• अम्बिका भण्डारी
    झापा । मेची टाइम्सकी सुशीला सङ्ग्रौला झापाबाट प्रकाशित ९ वटामध्ये दैनिक पत्रिकामा कार्यरत एक मात्र महिला सम्पादक हुनुहुन्छ ।
    पत्रकारिता जस्तो चुनौतीपूर्ण पेशा रोजेकी सम्पादक सुशीलाले २०५८ मा विवेचना दैनिकको कम्प्यूटर अपरेटरबाट क्यारियर सुरु गर्नुभएको थियो ।
    निरन्तर मिहेनत र सङ्घर्षपछि उहाँले जनआन्दोलन साप्ताहिकमा विं.सं. २०६१ देखि ०६४ सम्म रिपोर्टरको रुपमा काम गर्नुभयो । विं.सं. २०६५ सालमा झापाको विर्तामोडमा अर्जुनधारा दैनिक पत्रिका सुरु भएपछि उहाँले त्यही पत्रिकामा सहसम्पादकको भूमिका निर्वाह गर्नुभयो । तर, २०७३ जेठमा सो पत्रिका बन्द भएपछि उहाँ मेची टाइम्सको सम्पादक हुनुभएको हो ।
    पछिल्लो समय महिला पत्रकारको सङ्ख्यामा बृद्धि भए पनि नेतृत्वदायी पदमा पहुँच थोरैको मात्र छ । जसमध्ये झापामा उहाँ इतिहास रच्न सफल हुनुभएको छ ।
    २०२८ सालमा मोरङको रङ्गेलीमा जन्मिएकी उहाँले थुप्रै सामाजिक सम्मान पाउनुभएको छ । पेशा र जिम्मेवारीप्रति सन्तुष्ट उहाँ भन्नहुन्छ–‘मिडियामा काम गर्नु आँफैमा ठूलो जिम्मेवारी बोक्नु हो, अरु महिलाहरु पनि यस्तै पदमा पुगुन् भन्न्ने चाहन्छु ।’ 
    एउटा रिपोर्टरको सपना भनेको सम्पादक बन्ने नै हुन्छ । उहाँले त्यो सपना हासिल गरिसक्नुभएको छ । तर उहाँले सुरुका सङ्घर्षमय दिनहरु भूल्नभएको छैन ।
    ‘महिलाले पत्रकार हुँ भन्दा पनि नपत्याउँला जस्तै गर्थे उबेला हाम्रै समाजका कतिपय मान्छेहरु’, उहाँ आफ्नो अनुभूति सुनाउहुन्छ–‘तर आज समय बदलिएको छ, पुरुष पत्रकारलाई जस्तै सम्मान गर्छन् महिलालाई पनि ।’ 
    सुशीलाको पत्रकारिता यात्रा विवाहपछि नै सुरु भएको हो । उहाँ पति देवीप्रसाद पोखरेलले नै यो पेशामा लाग्न हौसला र प्रेरणा दिनुभएको बताउनुहुन्छ ।
    उहाँका पति देवीप्रसादले शिक्षण पेशा छाडेर घर व्यवहार र खेतीपाती सम्हालेर सुशीलालाई पत्रकारितामा लागिरहन सहयोग गर्नु भएको छ । उहाँ भन्नुहुन्छ–‘सुशीलाको सफलता नै परिवारको सफलता हो, हामी खुशी छौ ।’
    पत्रकारिता पेशा अन्य पेशा भन्दा बढी नै चुनौतिपूर्ण हुने पेशा हो । पुरुषजस्तो स्वतन्त्र रुपले महिलाहरुले अहिले पनि काम गर्न सक्ने सुरक्षित वातावरण नभएको उहाँको बुझाई छ । 
    उहाँ भन्नुहुन्छ –‘महिलाको दोहोरो तेहेरो जिम्मेवारी हुन्छ । अहिले पनि घर व्यवहार जति महिलाले ठेक्का नै लिए जस्तो छ हाम्रो समाजमा । त्यसलाई व्यवस्थापन गरेर व्यावसायिक रुपमा पुरुषसरह फिल्डमा निस्केर प्रतिस्पर्धा गर्न समस्या छ ।’ 
    झापामा हाल जनसंसद, लोकतन्त्र पोस्ट, इजलास, विवचेना, प्रतिदिन, पूर्वाञ्चल, पूर्वसन्देश, झापा पोस्ट र मेची टाइम्स दैनिक सञ्चालनमा छन् ।
    ती मध्ये मेची टाइम्सकी सम्पादक सङ्ग्रौलालाई प्रायः विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिले आफूइतरको समाचार सम्प्रेणका लागि दबाब दिने गरेका छन् । तर, पत्रकारिताको मर्यादाभित्र रहेर सत्य र तथ्य समाचार मात्र सम्प्रेषण गर्ने गरेको उहाँको भनाई छ ।
    महिलाको राजनीतिक सहभागिता बढ्दै जाँदा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पनि महिलाले सम्हालिसकेका छन् । 
    ‘अब पत्रकारितामा पनि महिला कमजोर छैनन् भन्ने सन्देश दिन जरुरी छ’, नेपाल पत्रकार महासङ्घको जिल्ला कमिटीमा बसेर पत्रकारहरुको नेतृत्व समेत गरेको अनुभव सँगालेकी उहाँ भन्नुहुन्छ–‘पत्रकार महासङ्घ र प्रेस काउन्सिल जस्ता संस्थामा पनि महिलाले नेतृत्व पाउनु पर्छ ।’
    उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील आम सहकर्मीहरुलाई अझ मिहेनत, धैर्य र उत्साहपूर्वक निडर पत्रकारिताको मार्गमा अगाडि बढ्न आह्वान गर्नुहुन्छ । 
    नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीले सुशीलामा एउटा कुशल सम्पादकमा हुनु पर्ने सबै गुण रहेको बताउनुभयो । उहाँले पत्रकारिता जस्तो चुनौतियुक्त पेशामा पनि एउटा महिला पत्रकारले आफ्ना बैयक्ति समस्यालाई थाति राखेर पुरुषहरुसँगै प्रतिस्पर्धा गर्ने सुशीला निडर र साहसी भएको बताउनुभयो । 
    झापाली महिला पत्रकारहरुको संगठन नारी सञ्चार गृहकी उपाध्यक्ष भिमा शिवाकोटीले सुशीला झापाली पत्रकार महिलाका लागि प्रेरणाकी स्रोत रहेको बताउनुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…