• ५ असोज, काठमाडौं ।

    दुई दिनअघि गोरखामा आयोजित पत्रकार सम्मलेनमा माओवादी अध्यक्ष प्रचण्डले आगामी चुनावमा बाबुराम भट्टराईको नयाँशक्ति तालमेल नहुने घोषणा गरिरहँदा अर्का नेता नारयणकाजी श्रेष्ठ प्रचण्डकै साथमा थिए ।

    बाबुरामसँग चुनावी तालमेल नगर्ने प्रचण्डको घोषणाले गोरखाको क्षेत्र नम्बर २ तर्फ संकेत गरेको छ, जहाँ एउटै चुनाव क्षेत्रबाट डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भिड्ने तयारीमा छन् ।

    बाबुराम र नारायणकाजी एउटै चुनाव क्षेत्रमा प्रतिस्पर्धा गरेको खण्डमा के पक्कापक्की हुनेछ भने बाबुराम र नारायणकाजीमध्ये एकजनाले प्रतिनिधिसभामा आउन बञ्चित हुनुपर्नेछ । किनभने, नयाँ संविधान र कानून अनुसार प्रतिनिधिभाको चुनावमा एक व्यक्तिले एउटा मात्रै चुनाव क्षेत्रमा लड्नुपर्ने छ । विगतमा जसरी दुईवटा चुनाव क्षेत्र रोज्ने सुविधा नेताहरुले पाउने छैनन् ।

    बाबुराम र नारायणकाजी दुबैको गृहजिल्ला

    गत स्थानीय चुनावमा माओवादी केन्द्रले धेरै आश गरेको जिल्ला थियो- गोरखा । तर, माओवादी र नयाँ शक्तिको भिडन्तको बीचबाट नेपाली कांग्रेस उदायो ।

    गोरखा जिल्लाका ९ स्थानीय तहमध्ये ७ वटामा कांग्रेस विजयी भयो भने ‘क्लिन स्वीप’ को दाबी गरेको माओवादीले दुई गाउँपालिकामा चित्त बुझायो । बाबुरामको गृहजिल्ला भएता पनि नयाँ शक्ति पार्टीले गोरखामा एउटा स्थानीय तह पनि जितेन ।

    तथापि आफूले नजिते पनि नयाँ शक्तिले माओवादीलाई हराउनेमा भने सफलता पायो ।

    अब प्रदेश र संसदको चुनावमा पनि गोरखामा माओवादी र नयाँ शक्तिकै टक्कर हुने देखिएको छ । यो टक्करमा बरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ आफैं चुनावी मैदानमा उत्रने तयारीमा लागेपछि गोरखाको चुनाव थप रोचक हुने देखिएको छ ।

    नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । सविधानसभाको दुई चुनावमा जितेको. र आफ्नो जन्मथलो पनि भएकाले भट्टराईले फेरि पनि गोरखा २ लाई नै रोजेका हुन् ।

    तर, भट्टराईले आफ्नै पूर्वसहकर्मी नारायणकाजी श्रेष्ठ प्रकाशसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने छ । माओवादी नेता श्रेष्ठले प्रतिनिधिसभामा गोरखा २ बाटै चुनाव लड्ने मुड बनाएका छन् । श्रेष्ठको जन्मस्थल पनि गोरखा- २ मै पर्छ ।

    पहिलो संविधानसभामा श्रेष्ठ समानुपातिकमा बसेका थिए । दोस्रो संविधानसभामा डा. भट्टराई गोरखा २ बाटै लडेपछि श्रेष्ठ आफ्नो गृहजिल्ला छाडेर मकवानपुर आएका थिए । तर, मकवानपुरमा उनी पराजित भए भने डा. भट्टराईले चाहिँ गोरखाबाट चुनाव जिते ।

    डा. भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी बनाएपछि दुई नेताबीच गोरखामा प्रतिष्ठाको लडाइँ चल्दै आएको छ । त्यो लडाइँ स्थानीय चुनावमा प्रष्टै देखिन्थ्यो । अब यसको ‘क्लाइमेक्स’ संसदको चुनाव हुने देखिन्छ ।

    यसैसाता श्रेष्ठ पार्टी अध्यक्ष प्रचण्ड, रामबहादुर थापा वादल, देव गुरुङ, देवेन्द्र पौडेल लगायतका नेताहरुलाई लिएर गोरखा पुगेका थिए । सोही कार्यक्रममा प्रचण्डले बाबुरामका लागि गोरखा २ छाड्न नसक्ने बताएका हुन् ।

    दुबै नेतालाई डर !

    स्थानीय चुनावमा खसेको मतका आधारमा विश्लेषण गर्दा गोरखा क्षेत्र नम्बर २ मा नयाँशक्तिको भन्दा माओवादी केन्द्रको नै बढी मत देखिन्छ । तर, बाबुराम भट्टराई नै चुनाव लड्ने भएपछि उनले व्यक्तिगत भोटसमेत तान्ने सम्भावना हुन्छ ।

    तर, राष्ट्रिय राजनीतिमा अहम भूमिका खेल्दै आएका पूर्वउपप्रधानमन्त्री नारायणकाजी नै चुनाव लड्न गइसकेपछि उनले पार्टीको संस्थागत भोटका साथै व्यक्तिगत भोटसमेत तान्न सक्ने अनुमान लगाउन सकिन्छ ।

    यो स्थितिमा एउटै चुनाव क्षेत्रमा भिड्नु भट्टराई र श्रेष्ठ दुबैका लागि जोखिमपूर्ण छ ।

    माओवादी केन्द्रले डा. भट्टराईलाई कम आँकेर श्रेष्ठलाई त्यहाँ पठाएको अवस्थामा उनीहरुले डा. भट्टराईलाई हराउन त सक्लान् तर स्थानीय चुनावमा जस्तै दुबै पार्टी हारेर कांग्रेसले बाजी मार्ने अर्को सम्भावना हुनेछ ।

    विगत स्थानी चुनावको अुनभव हेर्दा बाबुराम र नारायणकाजीले एक अर्कालाई जित्न नसके पनि एकअर्कालाई हराउन सक्ने सम्भावना बलियो देखिन्छ ।

    उसो त यही हार्ने/हराउने डरकै कारण दुई नेताले गोरखा २ मा एकअर्कालाई छाडिदिए हुन्थ्यो भन्न नचाहेका होइनन् । तर, कोही पछि हट्ने पक्षमा छैनन् ।

    स्रोतका अनुसार डा. भट्टराईले अनौपचारिक रुपमा गोरखा २ मा आफू लड्ने भन्दै श्रेष्ठलाई नलड्न आग्रह गर्दै आएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ यो पटक प्रत्यक्ष चुनाव लडेरै छाड्ने मुडमा देखिएका छन् । यसका लागि उनको भूमि गोरखा- २ नै हो ।

    तर, माओवादी नेताहरुले डा. भट्टराईलाई १७ हजार मत पाएको पार्टीले ७ हजारलाई छाड्न नसकिने जवाफ दिँदै आएका छन् ।

    स्थानीय चुनावको मतको हिसाव गर्दा गोरखा २ मा माओवादी केन्द्रको मत १७ हजार देखिएको छ भने नयाँ शक्तिको करिव ७ हजार मत छ । यो क्षेत्रको माथिल्लो बेल्टमा आफ्नो बलियो पकड रहेको र पालुङटार नगरपालिका सहितका तल्लो बेल्टमा पनि दुई पार्टीको कडा प्रतिस्पर्धा रहेको माओवादी केन्द्रको विश्लेषण छ । पालुङटार क्षेत्रमा बाबुरामको प्रभाव राम्रो रहेको नयाँशक्तिको दाबी छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …