काठमाडौ,२९ कात्तिक । दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो।
नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागले जनाएको छ । तर, ट्रायल पास गरेका करिव ६ लाख सवारी चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन्। यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ।
आफूहरुले हालसम्म ५० हजार भन्दा धेरै लाइसेन्स छापिसकेको मालिका इन्कर्पोरेटले दावी गरेको छ । चालकको व्यक्तिगत विवरणमा केही समस्या आएको कारण पूरा रफ्तारमा लाइसेन्स छपाई हुन नसकेको मालिका इन्कर्पोरेटले जनाएको छ । छापिएको कार्ड छिट्टै विभागलाई जिम्मा लगाउने तयारी रहेको मालिकाले जनाएको छ ।