• विराटनगर । मोरङको उर्लाबारीका सनम शाक्यको हत्या र उनको हत्याको कारण मानिएको ३३.५ केजी सुन गायब प्रकरणमा केही सुन व्यपारीसहित तीन दर्जन व्यक्तिहरु अनुसन्धानमा तानिएका छन् ।

    सनमको हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ती रोक्का गरी अनुसन्धान थालेको प्रहरीले १७ जनालाई हिरासतमा लिइसकेको छ भने २१ जना फरार छन् ।

    सुन गायब पारेको भन्दै भरिया रहेका शाक्यको हत्या भएपछि गृहमन्त्रालयले सहसचिव इश्वर पौडेलको नेतृत्वमा छानविन टोली गठन गरेको छ । प्रहरी प्रधान कार्यालयको छुट्टै टोलीले पनि छानविन गरिरहेको छ ।

    सहसचिव पौडेल नेतृत्वको टोलीले सुन गायब पार्ने प्रकरणमा प्रहरी उच्च अधिकारीको पनि संलग्नता रहेको भन्दै महानगरिय प्रहरी परिसर प्रमुख दिवस लोहनीसहित उच्च प्रहरी अधिकारीलाई निलम्बनको सिफारिस यसअघि नै गरिसकेको छ । सिफारिस अनुसार लोहनी जिम्मेवारीबाट हटाएर प्रहरी हेडक्वार्टर तानिएका छन् ।

    छानविन टोली टोली पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पती रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको प्रहरी उच्च स्रोतले जनाएको छ ।उर्लाबारी मोरङ घर भएका शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

    दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन गायब पारेपछि तस्करीमा संलग्नहरुले सुन खोजी गर्ने क्रममा यातना दिँदा भरिया शाक्यको हत्या भएको थियो । सो घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका दुई जनाको प्रहरी हिरासतमै रहश्यमयी रुपमा मृत्यु भइसकेको छ ।

    प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियोे । अदालतले सोही दिन नै बैंक खाता र जग्गालगायत सबै सम्पती रोक्का गर्न अनुमति दिएको थियो ।

    को–को पक्राउ परे ?
    गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनाविरुद्ध अनुसन्धानकालागि म्याद थप गरिएको छ । त्यसबाहेकका अन्य २१ जनामाथि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रहरीको फरार सूचीमा ३३ किलो सुन आयात र सनन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् ।

    प्रहरीले नियन्त्रणमा लिइएका १७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ । अन्य २१ जनाविरुद्ध पनि सोही मुद्दामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले धरानबाट ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको छ । त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे पक्राउ परेका छन् ।
    जिल्ला अदालत मोरङबाट उनीहरुमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुनेगरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

    को–को फरार छन् ?
    सनमको हत्या आंशकामा खोजी सूचीमा रहेका चुडामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल उप्रेती, भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोबार रोक्न अदालतले अनुमति दिएको हो ।

    उनीहरु सबै धरान, इटहरी, विराटनगर र झापा निवासी हुन । तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिनेक्रममा भरिया सनम शाक्यको मृत्यु भएको प्रहरी अनुस्न्धानबाट खुलेको छ ।

    फागुन १९ गते सनमकोे शव राखिएको स्कारपियो गाडी विराटनगर–३ मा फेला परेको प्रहरीले बताउँदै आएको छ । तर, अनुसन्धानको क्रममा शव पनि नाटकीय रुपमा सार्वजनिक गरेको पाइएको स्रोतले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…