काठमाडौँ, साउन ३ गते । विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरी सम्मानित हुनुभएको छ ।
नेपाल व्यापार संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा हिन्दू धर्मावलम्बीहरुको सर्वोच्च पदमा शंकराचार्य बन्नुभएका उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली महिला हिन्दू धर्मको गुरुका रुपमा शंकराचार्यको भूमिकामा पुग्नुभएको भन्दै यसले नेपाल र नेपालीमा गौरवको अनुभूति भएको बताउनुभयो । “४० देशका महिलालाई पछि पार्दै गिरी शंकराचार्य बन्नुभएको छ, यो नेपाल र नेपालीका लागि खुशीको क्षण हो”, उहाँले भन्नुभयो ।
पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले शंकराचार्यको पदवी पाउने विश्वकै पहिलो महिला बन्नुभएकामा गिरीलाई बधाई दिँदै नेपालको हिन्दू जागरण र संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
काँग्रेस नेता गुरुराज घिमिरेले हजारौँ वर्षदेखि चलिआएको शंकराचार्यको उपाधि प्राप्त गरेकामा नेकपाका सांसद मुकुन्द न्यौपानेले विश्वका हिन्दूहरुको प्रतिनिधित्व गर्दै नेपाली महिलाले शंकराचार्यको पद पाएकामा नेपाल र नेपालीको शीर उचाइमा पुगेको बताउनुभयो ।
राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले शंकराचार्यको हजारौँ वर्षको इतिहासमा नेपाली महिलाले विश्वका महिलालाई उछिन्दै उक्त पदवी पाएकामा यसले हिन्दू धर्मको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्व हिन्दू परिषद्का अध्यक्ष अजय सिंहले मानव सभ्यता र सनातन हिन्दू धर्मको इतिहासमा शंकराचार्यको उत्तराधिकारी बनेकामा खुशी व्यक्त गर्नुभयो । “विश्वको हिन्दू धर्मको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ,” उहाँले भन्नुभयो ।
शंकराचार्य गिरीले विश्वका हिन्दू धर्मावलम्बीको माया, प्रेम, सद्भावका कारण आफू शंकराचार्य बनेको बताउँदै विश्वमै हिन्दू धर्मको रक्षाका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपालको सनातन धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको छ, त्यसलाई जोगाउनका लागि म लाग्नेछु”, उहाँले भन्नुभयो ।
नेपाल हिन्दू महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारी, व्यापार संघका अध्यक्ष कुमार कार्की, व्यापार संघका उपाध्यक्ष हरि गौतमलगायतले हिन्दू धर्म र संस्कृतिको विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । शंकराचार्य हुनुअघि गिरीले महामण्डलेश्वर र आचार्य महामण्डलेश्वरको भूमिका निर्वाह गर्नुभएको थियो ।