• काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय चुनावको अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ । तर, मतगणनाको प्रारम्भिक संकेत आइसकेको छ । यो प्रारम्भिक परिणामबाट राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु सन्तुष्ट छन् कि छैनन् ? यसबारेमा हामीले राजपा नेता राजेन्द्र महतोसँग संक्षिप्त कुराकानी गरेका छौं ।

    कुराकानीका क्रममा नेता महतोले मधेसमा आफ्नो पार्टी दोस्रो हुने दाबी गरे । तर, स्थानीय चुनाव सैद्धान्तिक रुपमा हुन नसकेको भन्दै उनले आगामी प्रदेश र केन्द्रको चुनावमा राजपाले बढी सफलता पाउने दाबी समेत गरे ।

    प्रदेश २ को चुनावी परिणामलाई कसरी हेर्नुभएको छ ?

    ठीकै छ । जुन परिस्थितिमा चुनाव लडेका छौं, यस्तै रिजल्ट आउँछ ।

    अपेक्षाकृत नै हो कि निराशाजक ?

    केही निराशाजनक छैन । अन्त्यमा रिजन्ल्ट राम्रै आउँछ । हाम्रो दोस्रो पोजिसन आउँछ । अहिलेको अवस्थामा पहिलो पार्टी बन्न त गाह्रो देखिरहेको छु ।

    ६ पार्टी मिलेर राजपा बनेको थियो । मधेसका जनताले ‘मिलेर आउ’ भनेकाले एकता गरेको भन्नुहुन्थ्यो । तर, चुनाव परिणाम त त्यस्तो देखिएन नि ?

    भ्रममा नपर्नुस् कि स्थानीय चुनाव सैद्धान्तिक चुनाव होइन । दाइ एउटामा, भाइ अर्कोमा र बाबु अर्कोबाट लडेको छ । व्यक्तिगत स्वार्थलाई हेरेर मानिसहरु चुनाव लडेका छन् । जो आन्दोलनमा मरीमरी लडेको हो, उ रापजाविरुद्ध अर्को पार्टीबाट लडेको छ । आन्दोलनभर एमालेलाई गाली गर्ने पनि एमालेबाटै चुनाव लडेको छ ।

    आन्दोलनकारीहरु नै एकआपसमा लडेका छन् । यो चुनावलाई आन्दोलनको रुपमा लिइएन, स्वार्थको रुपमा लिइयो । यसमा नीति, सिद्धान्त र आदर्शले धेरै काम गरेन । यो अवस्थामा तपाईले भनेको जस्तो ६ पार्टीको एकता झल्काउने परिणाम आउँदैन ।

    तपाईहरुले पार्टीभित्रका आकांक्षीहरुलाई व्यवस्थापन पनि त गर्न सक्नु भएन…

    हो, पार्टीभित्र यति ठूलो विद्रोह, घात अन्तरघात भयो कि राजपाविरुद्ध राजपा नै लड्यो । ६ पार्टी एक भएपछि धेरै आकांक्षी थिए तर, टिकट त एकजनाले टिकट पाए ।

    यो व्यवस्थापन गर्ने जिम्मेवारी त नेताहरुकै हो नि ?

    स्वार्थ हावी भएपछि म्यानेज नहुने रहेछ । फेरि सबैले त विद्रोह पनि गरेनन् । जो व्यक्तिगत पद र स्वार्थका लागि नै आन्दोलनमा लागेको जस्तो देखियो, त्यस्ता मानिसहरुले पार्टीको निर्णय स्वीकार गर्न सकेनन् र अर्को पार्टीबाट लडे ।
    हाम्रो (जिल्ला) अध्यक्ष एमालेबाट लड्यो । जसले पुरै आन्दोलनमा एमालेको पुत्ला जलायो, उसकै टिकट लिएर लडे सर्लाहीमा । सांसद जंगीलाल राय यादवले अरु पार्टीबाट टिकट दिलाएर लडाए । पूर्वसांसद शिवपुजन राय यादव माओवादीमा गए । स्वार्थमाथि आघात परेपछि उनीहरुले आफूलाई कन्ट्रोल नै गर्न सकेनन् र विद्रोह गरी अर्को पार्टीबाट चुनाव लडे । यसको असर चुनावमा पर्‍यो ।

    त्यसैले यो चुनावलाई त्यसरी मूल्यांकन गर्नुभयो भने ठूलो गल्ती हुन्छ । स्थानीय चुनाव सिद्धान्तका आधारमा १० प्रतिशत पनि भएन । निकै कम ठाउँमा आन्दोलनको सेन्टिमेन्टले काम गरेको छ, जनकपुरमा गरेको छ ।

    तर, प्रदेश र संसदको चुनावमा पनि त यस्तै हुन सक्दैन र ?

    प्रदेश र संसदको चुनावमा आन्दोलनको सेन्टिमेन्टले काम गर्छ । किनभने त्यही संसदमा आएपछि त संविधान संशोधन हुने हो । आन्दोलनकारी शक्तिलाई मत दिएर पठाउनुपरेन ? किनभने त्यही मत देखाएर गलत संविधान बनाए, त्यही मत देखाएर संविधान संशोधन गरिएन, अनि जनताले आफ्नो मत दिनु परेन ? संसदको चुनावमा आन्दोलनको नारा बलियो हुन्छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …