• हरिप्रसाद कोइराला
    विराटनगर  । भारत तर्फ पशु चौपायको निकासी ठप्प भएपछि नेपालमा को मुल्य ह्वात्तै घटेको छ । पशुचौपायको आधा भन्दा बढी मुल्य घटेको पशु ब्यापारीले बताएका छन् ।
    खासगरी भारत सरकारले  बिहार र पश्चिम बंगालमा खुल्ला गोबधमा प्रतिबन्ध लगाएपछि गाइ,गोरु,वाछा,बाछीको मुल्य घटेको हो । थारा गाई मात्र होइन,लैना गाई र साना बाछीको समेत मुल्य घटेपछि पशुपालक किसान मारमा परेका छन् । ६० हजार मुल्य पर्ने लैनो गाई ३० हजार मै आउन थालेको छ ,मोरङको कोनेपोखरीका पशु ब्यापारी मानबहादुर पोख्रेलले भन्नुभयो । भारतमा आधिकारीक रुपमा निकासी रोकिएकोले मात्र मुल्य नघटेको पोख्रेलको ठहर छ । उहाँका अनुसार नेपालका पशु चौपाय प्राय भन्सार छलेर भारत तर्फ जाने गरेका छन् । रातको समयमा धानबारीको बाटो निकासी हुने पशुचौपाय यो पटक बाटोको अभावमा जान सकेको छैन । नेपाल भारतको सीमा क्षेत्रमा बाढीले बाटो भत्काएको छ । ब्यापारीहरूले  एक लटमा ५० देखि ७० वटा सम्म गाईवस्तु चोरीको बाटो बाट भारत छिराउँने गरेकामा हाल  त्यो असम्भव रहेको पोख्रेलले बताउनु भयो ।


    पशु ब्यापारी पोख्रेलको भनाई प्रति पशु क्वारेन्टाइन विराटनगरका नासु मोहम्मद मुस्तफा सहमत जनाउनु हुन्छ । उहाँ भन्नुहुन्छ–पशु चौपाय चराउँदै चराउँदै साँझपख भारत छिराउँछन् । मोरङको बेतौना,सुनसरीको जुद्धगञ्जको बाटो भएर जाने पशु चौपाय त्यहाँको बाटो विग्रिएपछि निकासी रोकिएको मुस्तफाले बताउनु भयो । मोरङ,सुनसरी,सप्तरी र सिराहा जिल्ला हेर्ने क्वारेन्टाइन कार्यालयले स्वीकृति दिएर(स्वास्थ्य परीक्षणगरी) एउटा पनि पशु चौपाय निकासी नभएको उहाँको भनाई छ ।
    भारत तर्फ निकासी ठप्प भएपछि नेपालका पशुपालक किसानलाई भने पामू जातका बाछा, गोरु र थारा गाई पाल्ने चुनौति भएको छ । पशु धनी प्रा गौतमले भन्नुभयो – जंगलमा लगेर छोड्न् पर्ने अवस्था आएको छ । गाउँ–गाउँमा पशु खोज्दै हिड्ने ब्यापारीहरू अहिले ब्यवसाय नै परिवर्तन गर्ने अवस्थामा पुगेका छन् । पशु ब्यापारी जब्बरबहादुर यादवले भन्नुभयो–‘भारतमा जथाभावी खुल्ला रुपमा गाई काट्न प्रतिबन्ध छ । बधशाला सञ्चालनको अनुमति पाएका बाहेक अरुले पशु चौपाय काट्न पाउँदैनन । त्यसैले निकासी रोकिएको हो । निकासी रोकिएपछि मुल्य घटेको हो । आधा मुल्य घटेर किने पनि बिक्री गर्न गाह्रो भएकोले किन्नै छोडेको यादवले बताउनु भयो ।
    तर भैंसी राँगोको मुल्य भने आकाशिएको छ । गाई गोरुको मुल्य जुन हिसावले घटेको छ , त्यही अनुपातमा भैंसी र राँगाको मुल्य बढेको अर्का ब्यापारी पर्वत तामाङले बताउनु भयो । राँगा भैंसी काट्न रोकटोक छैन। त्यसैले मुल्य बढेको हो ।
    उता ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार ३ वर्ष यता पशु चौपायको निकासी हरेक वर्ष घट्दो अवस्थामा छ । कार्यालय प्रमुख कृष्ण रेग्मीले भन्नुभयो–आव०७०÷०७१ मा २३ करोड १८ लाख ७५ हजार ४३७ रुपियाँको पशु चौपाय निर्यात भएको थियो । ०७१÷०७२ मा २२ करोड ६० हजार ५५१ रुपियाँको निर्यात भएको थियो । यस्तै ०७२÷०७३ मा २० करोड ६७ लाख ६३ हजार ४९५ रुपियाँको पशु चौपाय निर्यात भएको थियो । गत आव ०७३÷०७४को पुस मसान्त सम्ममा २ करोड ८९ लाख ८४ हजार १०२ रुपियाँको मात्र पशु चौपाय निर्यात भएको छ । कार्यालय प्रमुख रेगीले भन्नुभयो –बाँकी ६ महिनाको तथ्याङ्क तयार हुँदै छ , तर अघिल्लो ६ महिना कै अनुपातमा निर्यात भएपनि ५ करोड भन्दा बढी हुने देखिदैन । ०७२÷०७३ मा २० करोड ६७ लाखको निकासी भएको पशु चौपाय गत आवमा १५ करोड रुपियाँले कमी निकासी भएको छ ।
    अझ आयातको तथ्याङ्क  झनै कहालिलाग्दो छ । ०७३÷०७४को पुस मसान्त सम्ममा ४ करोड ५८ लाख ३५ हजार ३४२ रुपियाँको पशु चौपाय आयात भएको छ । सो अवधिमा खसी बाख्रा मात्र १२ हजार ७७३ थान आयात भएको छ । जसको मुल्य ४ रोड १७ लाख ८३ हजार २९ रुपियाँ रहेको छ ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…