इटहरी । नेपाली काँग्रेसका नगरसभा सदस्यहरूले बजेट पारित गर्न बसेको बैठक बहिष्कार गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ को बजेट पारीत गर्न बसेको नगर सभाको बैठक एकलौटी रूपमा बजेट पारित गर्न खोजिएको भन्दै काँग्रेसले बहिष्कार गरेको हो ।
काँग्रेसले पत्रकार सम्मेलनको आयोजना गरी बजेट बारेको असन्तुष्टि सार्वजनिक गरेको हो ।
गत असार १० मा पेस भएको बजेटका विषयमा कार्यपालिकामा छलफल गर्दा बजेट बढाउने विषयमा सहमति भएको तर बजेट बढेपनि अनियत्रित रूपमा बजेट पेस भएकोले बहिष्कार गरेको काँग्रेस संसदीय दलका नेता मणीराम श्रेष्ठले जानकारी दिए । अघिल्लो पटक १ अर्ब ३७ करोड बराबरको बजेट पेस भए पनि आजको बैठकमा १ अर्ब ५० करोड ८९ लाख ४ हजार बजेट पेस भएको हो ।
बजेटमा समावेश हुनुपर्ने योजना समावेश नभएको र योजनै नभएको ठाउँमा बजेट पारिएको भन्दै यो बजेट अमान्य भएको उनको भनाइछ ।
अनुसूचीमा थप गर्न आफूले राखेका योजना प्रस्तावको कुनै पनि वास्ता नगरिएको श्रेष्ठले बताए । कार्यपालीकाको बैठकमा सहमति भएको विषय बजेटमा समावेश नभएको श्रेष्ठको भनाइ छ ।
मेयर उपमेयरले आफुखुसी बजेट प्रस्तुत गरेका छन् । उनी भन्छन्, ‘वडा नं. २० मा पहिला तोकिएको भन्दा ८ लाख कम बजेट आएको छ । यो बहुमतको आधारमा देखिएको अहंताको पराकाष्ठा हो ।’ आफूले दिएको सूचना लाई पनि बेवास्ता गर्दै मनोमानी ढङ्गले बजेट प्रस्तुत भएको प्रति उनले आपत्ति जनाएका छन् ।
वडास्तरमा आएका योजना नगरमा समावेश गरिएको र सहमतिको उल्लङ्घन गरेको उनले बताए ।
हिजो नगरपालिका हुँदा गाभिएका गाविस माथि उपेक्षा गरिएको वडा नं ३ का वडाध्यक्ष बालकृष्ण विष्टले बताए । यो बजेटलाई लिएर जनता समक्ष जाँदा समस्या हुने भएकोले यो बजेट परिमार्जन नभएसम्म बजेट पारित हुन नदिने काँग्रेसको निर्णय रहेको विष्टको भनाइ छ ।
वडा नं ३ मा याक्थुङ्ग चौकदेखि कृषि भवन हुँदै पुराण चौकसम्म जाने बाटोको लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको तर उक्त स्थानमा बाटो नै नभएकोले हचुवाको भरमा बजेट पेस भएको काँग्रेसको आरोप छ । अरू पनि धरै ठाउँमा हचुवाको भरमा योजना बनाएर बजेट पेस गरिएको श्रेष्ठको भनाइछ ।
बजेटको विरुद्धमा काँग्रेसलगायत तत्कालिन नेकपा माओवादी केन्द्रबाट विजयी वडा नं १० का वडा सदस्य रामनारायण चौधरी पनि बजेटबारे असन्तुष्ट देखीएका छन् । बजेट समानुपातिक रूपमा वितरण नभएको चौधरीले आरोप लगाएका छन् । पार्टी एकीकरण भए पनि अझै सम्म कुनै वास्ता नगरिएको कारण यो बजेट प्रति उनले आपत्ती जनाए ।
त्यस्तै वडा नं १० का वडा सदस्य प्रकाश चौधरीले पनि बजेटले जनताको भावना बुझ्न नसकेको बताएका छन् । ‘कतै करोडौं बजेट छ, कतै ५० मिटर मात्र पिच गर्ने योजना सहितको बजेट भएको कारण बजेट सच्याइनुपर्छ,’ उनले भने ।
यता इटहरीकी उपमेयर भने बजेट पूर्वाग्राही नभएको बताउँछिन् । ‘सबै वडामा नगर र वडा गरेर डेढ करोड हाराहारी योजना परेका छन्,’ उनले भनिन्, ‘एक दुईजनाले किन असन्तुष्टि पोख्नुभयो थाहा छैन, वहाँहरुकै कारणले काँग्रेस वडाध्यक्षज्यूहरु अफ्ठ्यारो लागेर निस्केको भन्नुभयो ।’
उनले प्रदेश र संघीय सरकारबाट थप बजेट आइरहेकोले नगरसभामा प्रस्ताव गरेभन्दा ३ करोड बढी बजेट पास भएको बताइन् ।
- विनय बाह्रकोटी