• बिर्तामोड, १ असोज ।

                 बुधबार दिउँसो होटल व्यवसायी संघ झापाको कार्यालयमा बिर्तामोडका होटल व्यवसायीहरु आफूमाथि आइपरेको सङ्कटलाई लिएर छलफलमा व्यस्त थिए । होटलमा छापा मारेर प्रहरीले निर्दोषलाई पक्राउ गरी थुन्नु ठिक नभएकोे भन्दै कसैले आक्रोश पोखिरहेका थिए भने प्रहरीले उचालेर उजुरी गर्न लगाएको केहीले दावी गरिरहेका थिए ।



     



    आफूमाथि परेको समस्याका बारेमा छलफल गर्न व्यवसायी संघको कार्यालयमा भेला भएका थिए । होटलमा युवती राखेर यौनधन्दा चलाएको कुरा भने कसैले स्वीकार गरेनन् । सबै जनाले बिर्तामोडका नयाँँ डिएसपी राजकुमार सिलवालको शिकायत गरिरहेका थिए ।



    इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुखका रुपमा सिलवाल आएपछि होटल व्यवसायीहरुमा खैलाबैला मच्चिएको हो । यौनधन्दा चलाएर राम्रो कमाई गरिरहेका होटल व्यवसायीहरुको व्यवसाय यतिखेर चौपट बनेको छ । कतिपय होटलहरु बन्द नै भएका छन् ।



     



    केशवबहादुर थेवे सरुवा भएर गएपछि गत भदौ ९ गते आएका सिलवालले आउने बित्तिकै होटललाई टार्गेट बनाए । एकपछि अर्को गरी बिर्तामोडका प्रायः सबै होटलहरुमा छापा मार्न लगाए । रेड एरियाको रुपमा कलङ्कित बिर्तामोड बसपार्कमा पहिलो धावा बोले । छापा मार्दा यौन क्रियाकलापमा संलग्न २२ जना समातिए । सिर्जना, एवान, जलगंगगा, न्यू ताप्लेजुङ, रोडसिटी लगायतका होटलबाट १६ जना यौनकर्मी युवती र ६ पुरुषलाई पक्राउ गर्न प्रहरी सफल बन्यो । सबैमाथि प्रहरीले सार्वजनिक मुद्दा दायर ग¥यो र पछि उनीहरु धरौटी तिरेर रिहा भए ।



     



    प्रहरीले बसपार्कका होटलमा छापा मारेर यौनधन्दामा संलग्नहरुलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन । प्रहरीले बेलाबखत गर्ने कारबाहीले यो पेशा निमिट्यान्न हुन सकेको छैन । केही दिन निश्क्रिय देखिने होटल व्यवसायीहरु पmेरि आफ्नो कालो धन्दामा जम्न थालिहाल्छन् ।



     



    बिर्तामोडका करिव ५० वटा होटलहरुमा यौनधन्दा हुने गरेको एक होटल व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताए । बसपार्कमा मात्र २०–२२ वटा होटलमा त्यस किसिमको यौन व्यवसाय हुने गरेको प्रहरीको अनुमान छ । कतिपयले आफ्नै होटलमा युवती राखेका छन् भने कतिपयले अर्को होटलबाट युवती मगाइदिएर ग्राहकलाई सेवा दिने गरेका छन् । होटलहरुमा यौनधन्दा राति भन्दा दिनदहाडै बढी चल्ने गरेको छ । थारै पैसा हुनेहरु दिनमा र रुम लिएर बस्न चाहनेहरु राति आउने गरेको ती होटल व्यवसायीले बताए । उनका अनुसार यौनसम्पर्कको रेट बनेको छ । एक सट अर्थात् एक पटक यौन सम्पर्क गर्दा एक हजार र होलनाइट अर्थात् रातभरि गर्दा ४ हजार रुपैयाँ ग्राहकले तिर्नुपर्छ । त्योसँगै बुकिङ गरेर ग्राहकले युवतीलाई बाहिर पनि लैजान पाउँछ । ‘त्यसका लागि ४ हजार ५ सय रुपैयाँ बुझाउनु पर्छ’, ती व्यवसायीले भने । एउटा ग्राहकबाट पाउने एक हजार रुपैयाँमध्ये आधा होटलवालालाई बुझाउनु पर्ने हुन्छ । त्यस्तै, राति बस्ने ग्राहकले तिर्ने चार हजारमा यौनकर्मी युवतीलाई २५ सय र १५ सय होटलवालाले पाउँछन् । खासगरी मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, रसुवा, सुनसरी लगायत जिल्लाका युवतीहरु त्यस्तो कार्यमा भेटिने गरेका छन् ।



     



    १६–१७ देखि २५ वर्ष उमेर समूहका युवतीहरु यौन व्यवसायमा संलग्न हुने गरेको पाइएको छ । ‘एकपटक पक्राउ परेका युवतीहरु फेरि फर्किएर आउँदैनन् । होटलवालाले सम्पर्क गरेर अर्को ठाउँबाट नयाँ युवती मगाउँछन्’, ती व्यवसायीले भने ।



     



    बिर्तामोड बसपार्कका अधिकांश होटलहरु युवतीकै कारण चलेका छन् । त्यहाँ युवती र पेय पदार्थ बाहेक अरु भेटिँदैन । ग्राहकले अर्डर गरे खानेकुरा बाहिरबाट मगाइन्छ । ती होटलहरुमा स्वदेशी भन्दा भारतीय ग्राहकहरु बढी आउने गरेका छन् । ‘भारतको कटिहारसम्मका ग्राहकहरु रात बस्नका लागि समूहमा आउँछन्’, ती ब्यबसायीले भने, ‘राम्रो आम्दानी उनीहरुबाटै हुन्छ ।’



     



    गत वर्ष यौन व्यवसायमा संलग्न १ सय ५६ जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । जसमा ७५ महिला र ८१ पुरुष थिए । पक्राउ पर्नेमा भारतीयहरु पनि रहेको प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले बताए । यौन अखडाको रुपमा बसपार्क क्षेत्र विकसित हुँदै गएको छ । राम्रो कमाइ भएपछि नयाँ होटलहरु थपिँदै गएका छन् । प्रहरीसँँग लाइन मिलाएर ती होटलहरु सञ्चालन भइरहेका छन् । यद्यपि, कहिलेकाहीँ देखावटी रुपमा छापा मार्ने गरिन्छ ।



     



    ‘इलाका प्रहरी कार्यालय बिर्तामोड र बसपार्क प्रहरी पोष्टसँग लाइन मिलाइएको छ’, ती व्यवसायीले कुरा खोले, ‘नयाँ अफिसर आएपछि केही दिन दुःख हुन्छ, पछि कुरा मिल्दै जान्छ ।’ बिर्तामोड प्रहरी कार्यालयबाट मोबाइल गस्ती हिँड्नु अगावै पूर्व जानकारी दिएर प्रहरी स्वयम्ले भगाउन सहयोग गर्ने गरेको समेत उनले खुलासा गरे । तर, अहिले प्रहरी भन्दा पनि यौनकर्मीहरु नै होटलवालाको लागि टाउको दुखाइ बनेका छन् ।



     



    जबर्जस्ती यौन ब्यबसायमा लगाएको र पारिश्रमिक पनि नदिएको भन्दै यौनकर्मी युवतीहरुले बिर्तामोडका होटल व्यवसायीमाथि उजुरी दिएका छन् । मानव बेचबिखन सम्बन्धी तीनवटा उजुरी परेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । उनले उजुरीकर्ता र दोषीहरुको नाम खुलाउन मानेनन्  ।



     



    पैसा, नशा र मोजमस्ती भएपछि संसार अर्कै हुन्छ । यौनकर्मी युवती र होटलवालाहरु त्यही रंगीन संसारमा रमाएका छन् । यौनधन्दामा नाम चलेकी, अनुहार र जीउडाल चटक्क परेकी काभ्रेकी रीता तामाङ (नाम परिवर्तन) को कमाइ लोभलाग्दो छ ।



     



    उनी महिनाको चार लाख कमाउने गरेको बताउँछिन् । रीताका अनुसार उनी दिनभरि २५–३० जना ग्राहकसँग बस्न भ्याउँछिन्, राति सधैँ बुकिङ हुने गर्छ । कहिल्यै खाली बस्न नपरेको उनले बताइन् । त्यसैगरी, काभ्रेकै विनिता तामाङ (नाम परिवर्तन) को पनि आम्दानी राम्रो छ ।



     



    ‘पढाइमा ध्यान गएन यस्तो पेशामा लागियो, कमाइ नगरी हुँदैन’, उनले भनिन् । यही पेशाले अधिकांशले परिवार पाल्ने गरेका छन् । यहाँसम्म ब्वाइफ्रेन्डलाई पनि आफ्नै कमाइले पाल्ने गरेको उनीहरुले सुनाए । धेरैजना रहरले यो पेशामा लागेको देखिन्छ । तर, सिन्धुपाल्चोककी १८ वर्षीया सानु तामाङ (नाम परिवर्तन) ले भने भूकम्पले सर्वस्व लगेपछि गुजाराका लागि बाध्य भएर यो पेशामा लागेको बताइन् । सानै उमेरमा यस्तो काममा लाग्दा सुरुसुरुमा पीडा भएको उनले अनुभव सुनाइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…