• रूपेन्द्र शेर्मा

    उर्लाबारी, ४ असार । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लु खोला च्यानलाइजको बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले ल्याएको विवाद प्रति खोला प्रभावित क्षेत्रका वासिन्दाले असन्तुष्टी व्यक्त गरेका छन् । सोल्टी र मिक्लु खोला आसपासका बासिन्दाले खोला च्यानलाइजबाट आफूहरुलाई फाइदा भएको बताएका छन् । आइतबार स्थलगत रिर्पोटिङमा गएका सञ्चारकर्मीहरुसँग खोलामा च्यानलाइज भएपछि उत्पन्न राजनीतिक विवाद प्रति उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उर्लाबारी–४ का रमेश मोक्तानले खोला च्यानलाइजबाट खोला सहि मार्गबाट बगेकाले धेरै राम्रो भएको प्रतिक्रिया दिए । चारैतिर छरिएर बगिरहेको खोला च्यानलाइजपछि खोला नियन्त्रित भएर बगेकाले स्थानीय वासिन्दा सुरक्षित भएको उनले बताए ।

    स्थानीय थापा डाँगीका राजन थापाले च्यानलाइजपछि खोला नियन्त्रणमा आएको बताए । उनले विगतमा खोलाको सतह उच्च भएकाले जताभावी छरिएर पानी बग्ने गरेकोमा खोला च्यानलाइजपछि नियन्त्रित र कम जोखिम भएको बताए । स्थानीय काजिलाल तिम्सिनाले खोला च्यानलाइजपछि खेतियोग्य जमिन सुरक्षित भएको बताए । तर, यस कार्यमा भएको राजनीतिक विवाद प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

    उर्लाबारी नगरकार्यपालिकाको बैठकको निर्णय बमोजिम उर्लाबारी नगरपालिका वडा नं.१ र ४ मा पर्ने सोल्टी खोलामा करिब डेढ किलोमिटर स्थानमा च्यानलाइज गरिएको थियो । खेतीयोग्य जमिनको भन्दा खोलाको सतह उच्च भएकाले जोखिम कम गर्न नगरपालिकाले खोला च्यानलाइज गरेको हो । तर, च्यानलाइज गरिएको बालुवा गिट्टी अन्यत्र निकासी गरिएको आरोप लगाउँदैै कम्युनिष्ट पार्टीका केही नेताहरुको अगुवाईमा विवाद चर्काइएको थियो । च्यानलाइज पश्चात् त्यहाँका बालुवा र गिट्टी उर्लाबारी नगरपालिकाको बिभिन्न स्थानमा रहेका सडक ग्राभेल तथा कालोपत्रेका लागि प्रयोग गरिएको नगर प्रमुख खड्ग फागोले बताए । स्थलगत रिपोर्टिङका क्रममा उर्लाबारी नगरपालिका वडा नंं.३,४, ५ र ६ का बिभिन्न सडक स्तरोन्नतीका लागि च्यानलाइज पश्चात् थुप्रिएका बालुवा र गिट्टी प्रयोग गरिएको पाइएको छ ।

    त्यसैगरी उर्लाबारी नगरपालिका वडा नं.१ मा रहेको मिक्लु खोलामा पनि करिब तीन सय मिटर च्यानलाइज गरिएको छ । कम्युनिष्ट पार्टीले विवाद चर्काएपछि प्रदेश सरकारको निर्देशनमा मोरङका प्रमुख जिल्ला अधिकारीले च्यानलाइज रोकेको थियो । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा च्यानलाइज रोकिएपछि मिक्लु खोलाको क्षति न्युनिकरण गर्न मुश्किल परेको छ । च्यानलाइज बीचैमा रोकिएपछि खोलाको सम्भावित जोखिमका कारण स्थानीय वासिन्दा त्रसित छन् । उर्लाबारी–१ कत्लेका विशाल तामाङले च्यानलाइज रोकिएपछि स्थानीय वासिन्दा खोलाको जोखिमबाट मुक्त हुन नसकेको गुनासो गरे ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…