•  



     

    मोरङ । मोरङको पथरीशनिश्चरे–१० स्थित भूटानी शरणार्थीको तेस्रो देश पुनःस्थापना कार्यक्रमले शरणार्थीका शिविर खाली हुन लागेका छन् । शरणार्थीको पुनःस्थापना संगै २५ वर्षदेखि शिविर रहेको त्यहाँको जंगल क्षेत्र खाली हुँदैछ । शिविर खाली हुँदै जाँदा कहिले शिविर खाली हुन्छ भनेर दाउ हेरेर बस्ने गिरोह सलबलाउन थालेको छ ।
    पथरी बजारबाट १ किलोमिटर पश्चिममा पूर्वपश्चिम महेन्द्र राजमार्गसँग शिविर क्षेत्र जोडिएको छ । त्यसभन्दा दक्षिणमा मात्र बस्ती छ । राजमार्गलाई छोएको व्यापारिक संभावना भएको शिविर डाँडामा विभिन्न व्यक्तिहरुले वनको जग्गामा टहरा निर्माण गरी व्यवसाय सुरु गरेका छन् । पशुपति सामुदायिक वन क्षेत्रमा पर्ने शिविर डाँडा अहिले चौतर्फी अतिक्रमणको चपेटामा परेको छ ।
    केही समय अघि याम्फु समाजको नाममा स्थानीय ज्ञानेन्द्र राईले ३ कठा जग्गा ओगटेका थिए । मन्दिर बनाउने बाहानामा वन क्षेत्रको सरकारी जग्गा ओगटेपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको अतिक्रमण हटाएको थियो । अन्तर धार्मिक सञ्जालका नगर अध्यक्ष समेत रहेका राईले प्रतिव्यक्ति २ हजार रुपैयाँ लिएर सञ्जालको सदस्य बनाई जग्गा दिने आस्वासन दिने गरेको बताइन्छ । उनले तामाङ, किरात राई, धिमाल, विश्वकर्मा, श्रेष्ठ र चौधरी समुदायका व्यक्तिहरुलाई मन्दिर बनाउने जग्गा दिने प्रलोभन देखाई दुई हजार रुपैयाँ लिने गरेका हुन् । रकम लिएर सदस्य बनाएको बारे जानकारी लिन खोज्दा राईसंग सम्पर्क हुन सकेन ।
    यस्तै, संघीय समाजवादी पार्टीका नगर अध्यक्ष पथरीशनिश्चरे–१० मंगलबारेका बालकुमार तामाङले पनि वनको जग्गा अतिक्रमण गरी व्यवसाय सञ्चालन गरेका छन् । तामाङले गुम्बाको आडमा सानो व्यवसाय गर्दै आएका थिए । उनले अहिले आलु, प्याजलगायतका तरकारी पसल सुरु गरेका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहको पूर्व सल्लाहकार समेत रहेका तामाङ आफुले वनको जग्गामा नभई गुम्बाले संरक्षण गरेको क्षेत्रमा व्यवसाय गरेको दावी गरे । ‘म आफु गुम्बाको व्यवस्थापन समिति सदस्य पनि भएकोले यसको संरक्षण र लामा गुरुलाई सहयोग गर्नुपर्ने भएकोले यहाँ बसेको हो’– तामाङले भने ‘वन क्षेत्र अतिक्रमण गर्ने मेरो कुनै उद्देश्य छैन, मेरो भलाई नचाहनेले यस्तो आरोप मात्र लगाएको हो ।’
    तामाङका अनुसार वि.सं. २०५५÷५६ सालमा तत्कालिन गाविसले २ विगा १० कठा जग्गा सिमांकन गरी धार्मिक कार्य गर्न ओम शेर जम्बुलिङ बज्रगुम्बालाई अनुमति दिएको हो । सोही क्षेत्रमा आफु लगायत तीनवटा चिया पसल रहेको उनले जानकारी दिए । उनका अनुसार किरात राई यायोक्खाको माङखिम पटि ७ वटा र सडक किनारमा समेत गरी दर्जनबढी फलफुल, चिया पसल, होटल, सैलुन, मनिट्रान्फरलगायतका व्यवसायिक गुम्ती सञ्चालनमा छन् ।
    वन क्षेत्र अतिक्रमण गरी सञ्चालन भएका गुम्ती हटाउने विषयमा कार्यपालिका बैठकमा छलफल गर्ने तयारी भइरहेको समूहकी सचिव एवम् पथरीशनिश्चरे–१० की वडा महिला सदस्य मैनादेवी फुयलको भनाई छ । आफुहरुले टहरा हटाउन पटक–पटक प्रयास गर्दा पनि अटेर गरेकोले नगरपालिकामा छलफल गर्न लागेको आचार्यले बताइन् ।
    मोरङको पथरीशनिश्चरे–१० स्थित शरणार्थी शिविर करिव अबको एक वर्षमा झापाको दमकस्थित बेलडाँगी शिविरमा गाभिदैछ ।
    सरकारले बृक्षारोपण गरेर संरक्षण गर्छु भनेपनि संरक्षणका लागि चुनौती हुने स्थानीयको भनाई छ । ‘यो जग्गा स्थानीयले नगरपालिका कार्यालयका लागि सरकारसँग माग गरेर संरक्षित पार्न सक्यो भनें मात्र यसको सही उपयोग हुन पाउँछ’– स्थानीय शिक्षक उमेश खड्काले भने ।
    अर्का व्यवसायी देवीप्रसाद रिजाल पनि सो जग्गा बेलैमा स्थानीयले नगरपालिकाका लागि व्यवस्थापन नगरे सट्टाभर्टा, सुकुम्बासी र विभिन्न संघसंस्थाका नाममा चौतर्फी अतिक्रमणको शिकार हुने निश्चित भएको बताउँछन् । ‘शिविर खाली भएपछि वनले बृक्षारोपण गरेर वनको जग्गा हो भनेको भरमा यो जोगिने सम्भावना देखिदैन, त्यो चाँही अतिक्रमणको झनै खतरा हुनसक्छ’– उनले भने ।
    ‘सो क्षेत्रको शिविर खाली भएपछि नगरपालिकाको कार्यालय राख्ने पहलका लागि हामीले पथरी र शनिश्चरेबीच सहमति ग¥यौं’– साविक शनिश्चरेका पूर्व गाविस अध्यक्ष मोहनकुमार न्यौपानेले भने ‘अतिक्रमणको खतरा बढेको हुँनाले बरु नगरपालिकाले निश्चित क्षेत्रमा भौतिक संरचना बनाएर बाँकीमा वृक्षारोपण नै गर्ने हिसावले मन्त्री परिषदले निर्णय गरिदिए सजिलो हुने थियो ।’
    सो क्षेत्रको शिविर आसपासको छेउछाउका जग्गा विभिन्न जातीय संघ संस्थाका नाममा अतिक्रमित भइसकेको छ । त्यसो त हाल शिविरको निकै भित्रसम्मको होली क्षेत्रमा स्थानीयले वर्षैंदेखि धानखेती लगाउँदै जग्गा अतिक्रमण गर्दै आएको देखिन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…