•  विराटनगर । विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 
    विराटनगर स्थित सहिद रंगशालामा मंगलबार भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा विदेशी खेलाडी जीब्रेल नायक बने । ६१ औं मिनेटमा उनको प्रहारले जाली चुम्दा संकटा भाग्यमानी ठहरियो । बंगलादेशको बंगलादेश स्पोर्टिङ फुटबल क्लब नआएपछि गोल्डकपमा मौका पाएको संकटाले शनिबार फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी र थ्री स्टारबीचको विजेतासंग प्रतिष्पर्धा गर्नु पर्ने छ । ३० यार्ड टाढाबाट जीब्रेलले गरेको पावर सुटिङ प्रहारले पोष्टको दिशा लिंदा सशस्त्र दवावमा प¥यो । 
    पहिलो हाफसम्म दुबै टिमले बराबरी खेलेका थिए । २०७० सालको विराट गोल्डकप विजेता संकटाले जित निकाल्नका लागि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । २८ औं मिनेटमा जीब्रेलको प्रहार क्रस बारमा लागेर फकिंदा संकटाले अग्रता लिने अवसर गुमायो । रिबाण्ड बललाई विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरे पनि त्यसले सही दिशा लिन नसक्दा कठिन जितका लागि संकटाले ६१ औं मिनेट सम्म कुर्न प¥यो । ७९ औं मिनेटमा सुनिल खड्काको प्रहार दायाँ बार हुँदै बाहिरिंदा संकटाले दोस्रो गोल थप्न सकेन । 
    पहिलो हाफमा एउटा पनि पोष्ट एट्याक गर्न नसकेको सशस्त्रले दोस्रो हाफपछि सुधारिएको प्रदर्शन गरे पनि नजिता आफ्नो पक्षमा पार्न सकेन । ६५ औं मिनेटमा रुपक लामाको हेड प्रहारले बाटो विराउँदा संकटाले खेलमा फर्कने राम्रो अवसर गुमायो । ७६ औं मिनेटमा हरि कार्कीको हेड प्रहारमा संकटाका गोलरक्षक सागर पिया बाधक बने । ८० औं मिनेटमा कार्कीकै सशक्त प्रहारलाई गोरक्षक पियाले उत्कृष्ट ढंगले बचाएर आफ्नो टिमको संकट टारे । अन्तिम ८९ मिनेटमा सशस्त्रका विश्वास उदासको मध्य भागदेखिको प्रहारलाई पनि गोलरक्षकले विफल पार्दा संकटाको जित निश्चित बन्यो । 
    संकटाका प्रशिक्षक सल्यान खड्गीले दोस्रो दर्जाका खेलाडी लिएर मैदानमा उत्रदा पनि राम्रो नतिजा निकाल्न सकिएको बताए । उनी २०७० सालमा संकटाले विराट गोल्डकप जित्दा टिम कप्तान थिए । खड्गीले मैदानमा जुनियर खेलाडी उत्रिए पनि उनीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए । भने, ‘आगामी दिनको प्रतिष्पर्धाका लागि अर्को टिमको खेल हेरेर रणनीति बनाइने छ ।’ 
    सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले नयाँ खेलाडी भएका कारण जित हात पार्न नसकिएको प्रतिक्रिया दिए । खेलाडीले रणनीति अनुसार कौशलता प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । ‘केही राम्रा अवसर सिर्जना भएका थिए,’उनले भने, ‘ती अवसरको सदुपयोग हुन नसक्नु हारको मुख्य कारण बन्यो ।’ महर्जनले फिनिसिङ टच दिन पनि आफ्ना खेलाडी चुकेको बताए । नयाँ मैदान हुँदा र खेलाडीबीच आपसी तालमेल नमिल्दा नतिजा विपक्षीको पोल्टामा परेको उनको प्रतिक्रिया छ । 
    खेलको म्यान अफदी म्याच संकटाका जीब्रेल घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । बुधबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिष्पर्धा हुने छ । 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…