• देबु बानियाँ, झापा ।
    मानवीय जीवनको यात्रामा हरेक मान्छेको इच्छा, अपेक्षा र अभियान फरक फरक हुन स्वभाविक छ । कसैले व्यक्तिगत सोखको लागि कार्य गर्छन । कसैले समाजको लागि गर्छन भने कसैले प्रकृति बचाउ अभियानका अभियान्ता बन्छन् । यीनै अभियान्ता मध्ये मेचीनगर–६ काँकरभिट्टाका देवेन्द्र खरेल प्रकृति बचाउ अभिायानका एक अभियान्ता हुन् । उनी पेशाले फोटो ग्राफर हुन् । विगत ९ वर्षदेखि काँकरभिट्टामा इष्ट पोइन्ट भिडियो एण्ड फोटोग्राफर स्टुडियो सञ्चालन गरेर व्यवसायिक फोटो ग्राफरको काम गर्दै आएका छन् । तर, पछिल्लो समय उनी प्रकृति प्रेमी बन्न थालेका छन् । अहिले उनको थप परिचय बन्दैछ । त्यो हो ‘चरा पहिचान अभियान्ता ।’
    ‘प्रकृति बचाए चरा बाँच्छन, चरा बाँचे प्रकृति बाँच्छ’ भन्ने मान्यतालाई आत्मासाथ गर्दै उनी निरन्तर विभिन्न प्रजातिका चराहरुको खोजी गरेर आफ्नो क्यामारामा कैद गर्दै आएका छन् । ३ वर्षदेखि नेपाली भूमि र आकाशमा रमाइ रहेका चराहरुको खोजीमा निरन्तर आफ्ना दैनिकी बिताइरहेका छन् उनी । आफ्नो व्यवसायबाट बचेको समयलाई सम्भावित अध्ययनको रुपमा विभिन्न क्षेत्रमा गएर चराहरुको तस्विर क्यामारामा कैद गरेको करिब ३ वर्ष बित्यो । यहि अभियानको दौरानमा खरेलले हालसम्म २ सय ५० भन्दा बढी विभिन्न प्रजातिका चराहरुको फोटो आफ्नो क्यामारामा कैद गरिसकेका छन । यसो त उनले नेपाली भूमिमा पाइने ८ सय ६६ चराहरुको नाम समेत संकलन गरेका छन् । जसको निरन्तर खोजी गर्ने बताउँछन् ।
    उनले आफ्नो क्यामरामा कैद गरेका चराहरुको पहिचान उनले गुगलको माध्यमबाट पत्ता लगाउने गरेका छन् । साथै स्थानीय स्तरमा भेटिएका चराहरुको पहिचानका लागि स्थानीय जानकारहरुलाई उनले तस्विर देखाउँछन् र उक्त चराको नाम जुर्छ । पेशानै फोटो ग्राफर भएपछि उनी फोटो खिच्न माहिर र सोखिन छन् । उनका धेरै सोखहरु मध्ये पहिलो प्राथमिकतामा विभिन्न कोणबाट आकर्षक तस्विर खिच्ने रहेको छ ।
    उनी चराहरुको तस्विर संकलनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । नेपालमै लोप हुन लागेको गिद्धको तस्विर खिच्न उनी पाल्पा पुगे । सुनसरीको कोशी टप्पुमा पुगेर जंगली हाँसको तस्विर खिच्न भ्याए । कपिलवस्तुको जगदिसपुर तालबाट सारसको फोटो खिचेर ल्याए । इलाम, पाँचथर, ताप्लेजुङ्ग र भोजपुरसम्म पुगेर पूर्वी नेपालमा पाइने विभिन्न प्रजातिका चराहरुको तस्विर संकलन गरे । बाटोमा सिहड्दै गर्दा कहिँ चरा देखि हाले भने मोटरसाइकल स्टेण्ड लगाउँछन् र आफ्नो क्यामराको लेन्स चरातर्फ तेर्साउँछन् ।
    विशेष गरेर चराहरु हरियो बोटविरुवामा बसोबास गर्न रुचाउँछन् । त्यसैले खरेलको चराको तस्विर खिच्ने समयको ड्रेस पनि चराहरुले नै रुचाएको रंगको छ । उनी हरियै ड्रेसअपमा चराहरुको तस्विर कैद गर्छन् । जसले गर्दा हरियो ड्रेसबाट चराहरु तर्सिएर उड्दैनन् र सहजै चराको नजिक हुन पाउँछन् ।
    उनले चलाउने क्यामारा पनि सामान्य छैन । १ सय ५० एमएम देखि ६ सय एमएमको लेन्स छ । जसमा क्यानोन कम्पनीको डिएसलआर ८० डि क्यामारा प्रयोग हुन्छ । यसको मूल्य २ लाख ५० हजार रहेको छ । जुन उनले यहि प्रयोजनका लागि खरिद गरेका हुन् ।
    प्रकृतिप्रेमी खरेल यो अभियानमा आफुलाई समर्पित गर्दै गर्दा उनले कहिले काँही देख्ने दृष्यबाट दुःखी बन्छन् । उनी भन्छन्–‘बाँच्ने अधिकार सबैलाई छ । त्यस अनुरुप चराहरुलाई पनि छ । तर, समाजका केही व्यक्तिहरु बुझेर वा नबुझेर ती चराहरुको सिकार गर्न गुलेली, तीर र लाइसेन्स प्राप्त हतियारको प्रयोग गरेर मारी रहेका छन् । यो कहालीलाग्दो अवस्था अन्त्य गर्न आम नागरिकलाई प्रकृतिप्रतिको माया, ममता र ज्ञानको अभाव भएको महसुस गरेको छु ।’ उनी चराको सिकार गर्ने जो कोहीदेखी दुःखीत हुन्छन् । भारतबाट आउने व्यधा तथा नेपालमा गुलेली बोक्ने मान्छेले चराहरुको नष्ट गर्ने गरेको बताउँछन् ।
    उनी प्रकृति प्रेमी हुन् । फूल, पुतली र चराको संयोजनले मानवीय जीवनलाई लोभ्याउँछ । जहाँ चराको बास हुन्छ, त्यहाँ मानव बसोबासको उद्यम थलोको रुपमा लिन सकिने खरेलको बुझाइ छ । खरेल भन्छन्–‘प्राकृतिक सौन्र्दय विनाको सांसरिक सुख उपभोग गर्छु भन्नु असम्भव छ ।’
    उनले खिचेका थुपै्र तस्विरहरु मध्ये लोपोन्मुख प्रजातिको राजधनेश चराको तस्विर समेत कैद गर्न सफल भएका छन् । जो संसारबाट लोप हुँदैछ । त्यसमा पनि उनले यो चराको ३ वटा प्रजाति सानो राजधनेश, कालो राजधनेश र राजधनेशको फोटो खिचेका छन् ।

    ‘पर्यटन प्रर्वद्धनको लागि विभिन्न प्रजातिका चराहरुको अवलोकन पनि
    नेपाली भूमि हव हुन सक्छ’ जीवनको ४३ वसन्तको दौरानमा पुगेका खरेल भन्छन्– ‘सम्भावना नै सम्भावना छ । तर, त्यसको पहिचान, संरक्षण, व्यवस्थापन र प्रचार प्रसारमा महत्वपूर्ण भूमिका कम छ । यसमा व्यक्तिबाट मात्र सम्भव छैन मैले त अभियान सुरु गरेको हँु । यो अभियान खर्चिलो पनि छ । हामी नेपाली प्रकृति प्रेमी छौँ । तर, यसको महत्व बुझ्न सकेका छैनौँ । संसारले हाम्रो देशको प्रकृतिको दृष्यले लोभ्याइरहेको छ । संसारका कुना कुनाबाट मेरो देश अनि हाम्रो देशलाई नियाली रहेका छन् । तर हामी सुनलाई नुनको दर्जा दिइरहेका छौँ ।’

    उनी आफ्नो अभियानको क्रममा ३ तहका चराहरुको खोजी गर्ने गरेका छन् । जसमा हिमाली भेगमा मात्र पाइने, पानी तथा जमिनमा पाइने र जुनसुकै क्षेत्रमा पाइने चराहरु उनको खोजीको सूचिमा पर्छन् । चिलिमकोटे, भुँडीफोर, हरियो लामपुच्छे्र, चिचिलकोटे जस्ता नामका सयौँँ चराहरुको पहिचान गरिसकेका छन् ।






























































सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …