• उर्लाबारी–मधुमल्ला–तोरीबारी–रवि सडक खण्डअन्तरगत सिस्नेरीसम्म पहिलोपटक सवारी साधन पुगेको छ । इलाम र मोरङको सीमामा पर्ने यलम्बर चौंकबाट ६ किलोमिटरमा पर्ने सिस्नेरीमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, नेपाली कांग्रेसका महासमिति सदस्य ललित अधिकारी, सडक निर्माण समितिका अध्यक्ष लक्ष्मण चेम्जोङ, किरातेश्वर कन्ट्रक्सन कम्पनीका राम वान्तवा राईसहितको टोली सवारी लिएर सिस्नेरी पुगेको हो । ३२.५ किलोमिटर दुरीमा रहेको सडक मर्मतका लागि मेयर फागोले सहयोग गरेसँगै सवारीसाधन सञ्चालनमा सहज बनेको सडक निर्माण समितिका अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो ।



    ‘हामीले दसैंमा नै सवारी सञ्चालनका लागि मेयर (खड्ग फागो) सँग अनुरोध गर्यौं’, चेम्जोङले भन्नुभयो, ‘उहाँको सहयोगबाट नै दसैंमा सवारी चलाउन सम्भव भएको छ ।’ मंगलबार बिहान सडक अनुगमन गर्दै पुगेको मेयर फागोसहितको टोलीलाई सिस्नेरीमा स्थानीयले स्वागत गरेका थिए । उनीहरू घर आँगनमा नै सवारीसाधन आइपुगेपछि हर्षित बनेका थिए । चुलाचुली गाउँपालिका–६ की सविता तामाङ गोलेले तराई झर्न करिब दुई घण्टाको पैदल यात्राको बाध्यता अब हटेर गएको भन्दै खुशी व्यक्त गर्नुभयो । यस्तै, सडक निर्माण समितिका सचिवसमेत रहेका बिक्रम राईले वर्षाैदेखि सडक सञ्जालसँग नजोडिएको गाउँमा सवारी साधन पुगेसँगै दिनचर्या सहज हुने बताउनु भयो ।

    ‘विगतमा नाम्लो बोकेर खाद्यान्नलगायत सामग्री ल्याउनुपथ्र्यो’ उहाँले भन्नुभयो, ‘अब भने सवारीसाधनबाट सहजै ल्याउन सकिन्छ ।’ हाल सिस्नेरीदेखि पाखागाउँसम्म ७ किलोमिटर सडक निर्माणको काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार छालासुकुवामा ग्रेड भएमा सहज ढंगले सिस्नेरीबाट पाखागाउँसम्म मोटरसाइकल चलाउन सकिने छ । सडकमा एउटा पनि पुल प्रयोग नगरी तराईबाट पूर्वी पहाड छोटो दुरीमा सहजै पुग्न सकिने निर्माण समितिका अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो ।



    उहाँका अनुसार सडक निर्माणका लागि हाल ६ करोड बिनियोजन भएको र ठेक्कासमेत लागिसकेको छ । पूर्वी पहाड र पूर्वी मोरङको समृद्धिसँग जोडिएको सडकलाई पूर्णता दिनका लागि पहल थाल्ने नेपाली कांग्रेसका नेता ललित अधिकारीले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सडक निर्माणका लागि पहल गर्ने तथा आवश्यकीय सहयोग पनि गर्ने जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …