• नेपाल आइडलमा उर्लाबारीका निशान भट्टराईलाई जिताउन उर्लाबारी–४ आइतबारेमा स्थानीय युवाहरुले प्रत्येक हप्ता प्रोजेक्टरबाट नेपाल आइडल देखाउने तथा सामुहिक भोटिङ गरेका थिए । निशान भट्टराई जिताउ अभियानमा अहोरात्र खटेका तीनै युवाहरुले प्रथम नेपाल आइडलको समाप्तिपछि ग्लोबल युवा क्लब गठन गरेका छन् । समाज रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले क्लब गठन भएको हो ।
    प्रेम याख्खा, ग्लोबल युवा क्लब उर्लाबारीका अध्यक्ष हुनुहुन्छ । स्थापनाको छोटो अवधिमा क्लबले यहि असोज ३० गते उर्लाबारीमा नेपाल आइडल बुद्ध लामासहित फष्ट रनर अप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दासलगायतको लाइभ कन्सर्ट गर्न लागेको छ । टुबोर्ग वियरको मूख्य प्रायोजनमा सप्तकोशी बोर्डिङ स्कूलमा हुन लागेको कन्सर्टमा पूर्वी मोरङ तथा पश्चिमी झापाका हजारौं संगीतप्रेमीको उपस्थिति रहने अध्यक्ष याख्खाको दावी छ । उक्त कन्सर्ट तथा क्लबका गतिविधिका बारेमा अध्यक्ष याख्खासँग गरिएको जम्काभेट ः
    कन्सर्टको तयारी कस्तो भइरहेको छ ?
    हामीले यो कार्यक्रमका लागि काठमाडौंको मोन्टाज इन्टरनेशनलसँग सहकार्य गरेका छौं । नेपाल आइडलका ‘टप थ्री’ सहित अन्य कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमको अन्तिम तयारी भइरहेको छ । उर्लाबारी, आइतबारे, बरगाछी, मंगलबारेमा स्वागत गेट निर्माण भइसकेको छ । मोरङ र झापाका शहरका चौक चौकबाट टिकट बिक्री भइरहेको छ । स्टेज निर्माण, साउण्ड सिस्टम, सुरक्षा व्यवस्था लगायतको तयारी अन्तिम चरणमा पुगेको छ ।
    भर्खरै स्थापना भएको क्लबले ठूलो कन्सर्ट गर्न लाग्नुभएको छ, कतिको सहज अनुभव गर्नुभएको छ ?
    काम गर्दै जाँदा विभिन्न कठिनाई आउने गर्छन् । त्यहिमाथि हाम्रो क्लब भर्खरै मात्र स्थापना भएको हो । स्वभाविक रुपमा विभिन्न समस्या छन् तर तिनीहरुलाई समाधान गर्दै कन्सर्ट सम्पन्न गर्न हामी रात दिन नभनी खटेका छौं । कन्सर्टमा कुनै अभाव नभई दर्शकलाई भरपूर मनोरञ्जन दिने लक्ष्यका साथ हामी तयारीमा जुटेका छौं ।  क्लबका साथीहरुको जोश र जाँगरले त्यो सम्भव हुन्छ भन्ने मलाई लागेको छ ।

     



    तयारी अन्तिम चरणमा पुगेको भन्नुभयो, खर्च कसरी व्यवस्थापन गर्नुभएको छ ?
    हो, कुनैपनि कार्यक्रम सम्पन्न गर्न आर्थिक पाटो नै महत्वपूर्ण हुन्छ । हामीले कार्यक्रम सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरेका छौं । हाम्रो आम्दानीको स्रोत भनेको प्रायोजक र टिकट बिक्री नै हो । धेरै कलाकारहरु आउँदै हुनुहुन्छ । उहाँहरुलाई पनि व्यवस्थापन गर्नु छ । निकै चुनौति छ तरपनि हामी पछि हट्ने छैनौं, कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेरै छाड्ने छौं ।
    दर्शक त धेरै आउँछन् होला, सुरक्षाको व्यवस्था कस्तो मिलाउनुभएको छ ?
    चार हजारभन्दा बढी दर्शक कार्यक्रममा सहभागी हुने हाम्रो अनुमान छ । त्यसैले सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेस क्याम्पमा अनुरोध गरेका छौं साथै, सेक्युरिटी सर्भिसबाट पनि माग गरेका छौं । शान्तिपूर्ण रुपमा कार्यक्रम सम्पन्न हुन्छ भन्ने आशा गरौं ।
    नेपाल आइडलमा धेरै भोट गरियो, फेरि तिनैको प्रस्तुति हेर्न टिकट लिनुपर्ने ? भन्ने जनगुनासो पनि छ नि ।
    आम जनसमुदायले के कुरा बुझ्नु पर्यो भने, यो कन्सर्टमा निशान भट्टराईको मात्र प्रस्तुति रहने होइन । यहाँ त नेपाल आइडल बुद्ध लामा, सेकेण्ड रनर अफ प्रताप दास, सागर आले, सन्ध्या जोशीलगायत कलाकारहरुको प्रस्तुति रहनेछ । पूर्वमै पहिलो पटक नौलो तरिकाको कार्यक्रम गर्दै छौं । उक्त कन्सर्टमा कलाकारहरुले ट्रयाकमा होइन, नेपाल आइडलको जस्तो लाइभ कार्यक्रम हुन्छ । ९ जना ‘व्याण्ड मेम्बर’ हरु आउँदै हुनुहुन्छ । खर्च बढी हुन्छ । त्यसैले धेरै हप्तासम्म निशानलाई भोट गर्ने हामी एक दिन फेरि हाम्रो सेलिब्रेटी निशानको प्रस्तुति हेर्न नछुटाऔं ।
    प्रसंग बदलौं, ग्लोबल क्लब स्थापनाको उद्देश्य के हो ? 
    शुद्ध सामाजिक काम गर्ने उद्देश्यका साथ क्लब स्थापना गरेका हौं । जिल्ला प्रशासन कार्यालयमा क्लब दर्ता भइसकेको छ । नेपाल आइडल बनाउन नसकेपनि जसरी निशानलाई जिताउन हामी एकजुट भयौं, त्यसरी नै सामाजिक काममा एकजुट हुने हो । अब, आइतबारेमा रहेका विभिन्न समस्या समाधानमा हामी लाग्ने छौं । जस्तै, आइतबारेमा पार्किङ, जेब्रा क्रसिङ, सार्वजनिक शौचालय, बक्राहा घाट सरसफाईलगायत समस्या समाधानमा सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने योजना रहेको छ । यस्तै, युवाहरुलाई कुलतमा फस्नबाट जोगाई सत्मार्गमा हिडाउन पनि क्लबले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने छ ।
    र, अन्त्यमा … ?
    ग्लोबल क्लबको पहिलो कार्यक्रम रहेकोले असोज ३० गतेको कन्सर्ट सफल पार्नका लागि सहयोग गरिदिनहुन उर्लाबारीवासी तथा पूर्वी मोरङ र पश्चिम झापावासीमा हार्दिक अनुरोध गर्दछौं । 

    प्रस्तुति ः नवराज भट्टराई

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…