• मोरङ– घरको भित्तामा लगाइएको लिउन वर्षाद्को पानीले गलेर आधा ढलिसकेको छ । घर बाहिर बाँसमा सुकाएको जुट पञ्छाउँदै आँगनमा पुग्दा एक युवक हाफ पेन्ट र गन्जी लगाएर बाहिर निस्किए ।
    उनी थिए –दिनेश हस्ता । मोरङको अमरदह बराल टोल पश्चिममा रहेको उक्त झुपडीको दृश्य हो यो ।
    पाँच जनाको परिवार वस्ने ऐलानी जग्गामा बनेको घरमा छुट्टै कोठा पनि रहेनछ । म डाक्टर पढ्दै गरेका दिनेशको खोजीमा थिएँ । मनमनै सोंचे डाक्टर पढ्ने मान्छेको घर पनि यस्तो हुन्छ ? तर, विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमवीवीएस तेस्रो वर्षमा अध्ययनरत दिनेश हस्ता जन्मे हुर्केको घर यही रहेछ । निकै बेर बस्दा पनि दिनेशका बुबा जेठा हस्तासँग भेट भएन । जेठा हस्ता घर नजिकैको खाडीमा पटुवा धुन गएका रहेछन् । ‘आफ्नो त छैन’ दिनेशले भने ‘अर्कैको पटुवा धुन बुबा खाडी जानु भएको छ ।’ यति भन्दै गर्दा आमा देवीकुमारी एक भारी घाँस बोकेर आइन् ।
    सन्थाल (सतार) समुदायका दिनेशले सुगाहाट स्कुलमा ७ कक्षासम्म पढेका रहेछन् । त्यसपछि उनी स्थानीय अमरसिंह उच्च माविमा भर्ना भए । सोही स्कूलमा उनी व्यवस्थापन विषयमा १२ कक्षा पढ्दै थिए ।


    त्यसैबेला स्थानीय धर्मप्रसाद न्यौपानेसँग भेट भयो । उनले सोधे– डाक्टर पढ्छौं ? धर्मले कल्पनै नगरेको प्रश्न गर्दा नपत्याएर दिनेशले भने ‘कसले पढाउँछ र ? ’ धर्मप्रसादलाई विराटनगर नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले गरिब तर जेहेन्दार विद्यार्थी भेटिए डाक्टर बनाउने बताएका रहेछन् । त्यहीबाट उनको डाक्टर बन्ने बाटो तय भयो।
    ‘त्यतिबेला पैसा खर्च हुने भए हुँदैन भनेको थिएँ’ दिनेशकी आमाले भनिन् ‘कहाँबाट पैसा ल्याउनु अर्काको जग्गा कमाएर खाने मान्छे हामी । पैसा लाग्दैन भनेपछि छोरो विराटनगर पठाएँ ।’
    छोराले अक्षर चिनेपछि ढुक्क भएकी आमा खाडी मुलुकतिर गएर दुई चार पैसा कमाउला भन्ने ठूलो उद्देश्य बोकेकी रहिछन् । डाक्टरको कल्पना गर्ने कुरै भएन ।
    दिनेशको पनि जीवनको खासै कुनै योजना थिएन । स्थानीय विद्यालयमा व्यवस्थापन संकायमा पढाई हुन थालेपछि १२ कक्षा पढेर त्यसपछि कामको खोजीमा विराटनगरतिर जाने तयारीमा थिए । ‘केही काम गर्दै भ्याएँ भने पढौंला भन्ने सोचाइमा थिएँ’ दिनेशले थपे ‘मेरो लागि सुनिल सर भगवान नै भएर आउनु भयो, डाक्टर पढौंला भनेर साेंचेको पनि थिइनँ ।’
    धर्मप्रसादको सम्पर्कबाट डा. सुनिल शर्मासँग भेट भएपछि डाक्टर बन्नका लागि फेरि विज्ञान विषयमा प्लस टु गर्नुपर्ने भयो । दिनेश राजी भए । ‘त्यसपछि मलाई सुनिल सरले नै विराटनगरको कोभास कलेजमा विज्ञान विषयमा भर्ना गरिदिनु भयो । खाने बस्ने, लाउने सम्पूर्ण खर्च डा. सुनिल शर्माले नै बेहोर्नुभयो । अहिलेसम्म एक पैसा घरबाट खर्च गर्नु परेको छैन ।’ दिनेशले भने ‘होस्टलमा बस्छु, पढ्ने किताव र कापी पनि सरले दिनुहुन्छ ।’
    परिवारका जेठा सदस्य दिनेशका एक भाइले पढ्न छाडे । एक भाइ स्नातक पढ्दैछन् । बहिनी पनि स्थानीय स्कूलमा नौ कक्षामा पढ्दै छिन् । यतिवेला कलेज विदा भएका कारण उनी घर गएका हुन् ।
    पछिल्लो समय पूर्वमै अत्याधिक विरामीको चाप हुने विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालक डा. सनिल शर्मासँग सम्पर्क गर्ने कौतुहलता जाग्यो ।
    त्यसपछि डा. सुनिल शर्मासँग फोन सम्पर्कमा कुरा भयो । ‘किन उसको (दिनेश) लागि यति धेरै खर्च गर्नु भएको ?’ डा. शर्माले भने ‘हिजो म पनि दिनेश जस्तै विपन्न मान्छे, आफ्नो जस्तै सम्झिएर ।’
    शर्माले थपे– म पनि मधुमल्लामा नारायण बरालको घरमा जन्मिएको सुकुम्वासीको छोरा हुँ । बुबा लोकनाथ र आमा हुमादेवीले मलाई नपढाउनु भएको होइन । तर, आर्थिक अवस्था कमजोर भएपछि मैले पनि वेलवारीमा नौ महिना रिक्सा कुदाएको छु । कालिकोटका प्रेम शाहीको घरमा बसेर एसएलसी दिएँ । काठमाडौंको टिचिङ हस्पिटलमा हेल्थ असिस्टेन्ट पढ्दा रत्नपार्कमा क्यारामबोर्ड खेलाएर खर्च जुटाएँ । बल्ल नेपाल सरकारको छात्रवृत्ती कोटामा एमवीवीएस गर्ने मौका पाएँ ।’ उनी भन्दै गए ‘अहिले एक हजार तीन सय ६७ जनालाई रोजगारी दिएको छु । दैनिक तीन हजार विरामीको उपचार गराउने हस्पिटल बनाएका छौं । हामी आफैं डाक्टर उत्पादन गर्छाैं । दिनेशलाई सन्थाल (सतार) समुदायकै पहिलो डाक्टर बनाउने सपना बोकेका डा. शर्माले भने ‘झुपडीको मान्छे पनि डाक्टर हुन पाउनु पर्छ, त्यही भएर मैले उसमाथि लगानी गरेको हो ।’
    डाक्टर बन्दै गरेका दिनेशका अनुसार प्लस टुदेखि एमवीवीएस बन्दासम्मको खर्च हिसाब गर्ने हो भने एक करोडको हाराहारीमा पुग्दो रहेछ । तर, उनी यस्ता भाग्यमानी विद्यार्थी हुन्, जसले प्लस टुदेखि एमवीवीएस तेस्रो वर्षसम्म आइपुग्दा न त घरबाटै नै खर्च माग्नु परेको छ, न खान, लाउन र पढ्न नै अभाव छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…