• बैतडी, १ कात्तिक  : दशैँ आयो, खाउँला पिउँला, काँबाट ल्याउँला, चोरी ल्याउँला, धत् पापी म त छुट्टै बसुँला ! यो भनाइ बैतडीसहित सुदूरपश्चिममा भने लागू भएको पाइँदैन ।
    देशका अन्य ठाउँमा जस्तै बैतडीसहित सुदूरपश्चिममा पनि दशैँको चहलपहल बढेको छ तर यहाँ पुस्तौँदेखि सात्विक दशैँ मनाइँदै आएको छ ।
    दशैँमा खानपिन रमाइलो गर्ने चलन रहेको भए पनि सुदूरपश्चिमका जिल्लामा पूजापाठ गर्ने, जाग्राम बस्नेलगायत चलन छ । सुदूरपश्चिममा दशैँका बेला खानपिनभन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ ।

    सुदूरपश्चिम क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ ।

    दशैँका बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैँ मनाउने गरेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । दशैँका बेला बैतडीका प्रत्येक गाउँमा देवीदेवताका मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्र उपवास गरेर पूजा गर्ने चलन रहिआएको छ ।

    बैतडीसहित सुदूरपश्चिमका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा जारी रहेका छन् । धेरैजसो नागरिकले नवरात्रिको नौ दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रहेको छ ।

    सुदूरपश्चिममा दशैँलाई गौरा पर्वसँगै जोडेर हेर्ने गरिएको छ । भदौ महीनामा गौरीका पूजा गरेजस्तै आश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको आचार्य लेखकले बताउनुभयो । उहाँले भन्नुभयो, “मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रका मनाइने चाडपर्वहरु सात्विक हिसाबले मनाउने चलन छ ।”

    दशैँका बेला दिइने पशुबलि पछिल्लो समयमा चलाइएको हुनाले पशुबलि आवश्यक नरहेको उहाँको भनाइ छ । शास्त्रहरुमा गलत कर्मको बलि दिने, घमण्डको बलि दिने, अहङ्कारको बलि दिने कुराहरु उल्लेख गरिएको तर पशु बलि दिनुपर्ने कुरा कतै उल्लेख छैन उहाँले भन्नुभयो, “पाशविक क्रियाकलापहरुलाई बलि दिनुपर्ने तर पशुको बलि पछि चलाएको चलन हो ।”

    दशैँलाई पारिवारिक मिलनको पर्वका रुपमासमेत लिने गरिएको छ । दशैँका बेला मन्दिरमा पूजाआजा गर्नका लागि तराईमा बसाइँ सराइ गरेकाहरु पनि पहाडमा पुगेका स्थानीयवासीले बताएका छन् । दशैँलाई पुस्तौँदेखि सात्विक पर्वका रुपमा मनाइने गरेको महाकाली साहित्य सङ्गमका अध्यक्ष चन्द्रमोहन तिवारीको भनाइसमेत रहेको छ । दशैँका बेला मीठोमसिनो खाने, मासु खाने चलन देशका अन्य ठाउँमा छ तर यहाँका विभिन्न शक्तिपीठमा दशैँको दिन पूजाआजा हुने भएकाले सो दिन श्रद्धालुहरु व्रत बस्ने गर्छन् ।

    सात्विक भोजन भन्नाले शान्ति, संयम, पवित्रता र आनन्द जस्ता गुण विकसितलाई भनिन्छ । साथै परिश्रमपूर्वक आफ्नै धनद्वारा ल्याएका पवित्र खाद्य पदार्थ सात्विक भोजनमा पर्छन् । यस्तै गाईको दूध र गाईको दूधबाट बनेका सबै परिकार घ्यू, गहुँ, चामल, जौ, मुग, हरियो पात भएको साग, घिरौँला, लौका आदि सात्विक भोजनअन्तर्गत पर्छन् ।

    एक हजार एक सय बलि

    दशैँको अवसरमा दुईदिनको अवधिमा बैतडीका विभिन्न शक्तिपीठका एक हजार १०० पशुबलि चढाइएको छ । महानवमी र महाअष्टमीमा पूजाअर्चनासहित उक्त सङ्ख्यामा राँगा र बोकाको बलि दिइएको हो । महानवमीको अवसरमा पाटनस्थित उदयदेव मन्दिरमा आज ३६ राँगा र छ बोकाको बलि दिइएको छ ।

    यस्तै महाअष्टमीको अवसरमा बुधबार देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ३५२ राँगा र ३३५ बोकाको बलि चढाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो । महाअष्टमीको दिन निंगलाशैनी भगवती मन्दिरमा ५० हजार बढी दर्शनार्थीले दर्शन गरेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रणबहादुर बोहराले बताउनुभयो ।

    मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा १३३ राँगा र १६७ बोकाको बलि दिइएको छ । यस्तै पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिरमा १३ राँगा र ५० बोकाको बलि दिइएको छ । यस्तै त्रिपुरा सुन्दरी मन्दिरमा पनि राँगा तथा बोकाको बलि दिइएको छ । यस्तै दशैँको दिन भोलि दोगडाकेदार–१ रिम धुरामा रहेको भूमिराज मन्दिरमा पूजाआजासहित मेला लाग्ने स्थानीयवासी रामसिंह कुँवरले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…