• खोटाङ, ७ कात्तिक

    तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम थालिएको हो ।

    आगामी १८ महीनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभीले उक्त सडक जिम्मा लिएको छ । सडकको विस्तृत सर्भेक्षणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चोकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने सडक कालोपत्रेका लागि प्रारम्भिक चरणको काम तिहारलगत्तै शुरु हुने निर्माण कम्पनीका निर्देशक कल्याण खत्रीले बताउनुभयो । नाली, रिटेनिङ वालसहित छ दशमलव २५ मिटर चौडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे गर्ने गरी काम अघि बढाइएको हो ।

    नगरपालिकासँगको सहकार्यमा पहिलो चरणमा दिक्तेलबाट आहालेसम्मको खण्ड मात्र कालोपत्रे गरिने एकाइले जनाएको छ । सो सडकलाई प्राधिकरणले प्राथमिकताको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो ।

    गत असोज १ गते सम्झौता भएको सडकको कालोपत्रेको काम २०७६ साल चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने प्राधिकरण र निर्माण कम्पनीबीच भएको सम्झौतामा उल्लेख छ । जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रे गर्न लागिएको सबैभन्दा पहिलो हो ।

    दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही मार्ग खोलिए पनि बीचमा जोडिन बाँकी छ । मार्ग खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खुल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने जनाइएको छ ।

    सडक कालोपत्रे भएपछि सबैभन्दा बढी जिल्ला अस्पतालबाट सिफारिश भएका बिरामीलाई खानीडाँडा विमानस्थल पु¥याउन सहज हुनेछ । अहिले हिउँदमा मात्र सडक सञ्चालन हुँदा सिफारिश गरिएका बिरामीलाई स्ट्रेचरमार्फत खानीडाँडा विमानस्थल पु¥याउनुपर्ने बाध्यता रहेको आफन्तले बताएका छन् ।

    सगरमाथा लोकमार्गसँग जोडिने उक्त सडकको रेग्मीटार–फोक्सिङ्टार र रेग्मीटार–महुरे कालोपत्रे भइरहेको छ । फोक्सिङ्टारमा पक्की पुल बनेपछि उक्त सडक तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…