• विवेक मिश्र
    बेलवारी, ९ असोज । कार्यालय खुलेको महिनादिन पुग्न बाँकी नै छ । मोरङको उत्तरी भेगका जनतालाई राहत होस् भन्ने उद्देश्यले विराटचोकमा स्थापना भएको करदाता सेवा कार्यालयमा जनगुनासो बढ्न थालेको छ ।

    गत भदौ १८ गते त्यस भेगका व्यवसायीहरुको पहलमा स्थापना भएको कर सेवा कार्यालयमा सेवा सहजीकरण गर्न बसेका काउण्टरहरुबाट ठगिन पुगेका छन् ।

    नेपालमा स्रोत रहेको व्यवसायबाट मात्र एक आर्थिक वर्षमा २० लाखभन्दा कम कारोबार भएको र २ लाख ५० हजारसम्म आय हुने प्रकृतिका व्यवसायिक व्यत्ति तथा फर्मले गाउँपालिकाको हकमा १ हजार ५ सय र नगरपालिकाको हकमा २ हजार ५ सय वार्षिक तिर्नुपर्ने व्यवस्था छ ।

    नयाँ फर्म दर्ताको लागि स्थानीय निकायको सिफारिस र उपयुक्त कागजात भएपछि निःशुल्क दर्ता गर्नुपर्ने व्यवस्था छ । गत आइतवार नयाँ व्यवसायिक फर्म दर्ता गर्न विराटचोक पुगेका बेलवारी–११ लक्ष्मीमार्गका नविन घिमिरेका अनुसार सबै कागजात पूरा हुँदाहुँदै फर्म भर्न पाँच सय थप दस्तुर तिरेको बताए ।

    उनले भने ‘फर्म भर्नका लागि कार्यालय छिर्ने बित्तिकै एक युवती आइन् र फर्म भरेर कम्प्युटर इन्ट्री गरिदिन्छु ५ सय रुपैयाँ लाग्छ भनिन् ।’

    घिमिरेका अनुसार कर कार्यालय रहेको भुई तलामा आएर अर्का व्यक्तिलाई सोध्दा २ सयमा गर्दिन्छु भन्यो तर ‘नेट स्लो’ छ आज हुँदैन भोली आउनु भन्यो र भोलीपल्ट जाँदा त्यहाँ काम नहुने देखियो । उनी गुनासो गर्छन् ‘अन्त्यमा ५ सय तिरेरै काम गर्नुको विकल्प भएन ५ सय तिरेरै काम गरें ।’

    कार्यालयभित्रै सेवाग्राहीको काम गरिदिनुपर्ने व्यवस्था हुँदाहुँदै अर्का एक व्यक्ति कमल राईले पनि नविकरण शुल्क २ हजार ५ सय रुपयाँ सँगसँगै कम्प्युटर इन्ट्रीवापत २ सय तिर्नुपरेको गुनासो गरे ।

    ‘५ सय माग्दै थिए मोलमोलाई गरेर मात्र २ सयमा गरे’ राईले बताए । १५ सय र २५ सय तिर्न आउँदा २ सयदेखि ५ सयसम्म कम्प्युटर इन्ट्रीको थप दस्तुर भन्दै तिर्नुपर्दा सर्वसाधारणमा गुनासो रहेको भेटिन्छ ।

    व्यवसायीहरुको सेवालाई दृष्टिगत गर्दै अब चाँडै नै कम्प्युटर इन्ट्री सहितको सहायता कक्ष स्थापना गर्ने कोशीहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चाँपागाईंले बताए ।

    कार्यालय प्रमुख प्रकाश राईका अनुसार कर्मचारी अभाव र पूरै प्रणाली नआई सकेकोले यस्तो समस्या भएको र अब चाँडै नै यस्तो समस्या हट्ने जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…