यो नाङ्गो ढाडमा
अविराम
कालो रात बर्षाइ रहन्छ अभावको कोर्राहरु
निमोठी रहन्छ यो बुढो कान
बजारी रहन्छ
भित्ताहरुमा लात, घुस्सा र डण्डा
बुझ्दैन ऊ दुख्नुको पीडा
न बुझ्न सक्छ आँसुको मूल्य
अन्त्यहीन
चिन्ताको डढेलो सल्किरहन्छ खोपडीमा।
युगौंदेखि बिना उद्घोष
अत्याचारको विरुद्ध
शोषण दमनको विरुद्ध
यी डाडू पन्यूहरु ठटाइरहन्छन् भाँडा
हाई हाई-हाई हाई लगाइरहन्छन् नारा
बजाइ रहन्छन् थपडी
यी भित्ता र डाँडा भाटाहरु
गाइरहन्छन् ढोका झ्यालहरु विद्रोहको गीत
नृत्य गर्छन् उत्साहित मुसाहरु।
कालो रातले लखेटी रह्यो विपनादेखि पर...
हामी भागी रह्यौ सपनाको पछि-पछि
लखेटिदा-लखेटिदै र भाग्दा-भाग्दै
बिपनाहरु छुटी गएका छन् पार्श्वमा
चाहनाको दुधेरो घोप्टिएका छन्
जिजीविषाका ठेकीहरु फुटेका छन्
भाँचिएका छन् नौनी मथ्ने मदानीहरु।
भत्की ढलेको छ मानवताको धरोहर
लुटिएको छ ममतामयी न्यानो काख
च्यातिएको छ प्रेमिल मजेत्रो
बाँकी छ मात्रै वैंशले उन्मत्त कालो रात
जो घोडा चढी रहन्छ
नछुट्याएरै वयोवृद्ध नर-नारी र बाल-बालिका।
आफ्नै मगजको कैदी बनेर
बोकेर एक भारी निशा
बालेर आशाको धिपधिपे दीयो
हिडिरहेका छौं अथक
सुनौलो बिहाँनीको खोजिमा
एकाइशौं शताव्दीका हामी नयाँ दासरू।