साम्राज्यवाद
हिजो थियोे,
आज पनि छ
बिस्तारवाद
हिजो थियोे
आज पनि छ
सामन्तवाद
हिजो थियोे
आज पनि थोरै धेरै छ
शोषण दमन अन्याय अत्याचार
हिजो थियो
आज पनि छ
महंगी
हिजो थियो
आज झन् बढी छ
बदलिएको छ त
कामरेडको मन
कामरेडको घर
कामरेडको पोशाक
कामरेडको खानपिन
कामरेडको बसउठ
कामरेडको संस्कार
कामरेडको नैतिकता
कामरेडको आचरण
कामरेडको गन्तव्य ।
दशबर्षे जनयुद्ध
सत्तामा पुग्ने दाउँ थियो
हजारौंको बलिदान
आफन्त र आज्ञापात्रलाई
मालामाल गराउने मुल्य थियो
लाखौं जनता कार्यकर्ताको पसिना
ठुलो महल र महंगो गाडिको लागि थियो।
भड्किला र गुलिया नाराहरु
साम्राज्यबादका चाकरी गर्न थियो।
कामरेड यहि हो परिवर्तन ?
यहि हो बदलिएको प्रस्थिती?
यहि हो सर्वहारा सत्ता ?
यहि हो गाँस बास कपास
शिक्षा स्वास्थ रोजगारको ग्यारेन्टी?
भन कामरेड
प्रस्थिती बदलियो कि तिम्रो जिन्दगी ?
कसरी मानौ कामरेड
प्रतिक्रियावादमा तिम्रो पतनलाई
देशको अग्रगामी परिवर्तन ??