तेजन खड्का
उर्लाबारी । दशैंको अबसरमा आयोजना हुने मेलाहरुमा झापा मोरङमा बसोबास गर्ने सन्थाल जातिहरुले विगत बर्ष झै यस वर्षपनि परम्परागत जातिय नृत्य प्रस्तुत गर्ने भएका छन् । बाढीबाट बिस्थापित भएपनि आफ्नो कला संस्कृति जोगाउन उनीहरु आज प्रस्तुत हुँदैछन् ।
आज टिकाको दिन उर्लाबारी—९ दुर्गापुरी बजारमा सन्थाल मेला लाग्ने गर्दछ । भने भोली आम्बारीमा पनि भब्य मेला लाग्छ ।
जहाँ उनीहरु नाँचगान गरेर मेला भब्य तथा आकर्षक बनाउने गर्छन् ।
बाढीबाट बिस्थापित भएर छिमेकी तथा स्कुलमा सरण लिएपनि हामी हाम्रो कला सस्कृति जोगाउन सक्रिय हुँनेछौ, उर्लाबारी—८ बगरेटोलका गोरे हेमरम भन्छन,पहिले जस्तो केहि तयारी गर्न पाएनौ,तर पनि हामी नाँचेर देखाउछौ ।
साउनमा गएको बाढिले घर बगाउदाँ बाजागाँजा पनि बगाएको थियो उनीहरुको । अनि मेलामा लगाउने पोसाक पनि । केहि बाढीले बगाए,केहि निकाल्न पायौ,गोरे भन्छन्,‘बाढिले दुख दिएर बिस्थापित बनाएपनि मेला हेर्न आउनेहरुलाई खल्लो हुन दिनेछैनौ ।’
मेलामा नाँचिने नाचले सन्थाल जातिको जातीय एवं सांस्कृतिक पहिचान जोगाउने जेठा मर्डी सतारले बताए ।
उनले भने –तर सरकार पक्षले हाम्रो परम्परा र संस्कृतिको लागि कुनै सहयोग गरेको छैन् । उनको भनाई छ –‘नृत्यमा लगाउने पोशाकमा समेत एक रुपता ल्याउन सकेका छैनौं । धिमाल,राजवंशी,ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ । तर,सधैं अर्काको घर खेतीमा कृषिजन्य काम गरेर जीविकोपार्जन गर्दै आएका अति लोपोन्मुख अवस्थामा पुगेको सन्थाल जाति पहिचान र संस्कृति जोगाउन एक छाक खाएर बाँचिरहेको बताउँछन् ।
दुर्गापुरीका स्थानीय युवा राजकुमार योन्जनका अनुसार आज उनीहरुले नृत्य देखाउनेछन् । पहिले मेलामै सन्थाल नृत्य गर्ने बिभिन्न टोलीलाई पहिलो दोस्रो छुट्टीयाउने गरिन्थ्यो उनीहरुलाई पुरस्कृत गरिन्थ्यो । तर यसपटक भने राहत स्वरुप उनीहरुलाई मेला बजारमा संकलन गरेर राहतको लागि सहयोग गरिने योन्जनले बताए ।
बाढिबाट उर्लाबारी—८ का १४ घर सन्थाल परिवार बिस्थापित भएका थिए ।
सन्थाल नृत्यको आकर्षण
मेलामा रौनकता थप्न तथा सन्थाल कलासंस्कृती जर्गेना गर्न प्रत्येक मेला बजारमा नृत्य तथा कला प्रहर्शन हुने गर्दछ । सन्थाल जातिहरुले दशैको बेलामा नाँच्दा लगाउने लुगा तथा गहना ऐना जडित रहेको हुन्छ । हातको नाडी र खुट्टामा फलामको बज्ने घन्टि झुन्को लगाई नाच्दा छुट्टै रौनकता छाउने गर्छ ।
सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन् । नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचीरहेका सन्थालहरू आफूलाई बहादुर सावीत गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन् ।
शिरमा मयुरको प्वाख लगाएर मुखमा सिटी फुक्दै सन्थालहरु नाँच्ने गर्दछन् ।
जब दसैंको एकादसी सुरु हुन्छ त्यस दिनदेखि पूर्णिमासम्म भव्यरूपमा सामूहिक तबरले विभिन्न स्थानमा दसँै मेलामा उनीहरूले परम्परागत नृत्य पस्तुत गर्दछन् ।