• उर्लाबारी , असोज ५ गते । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदाका दिन आज घरडेराका साथै फौजी कोतघरमा घट कलश स्थापना गरी देवीदेवता आह्वान गरेर जमरा राखी घटस्थापना गरिँदैछ । बिहानै आत्मा र शरीर शुद्धिसहित लिपपोत गरेर चोखो पार्ने र बालुवा वा शुद्ध माटोमा जौ, गहुँ र मकै छरेर सोही स्थानमा जमरा राख्ने प्रचलन छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ९ः४१ बजे घटस्थापनाका लागि अति उत्तम साइत भनेको छ ।
    शास्त्रमा जमरालाई समृद्धिको प्रतीक र आयुर्वेदमा पौष्टिक वनस्पति मानिएको छ । देवीलाई मन पर्ने बालीका रूपमा जमराका जौ, मकै र गहुँलाई मानिएको छ ।
    असत्यमाथि सत्यको विजय र आसुरीमाथि दैवी शक्तिको विजयस्वरूप घटस्थापनादेखि नौ दिनसम्म जमरा राखिएको स्थान वा देवपीठमा दुर्गा सप्तसती चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ । यो नौ दिन घटस्थापनाका दिन शैलीपुत्री, अर्को दिन ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदातृका रूपमा देवी भगवतीको आराधना गरिन्छ ।
    घटस्थापनाका दिन घट कलश स्थापना गर्ने र जमरा राख्ने दुई कार्यलाई मुख्य रूपमा रहने गरेको छ । हनुमानढोका दरबारस्थित सरकारी दसैँघरमा पनि बिहान ९ः४१ बजेको साइतमा घटस्थापना गरेर जमरा राखिँदैछ । दसैँघरमा महालक्ष्मी, महाकाली र महासरस्वतीको समेत आराधना गरेर राखिएको जमरा र टीका बडादसैँका दिन सर्वसाधारणलाई पनि वितरण गर्ने व्यवस्था गरिएको छ ।
    घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमा भनिने आश्विन शुक्ल पूर्णिमासम्मको पन्ध्र दिन बडादसैँ देशभर धूमधामसँग मनाउने गरिन्छ । दसैँलाई दसहरा भन्ने गरिन्छ ।
    पशुपतिनाथका लागि अमालकोट कचहरी कार्यालयको देवघरमा घटस्थापना गरेर जमरा राखिँदैछ । अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले अमालका तर्फबाट बिहीबार राजराजेश्वरीस्थित नवदुर्गामा घटस्थापनासहित जमरा राख्दै हुनुहुन्छ । उहाँका अनुसार आफन्त नभएका अवलालाई पनि टीका प्रसाद हुने गरी यहाँ घटस्थापना गर्ने चलन छ ।
    उपत्यकाका विश्व सम्पदामा परेका पाटन दरबार, भक्तपुर दरबारमा रहेका तुलजा भवानीमा पनि यसै साइतमा घटस्थापना गरिँदैछ ।

    गुह्येश्वरी, नालाको उग्रचण्डी, पाटन पुल्चोकको तमक द्यः, पूर्णचण्डी, बगलामुखी, दक्षिणकाली, भक्तपुरको ब्रह्मायणी र नवदुर्गा, मैतीदेवी, नक्साल भगवती, पुरानो नैकापको कङ्कालीमाई, कलङ्की, नरदेवी, रक्तकाली, कङ्केश्वरी, पशुपतिको झङ्केश्वरी, भुवनेश्वरी, वनकाली र बाराको गढीमाई, हनुमानढोका दरबार क्षेत्रको कडेल्चोक भगवती, दन्तकाली, हेटौँडाको भुटनदेवी, छिन्नमस्ता लगायतका मुलुकका सबै देवपीठमा यसै दिनदेखि नवरात्र मेला सुरु हुन्छ ।
    हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख अरुणा नकर्मीका अनुसार महानवमीका दिन बिहान तलेजुको सरकारी पूजा सकिएपछि सर्वसाधारणलाई सधैँझैँ अर्चनाका लागि मन्दिर खुला हुनेछ । अड्डाका कर्मचारीद्वय मिठाराम पुडासैनी र चन्द्रप्रसाद पराजुलीलाई घटस्थापना, फूलपाती, कालरात्रि र टीकाको दिन सर्वसाधारणसँग समन्वयका लागि खटाइएको छ ।
    भक्तपुरकी एकान्त कुमारी, पाटनकी गण कुमारी र काठमाडौँकी जीवित देवी श्रीकुमारीको घरमा पनि घटस्थापना गरिँदैछ । यहाँ राखिएको घट कलशको जल, जमरा र टीका बडादसैँका दिन सर्वसाधारणले पनि लगाउन पाउने व्यवस्था छ ।
    श्रीकुमारीले गोदान गरेपछि नानिचा भनिने काठमाडौँको श्रीकुमारी रथयात्राको अन्तिम दिन राष्ट्रप्रमुखबाट कुमारीको टीका प्रसाद लगाउनुभएपछि यो बेला सोह्रश्राद्धको समय परेको भए पनि दसैँका लागि टीका खुलेको यहाँ मानिँदै आएको छ । यसै खुसियालीको सन्दर्भमा आज बडादसैँको खुसीको लहरसहित घटस्थापना गरिँदैछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…