्व तथा प्रारम्भिक सहकारी संस्थाहरुलाई सम्मानित–पुरस्कृत गरिएको थियो ।
    झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । संघका सचिव युवराज ढकाल र सहसचिव भवानीप्रसाद दंगालले संयुक्त रुपमा सञ्चालन र वचत तथा ऋण सहकारी केन्द्रीय संघका सञ्चालक एवम् जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीले स्वागत गरेको समारोहमा यस वर्षको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार विर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देल र उत्कृष्ट सञ्चार संस्थाको पुरस्कार विर्तामोडमा सञ्चालित सूर्योदय टेलिभजनलाई प्रदान गरियो । जनही पाँच हजार पाँच सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । टेलिभिजनको पुरस्कार प्रवन्ध निर्देशक विष्णु उप्रेती मैनालीले ग्रहण गरेकी थिइन् । सिग्देल अढाई दशकदेखि झापामा सक्रिय पत्रकारिता गर्दै आइरहेका छन् भने सूर्योदय टेलिभिजन विगत तीन वर्षदेखि विर्तामोडमा सञ्चालित छ । उनीहरुलाई प्रमुख अतिथि मन्त्री कार्कीले सम्मानपत्र प्रदान गरेका थिए ।
    यस वर्ष उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा मेचीनगर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कल काफ्ले, नरेन्द्रकुमार शेर्मा निम्बू र देवी निरौला वस्नेतलाई सम्मानित गरियो भने उत्कृष्ट सहकारी व्यवस्थापकका रुपमा राष्ट्रसेवक सहकारी संस्था झापाका व्यवस्थापक अनुज खतिवडा, नीलकण्ठ निरौला र गीता (ढकाल) निरौलालाई नगदसहित सम्मान गरियो । यसैगरी, महालक्ष्मी कृषि सहकारी संस्था लि मेचीनगर, पतालगंगा वचत तथा ऋण सहकारी संस्था विर्तामोड, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारी, पृथ्वी वचत तथा ऋण सहकारी संस्था कनकाई, साना किसान महिला कृषि सहकारी संस्था बैगुनधुरा र युनिक ाचत तथा ऋण सहकारी संस्था दमकलाई उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरियो ।
    समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मन्त्री कार्कीले देशमा राजनीतिक क्रान्ति सकिएको र आर्थिक समृद्धिको युग शुरु भएकोले समृद्ध राष्ट्र निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका रहने बताए । उनले कारोबारको दृष्टिकोणले झापाका सहकारीहरु अब्बल रहेको भन्दै १ नं प्रदेशको आर्थिक विकासमा झापाको भूमिका अग्रणी हुने पनि उल्लेख गरे । झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरले धन्यवाद ज्ञापन गरेको समारोहमा प्रदेश सभासद एकराज कार्की र अर्जुनकुमार राई तथा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।
    समारोहमा सहभागी हुनुअघि झापाका सबै सहकारी संस्थाहरुले आ–आफ्नो संस्थाको व्यानरसहित विर्तामोडको मुक्तिचोकबाट र्याली निकालेका थिए । त्यही र्याली समारोहमा परिणत भएको थियो । सोक्रममा हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाले पञ्चे बाजासहितको झाँकी पनि प्रदर्शन गरेको थियो ।
    ६१ औं सहकारी दिवसकै अवसर पारेर मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने विर्तामोडको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले निःशुल्क रुपमा पिउने पानी र सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले खाजाको रुपमा विस्कुटको व्यवस्था गरेको थियो । झापामा नौ सयको हाराहारीमा सहकारी संस्था सञ्चालित छन् ।     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…