• विराटनगर । चिरप्रतिद्वन्द्वी विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबले विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि सोमबार मैदानमा उत्रँदैछन् ।

    निरन्तरताको ३२ औं र विराट गोल्डकप नामाकरण भएपछिको पाँचौ संस्करणको उपाधि रक्षाका सहिद रंगशालामा दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् ।

    आर्मी सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा आउँदैछ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या ५ पु¥याउने दाउमा छ । झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको थियो । संकटालाई शनिबार ४–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै थ्रीस्टारले उपाधि होडमा आर्मीसँगको भेट पक्का गरेको हो ।

    दुबै टिमले उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही अनुसारको तयारी गरेको बताएका छन् । यो सिजनमा यी दुई टिमबीच चौथो पटक भेट हुँदैछ । तेस्रो पटकसम्मको स्पर्धामा आर्मी दुईवटा र थ्रीस्टारले एउटामा जित हात पारेको अवस्था छ । खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सीमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले थ्रीस्टारलाई आर्मीले स्तब्ध बनाएको थियो । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसँग टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित भएको थियो ।

    यो सिजनमा ११ वटा प्रतियोगितामा सहभागी भएकोमा ७ वटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो । उसले सिजनको विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभिट्टा, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ । १० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले ८ वटामा फाइनल पुगेपनि उपाधि भने इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको जितेको छ ।

    वर्षमा राम्रो प्रस्तुती दिइरहेको आर्मीका सामु थ्रीस्टारलाई जित निकाल्न भने त्यति सहज छैन । खेलमा फर्किएपछि तीन महिनाको समयमा राम्रो प्रगति गरेको थ्रीस्टारको चुनौती पन्छाउनु पनि आर्मीलाई चुनौतिपूर्ण छ ।

    आर्मीका प्रशिक्षक नविन न्यौपानेले उपाधि रक्षाका लागि उपयुक्त रणनीति तयार पारेर उत्कृष्ट प्रदर्शन गरिने बताए । न्यौपानेले मजवुत टिम भएकाले दुबै टिमबीचको प्रतिष्पर्धा ५०/५० को अवस्थामा रहने उल्लेख गरे । आर्मी भरत खवासको कप्तानीमा स्टार खेलाडी नवयुग श्रेष्ठ लगायतलाई लिएर मैदानमा जाँदैछ ।

    थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसँग यस अघि दुईवटा गोल्डकपमा बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा विराट गोल्डकपलाई लिएको बताए । आर्मीका पूर्व प्रशिक्षकसमेत रहेका उनले थ्रीस्टार विरुद्ध अवसरको सिर्जना गरेर चान्स पाउन साथ ‘क्लिक’ गर्ने रणनीति रहेको बताए । सुरुवाती गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने उनको बुझाइ छ । निराजन खड्काको कप्तानीमा मैदानमा जाने तयारीमा रहेको थ्रीस्टारका साथमा जापानीज खेलाडी ताकायु, स्टार खेलाडी विमल घर्तीमगर, बुद्ध चेम्जोङ र विदेशी खेलाडीहरु मार्टिन र पिटर लगायत छन् ।

    प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिंदै आएको छ ।

    म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले बताउनुभयो । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ । आयोजकले गोल्डकपमा सहभागि सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…