समर चेम्जोङ्ग "आभाष
देशको दुइ ठुला वामपंथी राजनीतिक पार्टीहरु नेकपा एमाले, नेकपा एकता केन्द्र र अर्को एकता केन्द्रबाटै फुटेर गएको नयाँ शक्तिले प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न चुनावमा कार्यगत सहकार्य गर्दै चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने सामुहिक उदघोषले राजनीतिक वृतमा अनपेक्षित तरंग पैदा गरि दिएको छ।
यो वाम एकताको सामुहिक उदघोषले जनमानसमा एक खालको उत्साह र जोश सृजना गरेको छ भने अर्कोतिर वामपंथी इतर राजनीतिक खेमाहरुमा खैलाबैला मच्चाएको अवस्था छ। वामइतर राजनीतिक शक्तिहरुले यो वामपंथी एकताको कल्पनामा पनि सोचेका थिएनन्। सदैव कसरी कम्युनिष्ट शक्तिलाई छिनभिन्न पार्न सकिन्छ भन्नेमा तल्लीन रहेका यी प्रतिक्रियावादी शक्तिहरुलाई ४४० volt को झट्का लाग्नु र आठ हेक्टर स्केलको भूकम्पीय झट्का लाग्नु स्वाभाविक हो।
तीन वाम पार्टीको संयुक्त घोषणाबाट अतालिएका प्रतिक्रियावादी राजनीतिक शक्तिहरु आफ्नो अस्तित्व बचाउको निम्ती वाम एकतालाई counter गर्ने खालको विकल्पको खोजिमा जुटेका छन्। त्यस विकल्पको परिपूर्तिको रुपमा वामइतर शक्तिहरु
नेकाको नेतृत्वमा उपेन्द्र यादवको संघीय समाजवादी फोरम, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, महन्त ठाकुर नेतृत्वको राजपा नेपाल, कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक गरि छ दलको लोकतान्त्रिक गठबन्धन बनेको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन्। तथाकथित प्रजातान्त्रिक समुहबीच कार्यगत एकता गरेर वामपंथी शक्तिलाई धक्का दिन सकिने निष्कर्ष पनि निकालेका छन्। वामपंथी सहकार्य वा एकतापछि यथास्थितिवादी तथा प्रतिक्रियावादी शक्तिहरुको सहकार्य हुनु वा उनीहरु एक जुट हुनु स्वाभाविक प्रक्रिया नै हो। क्रियापछि प्रतिक्रिया हुन्छ नै।
सदैव आपसी झगडा, आरोपप्रत्यारोप, आग्रह-पूर्वाग्रहबाट ग्रसित र फुटेर लगभग छिन्नभिन्नको अवस्थामा रहेका वाम शक्तिहरुमा ढिलैभए पनि आफू र आफू जस्तै दर्शन बिचार र राजनीतिक उधेश्य मिल्ने शक्तिहरु मिलेर जानु पर्छ भन्ने चेत खुल्नु सराहनीय कुरा हो। जनसेवा र राष्ट्रसेवा बाहेक आफ्नो भन्नु केहि नहुने वामपंथी राजनीतिक शक्तिहरु आपसी कलहमा अल्झि रहनुले विगतमा देश र जनताले धेरै दुर्गति बेहोर्नु पर्यो।
आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक रूपमा देशले विकास र निकासको सट्टा सधै राजनीतिक बन्दी बनिरहनु पर्यो। जसको कारण देश र देशका नागरिक कहिल्यै माथि उठ्न सकेनन्। जन साधारणको जीवनमा कहिल्यै सुधार आएन। देशले उन्नतिको मार्ग पकड्न सकेन। जनताको जीवनस्तर सुध्रीन सकेन। देशको मेरुदण्ड मानिने युवाशक्ति खाडी मुलुकतिर पलायन भैरहेको छ। देशमा बेरोजगारी र अभावले गम्भीर रूप लिएर गएको छ। मुलुक वेरोजगार जन्माउने भट्टी बनेको छ। २१ / २२ हजार वैदेशिक ऋण हामी हरेक नेपालीले बोक्नु परेको अवस्था छ। हामीमाथि रहेको यो वैदेशिक ऋणबाट हाम्रो अर्थतन्त्र कुन अवस्थामा पुगेको छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ।
देश वैदेशिक रोजगारमा रहेका कामदारहरुको रेमिट्यांसबाट चलिरहेको अवस्था छ। भ्रष्टचारले चौतर्फी जरा गाडेर बसेको छ भने देशमा वैदेशिक हस्तक्षेपले चरम रूप लिएको छ। यो सबै हुनुको कारण देशको अस्थिर राजनीति हो।
र, अस्थिर राजनीति हुनुको कारण यति सानो मुलुकमा करीब करीब सयको हाराहारीमा राजनीतिक पार्टी र दल हुनु नै हो। दुःख लाग्दो र लाज मर्दो कुरा यति सानो मुलुकले विगत एग्घार बाह्र बर्षदेखी ६०१ सभासद पाली रहेको छ भने वर्तमान सरकारमा ५० माथि जम्बो मन्त्री परिषद पनि थेगी रहेको छ मुलुकले। देश र जनताको लागि यो भन्दा ठुलो दुर्भाग्य अरु केहि हुन सक्दैन।
राजनीतिक आर्थिक रूपाम पूर्णतः रसातलमा पुगेको मुलुकलाई माथि उकास्न र दशकौदेखीको राजनीतिक तरलताको अन्त्य हुन जरूरी छ। देशलाई सही दिशा निर्देश गर्न आवश्यक छ। अक्रमन्यताको घेराबाट बाहिर निकाल्नु अपरिहार्य छ। यसको लागि सही राजनीतिक सूझ-बुझ कर्मवादी राजनीतिक नेता र दिगो राज्य व्यवस्थाको खाँचो छ। तत्काकलको लागि नेपाली राजनीतिमा यो कार्यनीतिक एकता र सहकार्यले केहि हद्दसम्म आशा जगाएको छ जनमानसमा।
जुन नेकपा एमाले, नेकपा एकता केन्द्र र नयाँ शक्तिले तत्परता देखाएका छन्। यो तत्परताले दीर्घ रूप लियोस। र, देशले अहिलेसम्म नपाएको दर्विलो शासन व्यवस्था पावस।
देशको आर्थिक सामाजिक सांस्कृतिक अवस्था कस्तो हुने भन्ने क़ुराको निर्धारण देशको राजनीतिक अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने गर्छ। जुन देशका मुख्य राजनीतिक पार्टी र नेतामा भर पर्छ। नीति निर्माताहरुमा निर्भर गर्छ।
तर दुखको कुरा हाम्रो देशको राजनीतिक पार्टी र नेताहरू आपसी किचलोमै रुमलिरहेका रहेका छन्। आपसी खिचातानीमै आफूलाई वर्वाद गरिरहेका छन्। तर अब यो क्रम भंग हुनु पर्छ किन भने अहिलेको समयले मुलुकलाई क्रम भंगको बाटोतिर धकेली दिएको छ। यो क्रम भंगताको अवस्थालाई नेतृत्व दिएर जाने काम राजनीतिक पार्टी र नेताहरुको काम हो।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा चुनावी तालमेलसँगै पार्टी एकता गर्ने नेकपा एमाले, नेकपा एकता केन्द्र र नयाँ शक्तिको उदघोषले देशको तरल राजनीतिलाई दुइ नदीको रुपमा डोल्याउने काम गरेको छ।
यस उदघोषले देशमा विद्यमान साना राजनीतिक दलहरू आफ्नो राजनीतिक स्वार्थ मिल्ने ठुलो पार्टीसँग चुनावी तालमेल र सहकार्य गर्न बाध्यत्मक परिस्थिति सृजना भएको छ। र, तथाकथित प्रजातन्त्रवादी राजनीतिक दलहरू नेकाको लोकतान्त्रिक गठबन्धनमा केन्द्रिकित भैरहेका छन् भने वामपंथी राजनीतिक दलहरू नेकपा एमाले र नेकपा एकता केन्द्रमा केन्द्रिकित भैरहेका छन्। वर्तमानको यो राजनीतिक घट्नाले निश्चितै रुपमा साना राजीनीतिक दलहरुमा अलिक असहज स्थिति पनि उजागर गरि दिएको छ।
जस्तो कि ठुला राजनीतिक पार्टीसँग सहकार्य र एकता गरेर जाँदा आफ्नो दलको अस्तित्व नरहन सक्छ भविष्यमा भन्ने शंका र डर। तर देश र जनताको लागि राजनीति गर्ने नेता, राजनीतिक पार्टी र दलहरूले निजी स्वार्थभन्दा माथि उठेर अगाडि बढ्न सक्नु पर्छ। यो वर्तमान नेपाली भुरानीतिको माग हो। आवश्यकता हो।
यही आवश्यकतालाई आत्मसात गर्दै खास गरि वामपंथी शक्तिहरु आफ्नो दार्शनिक, राजनीतिक, बैचारिक सांस्कृतिक स्वार्थ मिल्ने राजनीतिक शक्तिहरुसँग भैरहेको चुनावी तालमेल र सहकार्यमा सामेल भएर कार्यनीतिक सहकार्यलाई दिगो रूप दिदै पार्टी एकता गरेर भविष्यमा मात्र एउटा कम्युनिष्ट पार्टी रहने गरि आन्तरिक र बाह्य तयारी गर्न र त्यही कोनबाट छलफल र बहसलाई तीब्र पार्नु आवश्यक छ।
यसो गरिएको खण्डमा नेपाली राजनीतिमा कम्युनिष्ट दर्शनको राजनीतिलाई कुनै पनि दर्शन र बिचारको राजनीतिले हल्लाउन सक्ने छैन किन भने नेपालमा लगभग ८०℅ कम्युनिष्टहरूको बोलबाला छ। यत्रो बहुमतमा रहेका कम्युनिष्ट शक्तिहरु सधै अल्पमतमा रहंदै आएका छन्, किन? कारण प्रष्ट छ।
विगत लामो समयदेखि दर्शन राजनीति, बिचार र स्वार्थ मिलेर पनि पार्टीगत, दलगत ब्यक्तिगत निजी स्वार्थले हमेशा सामुहिकताको घाँटी रेट्ने काम गर्दै आएको छ। सामुहिक स्वार्थलाई विस्थापित गर्ने काम गर्दै आएको छ।
साझा मुद्दालाई तिलाञ्जली दिने काम गर्दै आएको छ। नेताहरुमा पद र कुर्सी मोह अत्याधिक बढेर जानू र नातावद, कृपावादको मोहजालमा फस्नुले नेपाली कम्युनिष्टहरु टुटेर फुटेर रक्षात्मक अवस्थामा पुगेका हुन्। तर अहिलेको यो अवस्थाले फेरि एक पटक आफुभित्र रहेका कमिकमजोरीहरुलाई सुधारेर जाने अवसर दिएको छ।
यो अवसर कम्युनिष्टहरुले गुमाउनु हुँदैन। र, दशकौदेखी गिरेको कम्युनिष्टहरूको राजनीतिक साखलाई माथि उठाउन सक्नु पर्छ।
अहिले बजारमा वामगठबन्धनबारे तात्तो र भव्य चर्चा परिचर्चा भैरहेको छ। सामाजिक सञ्जाल र मीडियाहरुमा सकारात्मक र नकारात्मक दुवै हिसाबले खरो टिक्का टिप्पणी भैरहेका छन्।
राम्रोसँगसँगै नराम्रो पनि हिडी रहेको हुन्छ राम्रोको खुट्टा तान्न र घाँटी अठ्याउन भन्ने कुरा राजनीतिक कर्मीले मात्र होइन देशको सचेत नागरिकले पनि भूल्नु हुन्न। कुशासन, भ्रश्टाचारी, काला बाजारीका हिमायतिहरु जहिले पनि सुशासन र अमन चयनको विरुद्धमा चलखेल गरिरहेका हुन्छन्।
उनीहरुको यो कुराजनीतिक घ्यय हो। त्यही ध्ययको निरन्तरताको रुपमा प्रतिक्रियावादी भर्ति केन्द्रद्वारा परिचालित ति स्वांठ पुच्छरहरु यो बन्दै गरेको राजनीतिक गठबन्धन र सहकार्यलाई कसरी असफल तुल्याउने भन्ने तुजुकमा लागि परेका छन्। त्यसैले वाम सहकार्य, तालमेल, गठबन्धन र एकताको विरुद्ध लाग्नेहरुको विरुद्ध मुलुकका सबै वामपंथी शक्तिहरु एकाकार भएर सशक्त रुपमा जैलाग्न आवश्यक छ। अनि मात्र देश र जनताको सुनौलो सपनाले साकार रूप लिनेछ।