देबु बानियाँ
काठमाडौँ । नेपाल जेसीजको आयोजनामा सम्पन्न एरिया प्रेसिडेन्ट मिटले देशभरका जेसीज शाखाहरुलाई थप उर्जा दिएर सम्पन्न भएको छ ।
शनिवार देशका ४ वटा एरियामा भएको एरिया प्रेसिडेन्ट मिटमा भएका छलफल र बहसले उनीहरुलाई उर्जा दिएको हो ।
छलफलको क्रममा शाखा व्यवस्थापन, शाखा सदस्यताको उत्प्रेरणा, नेपाल जेसीजका आगामी रणनीति, निकट भविष्यमा हुन लागेको एरिया कन्फ्रेन्स, जेसीजको वर्तमान अवस्था तथा आवि योजनाका विषयमा गहन छलफलसहित प्रेसिडेन्ट मिट सम्पन्न भएको थियो । छलफलको क्रममा शाखा अध्यक्षहरुले आफ्ना शाखामा भए गरेका गतिविधि तथा चुनौतीहरुलाई बैठकमा प्रस्तुत गरेका थिए । बैठकको क्रममा विषेश गरेर एरिया कन्फ्रेन्स र ४५ औँ राष्ट्रिय महाधिवेशनलाई कसरी भव्य र सव्य रुपमा सम्पन्न गर्ने भन्ने विषयमा धेरै छलफल गरिएको थियो । साथै बैठकको क्रममा नेपाल जेसीजको वर्तमान अवस्थामा शाखामा भएको गतिविधिको, जेसीआई नेपालको अपडेटलगायतका विषयमा समेत छलफल गरिएको थियो ।
नेपाल जेसीजको इतिहासमा पहिलो पटक एकै दिन र एउटै समयमा भएको प्रेसिडेन्ट मिटले अर्काे नयाँ आयाम थपेको छ । समयको व्यवस्थापन गर्न सकियो भने हरेक कार्यक्रम समयमा सम्पन्न हुन्छन् भन्ने पनि यस बैठकको सन्देश रहेको थियो । बिहान सबै एरियामा ९ बजे सुरु भएको बैठक ४ बजे सबै एरियामा सम्पन्न भएको थियो । सिंगो नेपाल जेसीजले सुरु गरेको यो अभियानले सम्बन्धित सबै शाखाहरुमा पनि लागु गर्नु पर्ने चुनौती समेत थपिएको छ । समाजिक क्षेत्रमा क्रियाशिल संस्था जेसीजले थालनी गरेको यो अभियानले निरन्तरता पाउने हो भने पक्कै पनि अन्य संस्थाहरुमा सकारात्मक प्रभाव पर्ने स्पष्ट देखिन्छ ।
नेपाल जेसीजका सबै राष्ट्रिय कार्यकारी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्षहरुको जिम्मेवारी बोध गराउने उदेश्यले उनीहरुको नेतृत्वमा प्रेसिडेन्ट मिट सम्पन्न भएको हो । जसका कारण आफ्नो एरियालाई सफल बनाउनका लागि सम्बन्धित एरयाका निरुपित उपाध्यक्ष र निरुपित कार्यकारी उपाध्यक्षले १५ दिन अघिदेखि निकै ठूलो कसरत गरेका थिए । जुन मेहेनत र उत्साहको प्रतिफल समेत उनीहरुले प्राप्त गरेका छन् ।
एरिया प्रेसिडेन्ट मिट सफलताका साथ निर्धारित समयमा सुरु गरेर समयमा सम्पन्न गरेकोमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । ‘म अत्यन्तै हर्षित छु’ अध्यक्ष बस्यालले भन्नु भयो–‘सबै राष्ट्रिय बोर्डका साथीहरु र सबै शाखा अध्यक्षहरुको मेहतनको प्रतिफल हो यो । यसले नेपाल जेसीजलाई पनि थप उचाइमा लैजाने छ ।’ शाखाहरुको प्रेसिडेन्ट मिट भएको अवस्थामा अध्यक्ष बस्याल भने आफ्नो गृह जिल्ला परासीमा रहनु भएको थियो ।
प्रेसिडेन्ट मिटमा नेपाल जेसीजका पूर्व अध्यक्ष, पूर्व कार्यकारी उपाध्यक्ष, वर्तमान कार्यकारी उपाध्यक्ष र उपाध्यक्षहरुले सहजीकरण गरेको थिए ।
प्रेसिडेन्ट मिट एरिया ‘ए’ को उदयपुर जेसीज गाइघाट, एरिया ‘बि’ को लेखनाथ जेसीज कास्की, एरिया ‘सि’ को थानकोट जेसीज काठमाडौँ र एरिया ‘डि’ को टिकापुर जेसीज कैलालीमा सम्पन्न भएको थियो ।
एरिया ‘ए’ को निरुपित कार्यकारी उपाध्यक्षमा विकास मानन्धर, एरिया ‘बि’ मा रश्मि शिल्पकार, एरिया ‘सि’ मा पदमविक्रम सिंह र एरिया ‘डि’ मा अशोक शंकर रहेका छन् । यसैगरी, एरिया ‘ए’ का निरुपित उपाध्यक्षहरुमा अमिस ढकाल, रश्मि निरौला र सुर्मिता शर्मा रहेका छन् । एरिया ‘बि’ को निरुपित उपाध्यक्षमा श्याम सुन्दर पौडेल, जनकराज घिमिरे र राजेन्द्र घिमिरे छन् । एरिया ‘सि’ को निरुपित उपाध्यक्षमा टेक राज रेग्मी, रविन पोखरेल र गोविन्दप्रसाद देवकोटा रहेका छन् । एरिया ‘डि’ को निरुपित उपाध्यक्षमा विजय गुरुङ, विजय घिमिरे र रञ्जना चापागाई खर्वुजा रहेका छन् ।
यसैगरी, एरिया ‘ए’ मा अमिस ढकाल, एरिया ‘बि’ मा को श्यामसुन्दर पौडेल, एरिया ‘सि’ को रविन पोखरेल र एरिया ‘डि’ को विजय घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सहभागि सबै १ सय ४४ वटा शाखा अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने सम्बन्धित आथित्य शाखालाई नेपाल जेसीजको तर्फबाट धन्यवादसहित मायाको चिनो प्रदान गरिएको थियो ।