रीताकुमारी शाही
दैलेख । ‘एक बच्चाको भर्ना, मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ नारासहित थालिएको भर्ना अभियान सफल पार्न हिँडेका नारायण नगरपालिका–२ जाहारकोटका ५५ वर्षीय जयबहादुर सुनार आफै कक्षा १ मा भर्ना भए । उनलाई नारायण नगरपालिका–२ का वडा अध्यक्ष रेशमबहादुर थापाले खड्क प्राथमिक आधारभूत विद्यालयमा भर्ना गरेका हुन् ।
जयबहादुरका दाह्री र जुँगा फुलिसकेका छन् । कक्षा १ मा नाम लेखाइसकेपछि उनलाई जुँगा र दारी काटेर विद्यालय आउनुहोला भनेर शिक्षकहरूले सुझाव दिए । १ महीनाअघि उपचार गराउन कोहलपुर आएका उनले न अस्पतालको नाम चिन्न सके, न मोबाइल नम्बर डायल गर्न । अलपत्र परेपछि बल्ल सोचे– पढाइको निकै महŒव रहेछ । ‘नातिनीको नाम कक्षा १ मा लेखाउने तयारी भएको थियो,’ उनले भने, ‘आफू पनि नातिनीसँगै पढ्ने सोच बनाएँ र नाम लेखाएँ ।’
त्यसैगरी, नारायण नगरपालिका–२ मा रहेको जनता माध्यमिक विद्यालय कोटथाप्लामा निजी विद्यालयबाट आएका १५ जना र अन्तर–विद्यालयका ३६ जना गरी ५१ जनाले आइतवार नयाँ भर्ना गरेको विद्यालयका प्रधानाध्यापक रोशन सापकोटाले जानकारी दिए ।
जाहारकोटस्थित जनता प्राविका कक्षा ५ पास भएका २६ जना र खड्ग प्राविका कक्षा ५ पास भएका १० जना विद्यार्थीले जनता माविमा भर्ना गरेका हुन् । त्यस्तै, निजी विद्यालयमा पढ्दै आएका १५ जनाको पनि सरकारी विद्यालयमा नाम लेखाइएको छ । अभिभावक सहमत भएपछि सामुदायिक विद्यालयमा भर्ना अभियान सार्थक बनेको हो । अब पढाइ प्रभावकारी बनाउन र शिक्षकको नियमित उपस्थितिका लागि थप प्रयास गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाले बताए । यसअघि १ सय ९५ जना विद्यार्थी रहेको यो विद्यालयमा यो वर्ष भर्ना अभियानमार्फत ३ सय विद्यार्थी पुर्याउने लक्ष्य छ ।
नारायण नगरपालिका–२ वडा अध्यक्ष रेशम थापाले अन्यत्र विद्यालयबाट आउने विद्यार्थीलाई पोशाक किन्न सजिलो होस् भनेर १ हजार रुपैयाँ बोनस प्रदान गरिने र वडाभित्रका अभिभावकलाई १ वर्षको जग्गाको तिरो निःशुल्क गरिएको जानकारी दिए । जिल्लाभर अहिले भर्ना अभियानले तीव्रता पाएको छ । स्थानीय सरकार यो अभियानमा निकै सक्रिय भएर लागेकाले विद्यालयबाहिरका अधिकांश विद्यार्थी भर्ना हुने देखिएको जिल्ला शिक्षा अधिकारी विष्णु अधिकारीले बताए ।