• काठमाडौं, १७ वैशाख । गत फागुन ९ गते त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुनको बारेमा छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठन गरेको नौ सदस्यीय अधिकारसम्पन्न विशेष अनुसन्धान समितिले अनुसन्धान अन्तिम चरणमा पु-याएको छ ।

    सरकारलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा समिति पुगेको हो । उक्त सुनकाण्ड बाहिरिएपछि त्यससँग सम्बन्धित रहेका तीन जनाले आत्महत्या गरेको भनिएको छ । ती आत्महत्या हुन् कि हत्या हुन् भन्ने कुरा शंकाको गर्भमै रहेका छन् ।

    उक्त सुनकाण्डमा संलग्न रहेका गोरे भनिने चूडामणि उप्रेतीलगायतका केही व्यक्ति फरार रहेका छन् भने पूर्वडीआईजी गोविन्द निरौलालण्गायतका केही प्रहरी अधिकारीहरु पक्राउ परिसकेका छन् ।

    सो काण्डमा संलग्न रहेका बाजेको सेकुवाका चेतन भण्डारीलगायतका केही व्यक्ति अनुसन्धान समितिको निगरानीमा परेपछि विदेशिएका छन् । विशेष अनुसन्धान समितिले सो काण्डमा अन्य केही ठूला र प्रतिष्ठित व्यक्तिहरुलाई समेत निगरानी गरिरहेको समाचार स्रोतको दाबी छ ।

    विशेष अनुसन्धान समितिले उक्त सुनकाण्डमा दरबारमार्गको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गर्न प्रहरी परिचालन गर्नलागेको थाहा भएपछि राजेन्द्र शाक्य आफैँ प्रधानमन्त्री केपी ओली निवाससम्म पुगेका थिए ।

    उनलाई जोगाउन प्रधानमन्त्री ओलीलाई सोर्सफोर्स लगाउन त्यहाँ पुगेकामध्ये दुई जना २ नम्बर गेटबाट प्रधानमन्त्री निवासभित्र प्रवेश समेत गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नोे भेटघाट कक्षमा उनीहरु बसेको थाहा पाएपछि बाहिर सबै खाली गर्न सुरक्षा निकायलाई उक्त काण्डबाट उन्मुक्ति दिलाइदिन शाक्य परिवार बालुवाटार पुगेका थिए ।

    अन्जना शाक्यले सुनकाण्डमा समातिएका राजेन्द्र शाक्यलाई उम्काउन प्रधानमन्त्री ओलीलाई भनसुन गराउन बालुवाटारमा शाक्यजमात पु-याउन जसरी प्रयास गरेकी थिइन्, अन्य दुई जनाले त्यसैगरी असफल प्रयास गरेका थिए । ती दुईमध्ये एक थिए दिनेशलाल श्रेष्ठ (हनी) ।

    तर प्रधानमन्त्री ओलीले उनीहरुका कुरा सुन्न चाहेनन् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भन्दा बढी अधिकार दिएर विशेष अनुसन्धान समिति गठन गरेका थिए ।

    यथार्थमा गृहमन्त्री रामबहादुर थापा बादलले पनि नेपालमा हुने सुन तस्करीलाई रोक्न निर्देशन दिएपछि शाक्यलाई पक्राउ नगर्न प्रधानमन्त्री ओलीसमक्ष हारगुहार गर्न पुगेका शाक्य समर्थकहरु बालुवाटारको ढोकाबाहिर पुगेका थिए ।

    त्यसपछि प्रधानमन्त्री ओलीले सबै सुरक्षा निकायलाई बोलाएर गेटपासको दुरुपयोग रोक्न र अपराधीका मतियारहरुलाई भित्र छिर्न नदिन निर्देशन दिएका थिए । राजेन्द्र शाक्यलाई पक्राउ नगर्न प्रधानमन्त्री ओलीलाई दबाब दिन शाक्यहरुलाई बालुवाटार छिराउने काम अन्जना शाक्यले गरेकी थिइन् ।

    प्रधानमन्त्री ओलीका ससुराली शाक्य हुन् । त्यही कारण शाक्य परिवारले सो काण्डबाट उन्मुक्ति दिन आग्रह गरेका थिए । स्मरण रहोस् दिनेशलाल श्रेष्ठ (हनी) प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा उपचार गर्न लैजाने ल्याउने व्यक्ति हुन् भने श्रेष्ठ थाइल्याण्डको अस्पतालका नेपाली दलाल समेत हुन् ।

    गृहमन्त्री थापाले सुन तस्करीलाई राम्रोसँग अनुसन्धान गर्न चाहन्थे । यस अर्थमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको स्वार्थ मिलेको थियो । त्यही कारण विशेष अनुसन्धान समिति बनाएको थियो ।

    उक्त समितिले गरेको अनुसन्धान नेपालमा हुने सुन तस्करीको एउटा महत्वपूर्ण अनुसन्धान हुनेछ । त्यो सधैँका लागि एउटा ठोस कार्यदिशा बन्ने विश्वास गरिएको छ । सुनकाण्डको अनुसन्धान ओली सरकारको पहिलो उल्लेखनीय कार्य हुनेछ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…