काठमाडौं । छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू !०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’
मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि सुरु भएको थियो । त्यो सिलसिला करिब ६ महिना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बुढो मान्छेले पनि त्यस्तो गर्छ र ’ भने ।
उनका बाबुका चार श्रीमती थिए । उनी माइलीपट्टिकी जेठी छोरी थिइन् । १३ वर्षकी हुँदा बाबुले नै उनलाई बलात्कार गरे । उनले आमालाई भनिन्, तर आमाले खासै वास्ता गरिनन् ।
मामा प्रहरीमा इन्स्पेक्टर थिए । भान्जीको कुरा सुनेपछि उनले पनि ‘यस्तो कुरा गर्दा बेइज्जत हुन्छ, बरु हामी सम्झाइदिउँला’ भने। तर, बलात्कारको क्रम भने रोकिएन । बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्ने गरेका थिए । नयाँ पत्रिकाबाट ।